रोटरीले बुटवलमा ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स – Nepal Press

रोटरीले बुटवलमा ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स

रूपन्देही । रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । रगतको अभाव हुँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने बाध्यता छ ।

रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याइएको छ । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ ।

रोटरी क्लव अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । यो एम्बुलेन्स खरिदका लागि रेडक्रसले पनि साझेदारी गरेको छ ।

रोटरी क्लव अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको क्लवका अध्यक्ष बोनिन पियाले जानकारी दिए । उनका अनुसार यो एम्बुलेन्समा बसेर एकै पटकमा ५ जनाले रक्तदान गर्न सक्छन् ।

‘अब यसलाई सही ढंगले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्नुपर्छ’, उनले भने । अध्यक्ष पियाले क्लवले रुपन्देहीमा मात्रै १० करोडभन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको बताए ।

रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पु¥याइने नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले बताए । उनले अब यसको सञ्चालनका लागि कार्यविधि निर्माण गरिने र सोहीअनुसार कार्यान्वयनमा लगिने बताए ।

क्लवले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो । तर, कोरोना महामारीका कारण क्लवको परियोजना पछाडि धकेलियो । क्लवका पूर्वअध्यक्ष डिल्ली श्रेष्ठको पालामा अघि बढेको यो प्रोजेक्टले बोनिन पियाको पालामा मूर्त रुप लिएको हो ।

क्लवका अध्यक्ष पियाले आफ्नो कार्यकालको अन्तिम दिन रक्त संकलन मोबाइल एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा गौरव लागेको बताए । रगत संकलन गर्दै हिँड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अब रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ ।

रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्ने मात्र हैन, रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था एम्बुलेन्सभित्रै छ । रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ ।

रगत संकलन एम्बुलेन्स ल्याइएपिछ प्रतिकूल मौसममा समेत रगत संकलन गर्न सहज हुनेछ । रगत संकलन एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लवले गरेको यो कार्य निकै सराहनीय रहेको भन्दै प्रशंसा गरे ।

उनले बुटवलवासीका निम्ति निःशुल्क रगतको व्यवस्था गरिएको र त्यसबाट बिरामीहरुले फाइदा लिइरहेको भन्दै उपमहानगरले शिक्षा र स्वास्थ्यलाई केन्द्रविन्दू राखेर काम गरिरहेको बताए ।

रोटरी डिष्ट्रिक इन्टरनेशनल ३२९२ का वर्ष २०२३-२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले रक्त संकलन मोबाइल एम्बुलेन्स ल्याउने प्रक्रियामा विभिन्न रोटिरयनहरुको योगदानलाई भुल्न नहुने भन्दै यसको सफल सञ्चालनमा जोड दिन आग्रह गरे ।

रक्त संकलन एम्बुलेन्सका लागि प्रोजेक्ट तयार पार्ने काममा मुख्य भूमिका खेलेका क्लवका पूर्वअध्यक्ष राजेन्द्र लम्सालले रोटरियनहरुले आफ्नो पैसा खर्च गरेर सामाजिक क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिंदै यसका लागि रोटरी इन्टरनेशनल अन्तर्गतको रोटरी फाउन्डेशनबाट पनि ठूलो सहयोग प्राप्त भैरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर