दीपेन्द्रले गरे नेपालकाे उद्दार, यूएईविरूद्ध कठिन जीत – Nepal Press

दीपेन्द्रले गरे नेपालकाे उद्दार, यूएईविरूद्ध कठिन जीत

काठमाडौं । नेपालले विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भएको प्ले अफ सेमिफाइनलमा नेपालले यूएईलाई हराएको छ ।

नेपालले अब सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । यूएईले दिएको एक सय ८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७९ रन बनाए ।

कुशल भुर्तेलले ३५ रन जोडे। ६३ रन जोडदा ६ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रले शानदार प्रदर्शन गरेका हुन् । उनले सातौँ विकेटका लागि गुल्सन झासँग ४३ र आठौँ विकेटका लागि सन्दीप लामिछानेसँग अविजित ७९ रनको साझेदारी गरेका थिए। गुल्सनले १२ र सन्दीपले २३ रन बनाए ।

त्यसअघि ज्ञानेन्द्र मल्ल १३ र कप्तान रोहित पौडेलले ४ रन मात्र जोड्न सकेका थए भने विकेटकिपर अर्जुन साउद, भीम सार्की र आरिफ शेख समान १ रनमा आउट भएका थिए ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन जोडेको थियो । सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए । प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । सन्दीपले १० ओभरमा केवल २३ रनमात्र खर्चिए ।

उनले ३ मेडन राखेका थिए । करणले ८.५ ओभरमा ३६ रन खर्चिएका थिए । यूएईका लागि कप्तान भित्र्या अरविन्दले सर्वाधिक ४४ रन जोडे । रोहन मुस्तफाले ३५, बासिल हमिदले २९ र विकेटकिपर आर्यांस शर्माले २८ रन बनाए ।

रन नजोड्दै पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेको थियो । ९७ रनमा ४ विकेट गुमाएको अवस्थामा रोहन मुस्तफा र बासिल हमिदबीच पाँचौं विकेटका लागि ५८ रनको साझेदारी भएको थियो । यूएईले २६ रनमा अन्तिम ६ विकेट गुमाएको थियो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईलाई लगातार पाचौँपटक हराएको हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *