नेपाल बारले भन्यो- ललितपुर अदालतकी नासु प्रेमिकाले अधिवक्ता लामिछानेसँग घुस मागेकी थिइन् – Nepal Press

नेपाल बारले भन्यो- ललितपुर अदालतकी नासु प्रेमिकाले अधिवक्ता लामिछानेसँग घुस मागेकी थिइन्

काठमाडौं । नेपाल बार एसोसियसनले ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङले आदेशको फाइल हेर्न घुस मागेका कारण अधिवक्ता अमिर लामिछानेले इन्कार गर्दा विवाद भएको दाबी गरेको छ ।

तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई तत्काल छाड्न माग गर्दै नेपाल बारले जारी गरेको विज्ञप्तिमा नासु तामाङले घुस मागेको उल्लेख छ ।

‘ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङले मुद्दामा भएको आदेश हेर्नलाई खर्च (घुस) मागेको विषयमा अधिवक्ता अमिर लामिछानेले इन्कारी गरेको विषयलाई अतिरञ्जितपूर्ण ढंगले घटनाको वास्तविकता र यथार्थ विवरणलाई बङ्ग्याई उल्टै अधिवक्ता लामिछानेलाई एकतर्फी दोषी देखाउने अभिप्रायले गरिएको घटना विषयप्रति नेपाल बार एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको छ’, नेपाल बारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बारले लामिछानेलाई तत्कालै रिहा नगरे सोमबारदेखि देशभरका इजलास बन्द गर्ने चेतावनी दिएको थियो । लामिछानेलाई ललितपुर जिल्ला प्रशासनले आइतबार नै साधारण तारेखमा छाड्ने आदेश गरेको छ ।

यसअघि प्रहरीले चौतर्फी दबाबपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । ललितपुर बारले प्रेमिकाले घुस मागेको भन्दै जिल्ला प्रहरीमा सोमबार बिहान जाहेरी दिएको थियो ।

 


प्रतिक्रिया

One thought on “नेपाल बारले भन्यो- ललितपुर अदालतकी नासु प्रेमिकाले अधिवक्ता लामिछानेसँग घुस मागेकी थिइन्

  1. यो सम्मको नाङ्गो नभएको भए दुबै पक्षले जित्थे अब हार्नु सिवाय बाकी के राख्यौं बौद्धिक भन्ने हरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *