अदालतका कर्मचारीलाई बार अध्यक्षको चुनौती- अब हेर्छौं, कसले बचाउँदो रहेछ ? – Nepal Press

अदालतका कर्मचारीलाई बार अध्यक्षको चुनौती- अब हेर्छौं, कसले बचाउँदो रहेछ ?

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतमा घुस खाने कर्मचारीलाई अब कसैले बचाउन नसक्ने दाबी गरेका छन् ।

उनले भष्ट्रचारमा लिप्तहरु बार देख्नेबित्तिकै डराउनुपर्ने अवस्था बन्ने बताएका छन् । ललितपुर जिल्ला अदालत परिसरमा आयोजित विरोध सभामा बोल्दै बार अध्यक्ष घिमिरेले हरेक बार इकाइमा भिजेलेन्स ग्रुप खडा गरिने बताए ।

‘त्यो ग्रुपले वाच गर्ने छ । तपाईं जोगिएको छु नभन्नु होला, कतिबेर हाम्रो क्यामराले तपाईलाई पक्रि सक्छ । भष्ट्रचारीलाई कसले बचाउँदो रहेछ, हामी पनि हेर्छौँ’, उनले भने ।

उनले अब कुनैपनि नाममा कर्मचारीलाई पैसा नदिन र पैसा मागे खबर गर्न कानुन व्यवशायीलाई आग्रह गरेका छन् । ‘उहाँहरुलाई तलबले मात्र नपुगे हामीसँग आउनुस्, हामी दिन्छौँ’, उनले भने ।

बार अध्यक्ष घिमिरेले सक्षम व्यक्तिलाई न्यायाधीश नियुक्त नगरे न्याय परिषद्विरुद्ध पनि आन्दोलन गरिने बताए ।

‘अदालतमा न्यायधिशको बढुवा हुने होइन, नियुक्त हुने हो । सक्षम व्यक्तीलाई न्यायधिश नियुक्त गरिनुपर्छ’, कानुन व्यवसायीलाई न्यायाधीश बन्न दिनु हुन्न भन्ने पर्चा भेटिएको भन्दै उनले भने । कानून व्यवसायीले वार्षिक एक अर्बभन्दा बढी कर तिरिरहेको दाबी गर्दै कर्मचारीलाई कानून व्यवसायीलाई करको दायरामा ल्याउनुपर्छ भन्ने अधिकार नभएको उनले बताए ।

 


प्रतिक्रिया

One thought on “अदालतका कर्मचारीलाई बार अध्यक्षको चुनौती- अब हेर्छौं, कसले बचाउँदो रहेछ ?

  1. भ्रष्टाचारीका संरक्षक र कानूनको पालना नगर्ने सबैभन्दा ठूलो झुण्ड देशमा छ भने त्यो यी कालाकोटे हुन् । पैसा र पदको लागि न्याय बेच्ने यिनै हुन् । न्यायाधिशलाई समेत घुस ख्वाएर आफ्नो अनुकूल फेैसला गराउने नत्र पेशी सार्न लगाउने वा हेर्न नभ्याइने बनाउने यिनै गिरोहहरू हुन् । यदि कसैले सबैभन्दा बढी कानूनको धज्जी उडाउँछ भने त्यो वकिल हो त्यो पनि बार को ।
    कर्मचारीले घुस मागेछ भने त्यसको उपचार कानूनी तवरबाट गर्नु पर्ने होइन वकिलले । भोलिदेखि आम जनताले वकिललाई कुट्ने दिन नआवस् । दुबै बादी र प्रतिवादीबाट एउटै वकिलले मुद्दा लिएर खान सम्म पछि पर्दैनौ तिमीहरू । नक्कली भुटानी शरणार्थी काण्डमा के का लागि लडिरहेका छन्? भोली न्यायाधिश बनाइदिउँला भनेर नेताको आश्वासनमा कि करोडौँको लोभमा । हुन त सबैलाई एकै दृष्टिकोणले हेर्न नहुने हो तर अधिकांश वकिलहरू चोर मात्र होइन डाका नै हुन् । न राज्यलाई कर तिर्छन् न त लुट्नै छोड्छन् ।
    यसको अर्थ कर्मचारीले घुस खान पाउनुपर्छ भनेको नलगाउनुहोला । तर उनीहरूलाई वकिलले कुटेर घुस खान बन्द गर्ने होइन यदि घुस मागेको भए दिन्न भन्ने, कार्यालय प्रमुखलाई भन्ने, कारवाही गर्ने अख्तियारवाला व्यक्ति वा निकायलाई भन्ने हो हातपात होइन चोर वकिलहरू!

Leave a Reply

Your email address will not be published. Required fields are marked *