क्यानमाथि मन्त्री किराँतीको हस्तक्षेप, अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश जाने विज्ञको चेतावनी – Nepal Press

क्यानमाथि मन्त्री किराँतीको हस्तक्षेप, अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश जाने विज्ञको चेतावनी

मन्त्री कामभन्दा स्टन्टबाजीमा केन्द्रित भएपछि मन्त्रालय र विभागहरु भद्रगोल- राज्यमन्त्रीसँग बोलचालै बन्द, सरुवा माग्दै सचिव

काठमाडौं । केही समय अघि नेपालको अर्थ जगतमा देखिएको एउटा घटना जसले सम्पूर्ण अर्थजगतलाई नै निराशा बनाएको थियो । घटना हो तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको टकराव ।

जसका कारण सम्पुर्ण वित्तीय सन्तुलन नै खल्बलिएको आरोप लागेको थियो । यतिसम्म कि नियामकको स्वायतता माथि नै अर्थमन्त्रीले प्रहार गरेको विश्लेषण भएको थियो ।

अहिले ठ्याक्कै त्यस्तै घटना उडान क्षेत्रमा देखिएको छ । पर्यटन मन्त्री सुदन किराँती र उडान क्षेत्रको नियामक नागरिक उड्यन प्राधिकरणका (क्यान) प्रमुख (महानिर्देशक) प्रदिप अधिकारीबीच टकराव ।

गत सोमबार मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेको पत्र सार्वजनिक गरेपछि किराँती र अधिकारीबीचको टकराव छताछुल्ल भयो ।

एउटा पक्ष स्पष्टिकरण सोध्ने, अर्को पक्ष स्पष्टीकरण दिनुको कुनै अर्थ नभएको भन्दै आफ्नो अडानमा रहने क्रम चलिरहेको छ । अधिकारीले यो विषयमा अहिलेसम्म स्पष्टीकरण दिएका छैनन् । मन्त्रीले सात दिनको समय दिएर गत असार १२ गते स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरण सोधिएको दिनसहित आज स्पष्टीकरण दिने अन्तिम सयम हो । मन्त्रीले सोधेको स्पष्टीकरण फेसबुकबाट सार्वजनिक भएको र आफू संलग्न नभएका पोखरा विमानस्थल सम्बन्धी विषयहरु त्यसमा रहेको भन्दै अधिकारीले स्पष्टीकरण दिन चाहेका छैनन् ।

स्पष्टीकरण दिने म्यादको अन्तिम समयमा स्पष्टीकरण दिन लाग्नु भएको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा क्यानका डिजि अधिकारीले केही लचक भएको संकेत गरेका छन् ।

स्पष्टीकरण सोधिएकै बेला गोप्य स्पष्टीकरण पत्र सार्वजनिक गरेको भन्दै असन्तुष्ट बनेका डिजी अधिकारी अहिले भने केही लचक देखिएका हुन् । अधिकारीले नेपालको उडान क्षेत्रको एकमात्र नियामकको हैसियतले नियामकको रक्षा गर्ने भन्दै घुमाउरो शैलीमा स्पष्टीकरण दिने संकेत गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै डिजि अधिकारीले भने, ‘आकाशको सुरक्षाको जिम्मा लिने आधिकारिक निकाय प्राधिकरण हो । यसकारण पनि नियामकको रक्षा गर्नेतर्फ लाग्छु ।’

केही समय पहिला पर्यटन मन्त्रालयले सिम्रिक एयरलाई काभ्रेमा हेलिपोर्ट बनाउन सैद्धान्तिक स्वीकृति दिएको थियो । यसमा प्राधिकरणले असहमति राख्दै आएको थियो ।

अधिकारीले मन्त्रीको हेलिपोर्ट बनाउने स्वीकृतिलाई खारेज गरिदिने बताउँदै आएका थिए । यही विषयका कारण आफूलाई तारो बनाइएको गुनासो अधिकारीको छ । निजी हेलिपोर्ट बनाउन दिनेमा नेपाली सेनाले समेत असहमति जनाएको बताइन्छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश जाँदैन ः हवाइ विज्ञ

हवाइ विज्ञ राजकुमार क्षेत्री क्यानको डिजी मन्त्रिपरिषद्को निर्णयले नियुक्त हुने भएकाले ऊ मन्त्रालयप्रति जिम्मेवार हुनुपर्ने बताउँछन् । यद्यपि मन्त्री किरातीको स्पष्टिकरण सोध्ने शैली भने ठिक नभएको उनको बुझाइ छ ।

क्षेत्री भन्छन्, ‘गोप्य रुपमा सोध्नुपर्ने स्पष्टिकरण सामाजिक सञ्जालमार्फत छरपष्ट पार्दा अर्नराष्ट्रियस्तरमै राम्रो सन्देश जादैन । यो भनेको एकदम संवेदनशील विषय हो ।’

यता अर्का उडान विज्ञ रतीशलाल सुमन पहिला पनि मन्त्री र डिजीबीच यस्तो खालको टसल हुने भएपनि भित्रै समाधान हुने गरेको बताउँछन् ।

यद्यपी, यसपटक भने बाहिरै छताछुल्ल हुनुले राम्रो संकेत नगरेको उनको तर्क छ ।

सुमन भन्छन्, ‘मन्त्री र डिजी भनेको एउटै घरका हुन् । घरझगडाले तेस्रो व्यक्तिले फाइदा लिन सक्ने देखिन्छ ।’

अन्र्तराष्ट्रिय स्तरमा यसको मापन कसरीहुन्छ भन्ने हेर्नै बाँकी रहेको उनले बताए ।

के थियो स्पष्टीकरणमा ?

मन्त्री किराँतीले सात दिनको समय दिँदै अधिकारीमाथि उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाही गरेको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्न नसकी कार्यक्षमता कमजोर देखिएको, २०७९÷८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यस नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको थियो ।

अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घटना भइ धनजनको क्षति भई गम्भीर प्रश्न उठिरहँदा उड्डयन सुरक्षामा प्रभावकारी कार्ययोजना ल्याउन नसकेको पनि अधिकारीमाथि आरोप छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिनेडाँडाको उचाई बढी काटेको विषयमा मन्त्री किराँतीले स्पष्टीकरण सोधेका थिए ।

विज्ञहरुले उनको स्पष्टीकरणमा केही तथ्य भएपनि अधिकांश विषय तिथ्य बिनै सोधेको बताएका छन् । मन्त्री किराँतीको यस कदमले महानिर्देशक अधिकारी र मन्त्री पनि कमजोर बन्ने र अन्र्तराष्ट्रिय स्तरमा नराम्रो सन्देश जाने विज्ञहरुको तर्क छ ।

मन्त्रीको ध्यान स्टन्टमा, राज्यमन्त्री र सचिव नै बेरोजगार

डिजी अधिकारी निर्णय प्रक्रियामा संलग्नै नरहेका बेलाका विषय समेत स्पष्टिकरणमा उठाएर मन्त्रीले पुर्वाग्रह साँधेको विज्ञहरुको दावी छ । त्यसो त मन्त्री किराती कामको परिणाममा भन्दा चर्चा आउने विषयम केन्द्रित रहदा मन्त्रालयको कार्य प्रणाली नै लथालिंग भएको आरोप छ ।

चर्चामा आउन जे पनि स्टन्टबाजी गर्ने र नीति विधि र पद्धतिबाहिरका हावादारी योजना सुनाउदै हिड्ने गर्नाले मन्त्रालयको काम भने अवरुद्ध रहेको उच्च अधिकारीहरुले बताएका छन् ।

मन्त्री किराँती र राज्यमन्त्री सुशीला श्रीपाली एकै पार्टीका भएर पनि दूई महिनादेखि बोलचाल समेत छैन । मन्त्रीविरुद्ध राज्यमन्त्रीले प्रधानमन्त्री र पार्टी नेतृत्वसमक्ष समेत गुनासो गरेकी छन् । त्यस्तै सचिव सुरेश अधिकारी पनि सरुवा माग्दै हिडेको चर्चा मन्त्रालयमा छ ।

मन्त्री किराँती मन्त्रालय अन्तर्गत प्रतिष्ठानका जग्गा जमिन कति छ भनेर सोधखोज गर्ने तर मन्त्रालयका मुख्य निकायमार्फत परिणाममुखी काममा केन्द्रित नहुने प्रवृतिबाट आजित भएका उच्च अधिकारीहरु नै बेरोजगारजस्तो बनेका छन ।

 

 

 


प्रतिक्रिया

2 thoughts on “क्यानमाथि मन्त्री किराँतीको हस्तक्षेप, अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश जाने विज्ञको चेतावनी

  1. किरातीले हेलिप्याड बनाउनेसँग पैसा खाएका होलान । महानिर्देशकले नमानेमा पैसा फिर्ता दिनुपर्छ । यस्तो किन गर्नु ? बरू त्यो महानिर्देशकलाई नै हटाएर छापे राख्न पाए त जति खाए पनि भयो नि ।

  2. मन्त्रीले विवाद सृजना गर्ने भन्दा सृजना भएको विवादलाई हल गर्न सहजिकरण गर्नु पर्नेमा मन्त्री आफै काम भन्दापनि स्टन्टबाजमा रमाउनु पक्कै पनि हवाइ तथा उड्डयन क्षेत्रका लागि सुखद होइन। अतः विभागिय मन्त्री चयन गर्दा विषयवस्तुमा केही जानकार छनोट गर्नु पर्छ । विभाग शाखा प्रमुखहरु भनेका मन्त्रीका अंगहरु हुन् अंगहरुलाई चलायमान बनाउने कि बाँधेर राख्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर