तिनाउ नदीमा बाढीको जोखिम : आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह – Nepal Press

तिनाउ नदीमा बाढीको जोखिम : आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह

रुपन्देही । तिनाउ नदीमा आएको बाढीले जल सतह खतराको तह पार गरेको छ ।

रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तर वर्षा भएकाले पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराउँदै सतर्क रहन आग्रह गरेका छन् । मङ्गलवार बिहान ३ः३० बजे तिनाउले खतराको तह पार गरेको हो ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।

तिनाउ नदीको जल सतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गइसक्न अनुरोध गरेको छ ।

तिनाउ नदीले खतराको तर पार गरेपनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ ।

तिनाउ लगायत रुपन्देहीका अन्य नदीहरूमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

जिल्लास्थित सुरक्षाका तीनै वटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर