मिटरव्याजी प्रकरणमा ठूला नेता र प्रहरी उच्च अधिकारीको संलग्नता छ : प्रमुख सचेतक गिरी (भिडिओ) – Nepal Press

मिटरव्याजी प्रकरणमा ठूला नेता र प्रहरी उच्च अधिकारीको संलग्नता छ : प्रमुख सचेतक गिरी (भिडिओ)

पीडितलाई न्याय दिन नभई झुक्याउन विधेयक पेश भयो

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरव्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठूला नेताहरू भएको बताए । मिटरव्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने गिरीको भनाइ थियो ।

प्रमुख सचेतक गिरीले भने, ‘मिटरव्याजीको प्रकरण धेरै गम्भीर विषय हो । यसमा राष्ट्रसेवक, उच्च पदस्थ कर्मचारी संलग्न छन् । राजनीतिक दलका ठूला नेताहरूको संरक्षणमा यी काम भएका छन् । प्रहरीका उच्च अधिकारीहरू संलग्न छन् । र सामन्तवादको अवशेषको रूपमा अहिले पनि छ । त्यसकारण यसका विरुद्धमा राम्रो नीति, ऐन बन्नुपर्छ । यस्ता पीडितहरूलाई न्याय दिन र पीडकहरूलाई कारबाही गर्ने वातावरण बन्नुपर्छ भन्ने पक्षमा छौं ।’

उनले सरकार पीडितलाई न्याय दिन नभई झुक्याउन विधेयक सदनमा पेश गरेजस्तो गरेको टिप्पणी गरे ।

‘पीडितहरूप्रति न्याय दिने इमान्दारिता देखिएको छैन भन्ने कुरा यसले पुष्टि गर्छ । राष्ट्रियसभाले फास्ट ट्रयाकमा पास गर्‍यो । अहिले प्रतिनिधिसभामा आएको छ । सांसदको हातमा आजसम्म पनि यो विधेयक छैन । हामीले वैचारिक, सैद्धान्तिक छलफल गर्दैछौं । चाहिने डकुमेन्ट हामीसँग छैन तर पनि छलफलमा बस्नुपर्ने अवस्था छ ’, गिरीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *