डा. सिके राउतले नयाँ इन्चार्ज तोकेपछि रुपन्देहीमा असन्तुष्टि – Nepal Press

डा. सिके राउतले नयाँ इन्चार्ज तोकेपछि रुपन्देहीमा असन्तुष्टि

रुपन्देही । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रुपन्देहीमा नयाँ इन्चार्ज तोकेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

असार ५ गते राउतले जनमत पार्टी रुपन्देहीका जिल्ला इञ्चार्ज अर्जुनप्रसाद जैसवाललाई जिम्मेवारी तोकेपछि उनले शनिबार पदभार ग्रहण गरेका छन् । तर जिल्लामा पहिलेदेखि राउतलाई मान्दै आएका केही नेताहरुले भने असन्तुष्टि जनाएका छन् ।

जैसवाल २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ को २ बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका थिए । संसदीय चुनावअघि जसपाबाट जनमतमा प्रवेश गरेका थिए उनी ।

पदभार ग्रहणमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजेन्द्र गुप्ता, पार्टी निकट जनजाति संघका केन्द्रीय सदस्य कैलाश गुरुङ, इञ्जिनियर जनमत संघका केन्द्रीय सदस्य प्रमोद राउत, पार्टीको रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीलगायत थिए ।

सो पार्टीका नेता रामदेव यादव तथा रामअवध यादवले रुपन्देहीमा पार्टी बनाउन, स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा खटिएका नेतालाई बिर्सेर कसरी नेतृत्व चयन गरियो भनेर प्रश्न सामाजिक सन्जालमा नै उठाएका छन् ।

उनीहरुले पार्टीलाई बनाउने बेलामा खटिएका मान्छेलाई छाडेर अहिले अरुलाई जिम्मेवारी तोकिएकोमा असन्तुष्ट व्यक्त गर्दै यसरी पार्टी बलियो नहुने बताए ।

तर सो पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गुप्ताले पार्टी केन्द्रले गरेको निर्णय आफूले कार्यान्वयन गरेको बताउँदै जिम्मेवारी सबैलाई नपुग्ने भएकाले केही असन्तुष्टि हुनु स्वभाविक भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर