कोशी सरकार ढलेपछि निर्मला भन्छिन्- एमालेले प्रदेशको नाम फेर्न नमानेकाले विश्वासको मत दिइनँ – Nepal Press
नेपाल टक

कोशी सरकार ढलेपछि निर्मला भन्छिन्- एमालेले प्रदेशको नाम फेर्न नमानेकाले विश्वासको मत दिइनँ

‘किराँत लिम्बूवान नाम राख्ने भएमात्रै नयाँ सरकारलाई समर्थन गर्छु, नत्र मध्यावधि चुनावमा जानुपर्छ’

काठमाडौं । बहुमतका लागि एक भोट नपुगेर कोशीको प्रदेश सरकार आज ढलेको छ । एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्दा ४६ जनाले उनको पक्षमा र ४३ जनाले विपक्षमा मतदान गरेका थिए । बहुमतका लागि ४७ मत चाहिन्छ ।

आजको मतदानमा ३ जना प्रदेश सांसदले भाग लिएनन् । कांग्रेस र माओवादीका दुई सांसद अचानक बिरामी भएको भन्दै मतदानमा अनुपस्थित भएका थिए । तर, जसपाकी एकमात्र सांसद निर्मला लिम्बूले भोट नहाल्ने भने पहिल्यै तय थियो । हिजो नै जसपाले सरकारको पक्ष वा विपक्षमा मत नहाली तटस्थ बस्ने निर्णय लिएको थियो ।

यसअघि हिक्मत कार्कीको सरकारमा मन्त्रीसमेत रहेकी लिम्बू प्रदेशको नामकरणलाई लिएर चरम असन्तुष्ट छिन् । उनले कोशी नामकरणपछि संसदमा रुँदै विरोध जनाएकी थिइन् । अहिलेको उनको तटस्थता पनि नामकरणसँगै जोडिएको छ । कोशी नाम फेरेर ‘किराँत-लिम्बूवान’ राख्नुपर्ने वकालत गर्दै आएकी लिम्बू जुन पक्षले यो मागको सम्बोधन गर्छ, उसैलाई समर्थन गर्ने बताउँछिन् ।

एमाले सरकार ढलेपछि अर्को सरकार निर्माणका लागि पनि लिम्बूको मत अत्यावश्यक पर्नसक्छ । तर, उनी नामकरणको माग सम्बोधन नगरे अर्को गठबन्धनलाई पनि समर्थन नगर्ने बताउँछिन् । तर, यो प्रदेशमा एमालेले नचाहेसम्म कोशी नाम फेरिने स्थिति छैन ।

सांसद निर्मला लिम्बूसँग यसै विषयको सेरोफेरोमा गरिएको कुराकानीः

– आज भएको मतदानमा तटस्थ बस्ने तपाईंको व्यक्तिगत निर्णय हो कि पार्टीले नै निर्देशन दिएको थियो ?

मेरो व्यक्तिगत पनि हो, पार्टीको पनि हो भनौं न । व्यक्तिगतपछि पार्टीको हो भनेर बुझ्दा ठीक होला ।

– के कारणले यो विकल्प रोज्नुभयो ?

मैले सुरुदेखि नै उठाउँदै आएको मुद्दा पहिचानसहितको नामकरण हो । यो विषयमा सदनमा पनि पटक पटक बोलेको छु । ऐतिहासिक पृष्ठभूमिको आधारमा र सभ्यताको आधारमा किराँत लिम्बूवान नाम राख्नुपर्छ भन्ने मेरो अडान छ । अहिले १ नम्बर प्रदेशलाई कोशी नामकरण गर्दा हिंसा भड्किएको छ र जनधनको क्षतिसमेत भएको छ । अब मलाई यो सरकार वा त्यो सरकासँगको सरोकार भएन । जसले पहिचानसहितको नामकरण गरेर जान सहमति जनाउँछ, उसैलाई मेरो समर्थन हुन्छ । होइन भने प्रदेश मध्यावधि चुनावमा जाने हो भने पनि स्वीकार्य छ ।

– अहिलेको गणित हेर्दा तपाईंसँग भएको एक सीट नयाँ सरकार बनाउनलाई पनि महत्वपूर्ण देखिन्छ । केन्द्रको सत्तारुढ गठबन्धनमा पनि तपाईंहरुको पार्टी छ । अब कांग्रेस-माओवादीसहितको सरकार बनाउन सहयोग गर्नुहुन्छ कि गर्नुहुन्न ?

यदि अर्को गठबन्धनले पहिचानलाई सम्बोधन गर्छ भने हाम्रो पार्टीले समर्थन गर्छ र सरकारमा सहभागी हुन्छ ।

ऐतिहासिक पृष्ठभूमिको आधारमा र सभ्यताको आधारमा किराँत लिम्बूवान नाम राख्नुपर्छ भन्ने मेरो अडान छ । अहिले १ नम्बर प्रदेशलाई कोशी नामकरण गर्दा हिंसा भड्किएको छ र जनधनको क्षतिसमेत भएको छ । अब मलाई यो सरकार वा त्यो सरकासँगको सरोकार भएन ।

– तपाईंले यो सरकारको विपक्षमा चाहिँ किन मत हाल्नुभएन त ?

मैले विपक्षमा मत दिइसकेपछि अर्को सरकारलाई बहुमत पुग्ने स्थिति हुन्थ्यो । तर, पहिचानसहितको नामकरणबारे प्रस्ट नबोलिकन म कसैलाई समर्थन गर्न सक्दिनँ ।

– तर, एमालेले नचाहेसम्म नामकरण फेरिने अवस्था छैन नि प्रदेशमा ?

एमाले वा एबीसीडी जुनसुकै पार्टीले पनि पहिचानको नाममा अवरोध गर्छन् भने यो प्रदेश मध्यावधि चुनावमा जान्छ । जानुपर्ने हुन्छ । हिंसात्मक प्रदेश बनाएर भोलि जातीय द्वन्द्व र गृहयुद्ध निम्त्याउने हो भने मेरो भन्नु केही छैन । तर, अरु प्रदेशसँग एक नम्बर प्रदेशलाई कुनै हालतमा नदाँजे हुन्छ । यहाँको सभ्यता, पृष्ठभूमि, ऐतिहासिकता अरु प्रदेशभन्दा फरक छ । त्यो म दावाका साथ भन्छु । जसले यो आन्दोलनलाई सम्बोधन गर्छ, उसैलाई समर्थन गर्छु ।

– आफ्नो सर्त अहिलेको मुख्यमन्त्रीसँग राख्नुभएको थिएन ?

मैले निरन्तर राखेको थिएँ । प्रदेश नामकरणको विषयमा सडकमा आन्दोलन गर्नेहरुलाई सम्बोधन गर्न वार्ता कमिटीसम्म त बनाउँ भनेर म सरकारमा रहँदा पटक-पटक आग्रह गरेको हुँ । तर, सरकारसँग बहुमत हुँदासम्म वार्ता कमिटी बनाएनन् । सरकार अल्पमतमा परेपछि वार्ता कमिटी बनाएको जस्तो नाटक गरियो । जसको अर्थ थिएन । जनतालाई दिनदिनै टाउको फुटाएर त्यही जनताको ट्याक्सले सुविधा खाएर हिँड्न त्यो बेला नै मलाई असहज भएको हो । मैले पटकपटक राख्दा पनि उहाँले वार्ता कमिटी बनाउन पनि सक्नुभएन ।

– मुख्यमन्त्रीले तपाईंलाई फकाउने प्रयास त गर्नुभयो होला नि ?

केही केही उहाँहरुका मानिसहरुले यसरी जाउँ भनेका थिए । उहाँहरुलाई मैले भनें, ल ठीक छ तपाईंहरुको कुरा मान्छु, तर प्रदेशको यो आन्दोलनलाई सम्बोधन गर्नुपर्छ । नामकरण सच्याउन लिखित सहमति हुनुपर्छ । त्यसपछि म सपोर्ट गर्छु भनेको हो ।

– मुख्यमन्त्रीले के भन्नुभयो त ?

मलाई उहाँ आफैंले केही भन्नुभएन । एमालेबाट अरुले कुराकानी गर्नुभयो । यसरी जाउँ भन्दै हुनुहुन्थ्यो । तर, मैले ‘लेट भयो’ भनें । अझै पनि लिखित रुपमा किराँत लिम्बूवान प्रदेशका लागि सहमत छौं भन्नुहुन्छ भने समर्थन गर्नसक्छु भनेको थिएँ उहाँहरुलाई ।

मैले विपक्षमा मत दिइसकेपछि अर्को सरकारलाई बहुमत पुग्ने स्थिति हुन्थ्यो । तर, पहिचानसहितको नामकरणबारे प्रस्ट नबोलिकन म कसैलाई समर्थन गर्न सक्दिनँ ।

– यसरी प्रदेश सरकारहरु भटाभट ढल्दा जनतामा राम्रो सन्देश गइरहेको छैन । संघीयताप्रति वितृष्णा उत्पन्न भइरहेको छ । तपाईंले भोट दिएको भए सरकार जोगिने स्थिति थियो । राजनीतिक स्थिरताका लागि भए पनि विश्वासको मत दिउँ जस्तो लागेन ?

मैले सोच्न कुनै कोण नै बाँकी रहेन । राजनीतिक स्थिरता सोचेर नै यत्रो दिनसम्म साथ दिएको थिएँ । तर, जहाँ दमन, शोषण हुन्छ त्यहाँ विद्रोह हुन्छ नै ।

– नामलाई किन यति धेरै महत्व दिनुभएको ? नामभन्दा काम ठूलो होइन ?

नामलाई यति सहज र नर्मल सोच्नु हुँदैन भन्नेमा तपाईंहरु पनि विश्वस्त हुनुपर्छ । जसरी हिजोदेखि तल्लो किराँत वल्लो किराँत थियो, त्यो नामेट गरेर कोशी नै राख्नुपर्छ भन्ने के थियो ? यो प्रश्न उहाँहरुलाई गर्नुस् । कोशीले सबै समेट्छ, किराँतले समेट्दैन भन्ने वाहियात र हावा खालको तर्क गरेर अबका जनता पत्याउनेवाला छैनन् । राई, लिम्बू, आदिवासीहरुलाई ३० हजार पैसा दिएर ३ लाखको कागजपत्र गर्दै सबै जग्गाजमिन हडप्ने खालको पुरानो मानसिकताबाट मुक्त हुनुप¥यो ।

म भनेको गाउँमा जन्मेर हुर्केको मान्छे हो । लिम्बू भाषाबाहेक नेपाली भाषा नै बोल्न नजान्ने मान्छे हो । त्यसैले मेरो भाषा मलाई प्यारो छ । मेरो संस्कृति मलाई प्यारो छ । एउटै भाषा एउटै भेषभुषा गर्दा मेरो पहिचान खोसिएको छ, मासिएको छ । अबको भावी सन्ततिले के भनेर लेख्छन् होला ? सबै नेपाली हौं भनेर लेख्ने ? व्यक्ति व्यक्तिको थर नजनाउने ? चाइना जस्तो देश कल्पना गर्न सकिन्न होला नि !

– कोशी नाममा चाहिँ के खराबी छ ? यसले सबैलाई समेट्दैन र ?

कोशी, तमोर, मेची नाममा खराबी छ भन्ने कुरा होइन । त्यतातिर अपव्याख्या गरेर समय बर्बाद नगरौं । सातवटा नदी मिलेर सप्तकोशी बनेको कुरालाई आज आएर सभ्यतासँग प्रदेशको नामसँग जोड्नु गलत हो ।

– कोशी नाम राख्दा एउटा पक्षलाई चित्त बुझेन । भोलि यो नाम फेर्दा अर्को पक्षलाई चित्त नबुझ्ला । अनि नामकै लागि सधैं लडाइँ गरिरहने हो त ?

होइन, नामको सँगसँगै सभ्यताको कुरा छ । भाषा, संस्कृति र संस्कारको कुरा छ । २०६२÷६३ को जनआन्दोलनको उपलब्धिलाई आज आएर नामेट गर्न पाइन्छ ?

– अब किराँत नाममा सहमति जनाउँदैमा अर्को गठबन्धनलाई समर्थन जनाउनुहुन्छ कि अर्को नामकरण नभएसम्म तटस्थ नै बस्नुहुन्छ ?

जुन सरकारलाई म सपोर्ट गर्छु, कम्तिमा उहाँहरुले लिखित प्रतिबद्धता जनाउनुपर्छ पहिचानसहितको नामकरणका विषयमा ।

लिम्बू भाषाबाहेक नेपाली भाषा नै बोल्न नजान्ने मान्छे हो । त्यसैले मेरो भाषा मलाई प्यारो छ । मेरो संस्कृति मलाई प्यारो छ । एउटै भाषा एउटै भेषभुषा गर्दा मेरो पहिचान खोसिएको छ, मासिएको छ । अबको भावी सन्ततिले के भनेर लेख्छन् होला ? सबै नेपाली हौं भनेर लेख्ने ?

– तर, त्यो प्रतिबद्धताले मात्रै नाम त फेरिदैन नि ? साँचो त आखिर एमालेको हातमा छ ।

खासमा संघले प्रदेशलाई बिगारेको हो । संघबाट ह्वीप जारी गरेपछि यहाँ यो गरेको हो । संघका माननीयज्यूहरु आनन्दले हिँड्नु भएको छ । प्रदेशको माननीयज्यूलाई तनाव छ । कुनै पनि माननीयलाई बाँकी राख्या छैन । ६-७ महिनासम्म यत्रो हुँदा पनि संघ किन मौन छ ?

– जसपा नेतृत्वले तपाईंलाई विश्वासको मत दिन आग्रह गरेको तर तपाईंले अस्वीकार गरेको पनि सुनिन्छ, यो कति सत्य हो ?

जे सुन्नुभए पनि कति सही कति गलत सुन्नुभो । कति पत्रकारले सानो केही पाएपछि गलतसलत लेख्छ । त्यो आफ्नो ठाउँमा छ । यथार्थमा जबसम्म प्रदेशको समस्या समाधान हुँदैन, पहिचानलाई सम्बोधन हुने खालको सहमति हुँदैन, तबसम्म म कुनै पनि पार्टीलाई मत दिन्न ।

– हिजो सदनमा सभामुखले बोल्न समय दिँदा पनि बोल्न चाहनुभएन नि किन ?

हिजो मैले बोलिनँ । बोल्नुको कुनै अर्थ थिएन । बोलेपछि समर्थन गर्ने कि नगर्ने भन्ने कुरा आउँछ । मैले बोल्ने केही आधार थिएन । पार्टीले पनि निर्देशन गरेको थियो । त्यसैले पार्टीको सिपाही भएको कारणले गर्दा बोलिनँ ।


प्रतिक्रिया

2 thoughts on “कोशी सरकार ढलेपछि निर्मला भन्छिन्- एमालेले प्रदेशको नाम फेर्न नमानेकाले विश्वासको मत दिइनँ

  1. एजेण्डा केही छैन । खाली नामको पछि दौडेका छन् । छोराछोरी विदेश पठाउने, आफू पाए लुकेर गएर उतै बस्ने अनि यहाँ पैसा खाएर, विदेशीक‍ो गुलाम बनेर पहिचानवादी भन्ने नाटक बन्द गर । कडा कारवाही गर ।

    1. सहि भन्नुभो अहिले सम्म गरेकै यहि छ्न ब्राम्हणहरुले । यहाँका जनजातिहरुले चाहिँ बिस्वको जहाँ जहाँ वबीरगोर्खालि बनेर लडे पनि पैशा न्व्पालमै ल्याएका छन । बाहुनहरुले चाहिँ यहाँ भ्रष्टाचार गरेर बिदेसी बैंकमा राख्छन । कसैले पानी ट्याङ्किमा राख्छन लाख करोड मात्र होइन अरबौ अरब नै घिचेका रहेछन ।
      महाकाली गण्डकी मेची सप्तकोसी बेच्ने पनि इनिहरु नै हुन । कुहिएको बागमती सफा गर्न सक्दैनन तर परदेशको नाम बागमती राख्छन । जिउँदोमा त यो देशलाइ माया गर्दैनन चुसी मात्र रहन्छन, मरे पछि पनि इनिहरुको अस्तु गंगामा पुर्याउनु पर्ने यो देशकै अभिजातहरु हुन इनिहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर