चितवनमा राधिकासहित ओली, भन्छन्- कृषिप्रधान देश भएकैले नाकाबन्दीले गलाउन सकेन – Nepal Press

चितवनमा राधिकासहित ओली, भन्छन्- कृषिप्रधान देश भएकैले नाकाबन्दीले गलाउन सकेन

काठमाडौं । राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहान र्‍यालीमा सहभागी भएका छन् । र्‍याली गेस्टहाउस चौरदेखि चौबीसकोठीसम्म भएको थियो । र्‍यालीमा पत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

र्‍यालीपछि आयोजित सभामा बोल्दै ओलीले नेपाल कृषि प्रधान देश भएकै कारण भारतको नाकाबन्दीमा झुक्नु नपरेको बताएका छन् ।

‘हामीलाई पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो देश कृषिप्रधान देश हो, कृषिप्रधान देश भएको हुनाले नाकाबन्दीजस्तो चिजमा पनि, जो हामी प्रायः सबै चिज बाहिरबाट ल्याउँछौँ। हामीलाई खान पुग्ने झन्डै झन्डै अन्न यहीँ उत्पादन हुन्छ । सब्जी यहीँ उत्पादन हुन्छ, फलफूल, माछामासु, दूध । त्यसैले त्यस नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन’, ओलीले भने ।

खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उनको भनाइ थियो । उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा जोड दिए ।

कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्‍याउनुपर्ने उनले बताए ।

‘कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ । उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधिकरण गर्नुपर्छ’, ओलीले भने ।

उनी आज दिउँसो धान रोप्ने कार्यक्रममा पनि सहभागी हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर