कोशी प्रदेश सरकार गठनको प्रक्रिया अझै शुरु भएन, प्रदेश प्रमुख कानुनी सल्लाह लिँदै – Nepal Press

कोशी प्रदेश सरकार गठनको प्रक्रिया अझै शुरु भएन, प्रदेश प्रमुख कानुनी सल्लाह लिँदै

विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अझै शुरु हुन सकेको छैन । सरकार गठनका लागि स्पष्ट बहुमत नभएपछि प्रदेश प्रमुख परशुराम खापुंग आफै सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को कुन उपधाराद्वारा आव्हान गर्ने भन्ने अलमलमा छन् ।

सरकार गठनका विषयमा कानुनी परामर्श गरिरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ‘कोशी प्रदेश सभामा भएको संसदहरुको अंक गणितका कारण संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्ने भन्ने विषयमा प्रदेश प्रमुखज्यू कानूनी परामर्शमा हुनुहुन्छ । प्रदेश कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले भने, ‘कानुनी सल्लाह पछि सरकार गठनका लागि आइतबार आव्हान हुन्छ होला ।’

कोशी प्रदेशमका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव शुक्रबारको प्रदेशसभाबाट फेल भएको थियो । संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले बताउँदै आएको छ ।

विपक्षी गठबन्धन दलहरुले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको बताइरहेका छन् । यस विषयमा शुक्रबार दुवैपक्षले छुट्टा–छुट्टै समयमा प्रदेश प्रमुख खापुङसँग छलफल गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङसँग दलहरू परामर्शमा रहेको कारण आइतबार मात्रै सरकार गठनको आव्हान हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर