एकैपटक सात राजदूत खाली- परराष्ट्र मन्त्रालय र नियोग कमाण्ड गर्ने यी हुन् मुख्य दाबेदार – Nepal Press

एकैपटक सात राजदूत खाली- परराष्ट्र मन्त्रालय र नियोग कमाण्ड गर्ने यी हुन् मुख्य दाबेदार

काठमाडौं । संयुक्त राष्ट्रसंघसहित सात वटा नियोग र दूतावास नेतृत्वविहीन भएका छन् । परराष्ट्र मन्त्रालयका सहसचिवहरूको ४ वर्षे कार्यकाल सकिएपछि नियोगहरू नेतृत्वविहीन भएका हुन् ।

कतिपय दूतावासबाट चारवर्षे कार्यकाल सकेर राजदूत तथा नियोग प्रमुख स्वदेश फर्कने तयारीमा छन् ।

को को फर्किए ?

सात वटा नियोग तथा केही दूतावासका नेतृत्व पद खाली भइसकेको र केहीको खाली हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चारजना राजदूत फर्किसकेका छन् भने बाँकी राजदूत फर्किने क्रममा रहेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय नियोगका प्रमुख अमृतबहादुर राई र संयुक्त राष्ट्रसंघको जेनेभास्थित नियोग प्रमुख मनिप्रसाद भट्टराईको कार्यकाल सकिएको छ ।

थाइल्यान्डका लागि नेपालका राजदूत गणेशप्रसाद ढकाल, कुबेतका लागि नेपालका राजदूत दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि नेपालका राजदूत भृगु ढुङ्गाना र संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल कार्यकाल पूरा गरेर फर्किसकेका छन् ।

फ्रान्सका लागि नेपालका राजदूत दीपक अधिकारी पनि फर्कने तयारीमा छन् ।

के छ नयाँ नियुक्तिको तयारी ?

परराष्ट्र मन्त्रालयले औपचारिकरूपमा राजदूत नियुक्तिको पहल भने थालेको छैन । खाली दूतावासमा राजदूत नियुक्तिको भइरहेको मन्त्री एनपी सउदले बताए ।

२०७५ मा जारी भएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको दफा ३ (च) ले राजदूत पदको ५० प्रतिशत नघट्ने गरी परराष्ट्र सेवाका राजपत्रांकित विशिष्ट (सचिव) वा प्रथम श्रेणी (सहसचिव) का बहालवाला अधिकृतमध्येबाट मन्त्रालयको सिफारिसलाई ध्यानमा राखी मन्त्रिपरिषदले राजदूत नियुक्त गर्ने व्यवस्था गरेको छ।

यो व्यवस्थाअनुसार विदेशस्थित ३३ नेपाली राजदूतावास वा नियोगमध्ये कम्तीमा १७ वटामा परराष्ट्र सेवाका अधिकारीलाई राजदूत बनाउनुपर्ने व्यवस्था छ ।

यी हुन् मुख्य दाबेदार

रिक्त रहेका सात ठाउँमध्ये परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल न्युयोर्क जाने सम्भावना छ । उनी मंसिरमा अवकाश हुने भएकाले अहिले नै नियोग प्रमुख भएर जाने र उनको ठाउँमा सेवा लम्साल सचिव बन्ने सम्भावना छ ।

सचिव पौड्यालले यसैपटक राजदूत बन्ने चाहना राखेमा बढीमा ६ जना परराष्ट्र सेवाका सहसचिवले राजदूत बन्ने अवसर पाउनेछन् । तीमध्ये केही यसअघि पनि राजदूत भइसकेका छन् ।

यसपटक राजदूतको दाबेदारका रूपमा रहेका मन्त्रालयका सिनियर सहसचिवमा सहसचिवमा थापा, सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, धनबहादुर ओली, रामप्रसाद सुवेदी छन् ।

त्यस्तै अर्का दाबेदार खड्क दाहाल गत साता अवकाश भएका छन् । यीबाहेक कौशलकिशोर राय, सुरेन्द्र यादव, रिता धिताल पनि समावेशी कोटामार्फत राजदूतका दाबेदार हुन् ।

यीमध्ये रिता केही समयअघिमात्र उपसचिवबाट सहसचिव बढुवा भएकी हुन् ।

सेवा र अमृत मन्त्रालय कमाण्डमा

राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाले परराष्ट्र सेवाबाट राजदूत नियुक्त हुनेको हकमा मन्त्रालयको सिफारिसलाई प्रमुख आधार बनाउने उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालयले भने ज्येष्ठता अर्थात् ‘फर्स्ट कम फर्स्ट सर्भ’, कार्यक्षमता र सेवाका अधिकारीको अवकाश हुने स्थिति मध्यनजर गर्दै राजदूत सिफारिस गर्ने गरेको छ ।

परराष्ट्र सचिव पौड्यालले पाकिस्तानमा राजदूतको जिम्मेवारी सम्हालेर फर्केको ७ वर्ष बितिसकेको छ । त्यसैले, पौड्यालले चाहेमा परराष्ट्र सेवाबाट उनी निर्विवादरूपमा राजदूत हुन सक्ने अनुमान गरिएको छ ।

न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगका स्थायीप्रतिनिधि अमृत राईको पदावधि सकिइसकेकाले चाहेको खण्डमा पौड्यालले त्यहाँको जिम्मेवारी सम्हाल्नसक्ने सम्भावना छ ।

मन्त्रालयको वरीयतामा सचिव पौड्यालपछि मन्त्रालयको प्रवक्ता एवं संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख सेवा लम्साल रहेकी छन् । तर, पौड्यालले राजदूतको जिम्मेवारी सम्हाल्नासाथ रिक्त हुने परराष्ट्र सचिवको जिम्मेवारी वरीयताका आधारमा लम्सालले पाउने सम्भावना छ । त्यसैले, लम्साल यसपटक राजदूतबन्ने दौडमा लागेकी छैनन् ।

लम्सालपछिको दोसे वरीयतामा अमृत राई मन्त्रालयमा रहनेछन् ।

राजदूतका मुख्य र स्वाभाविक दाबेदार उत्तरपूर्वी एसिया महाशाखा प्रमुख एवं बेल्जियमका लागि पूर्वराजदूत लोकबहादुर थापा रहेका छन् । त्यसपछि क्रमशः सहसचिव सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, धनबहादुर ओली, रामप्रसाद सुवेदी राजदूत सिफारिस हुन सक्नेछन् ।

सहसचिवको दरबन्दी रहेको उपनियोग प्रमुखमा सरुवाको सन्दर्भमा पछिल्लो समय बढुवा भएका सहसचिवलाई पठाउने मन्त्रालयको तयारी छ ।

राजदूत फर्केका दूतावास कार्यवाहक राजदूतको भरमा रहेका मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर