‘स्थिर र बलियो सरकारको लागि एमाले-कांग्रेसको सहकार्य अपरिहार्य’ – Nepal Press
नेपाल टक

‘स्थिर र बलियो सरकारको लागि एमाले-कांग्रेसको सहकार्य अपरिहार्य’

प्रदीप ज्ञवाली भन्छन्- दलाल पूँजीवादी समाजवादी मोर्चासँग एमालेको सहकार्य हुँदैन 

कैलाली । समाजवादी मोर्चा तयार भएसँगै सत्ता गठबन्धनमा कांग्रेस र समाजवादी मोर्चाबीच असमझदारी सुरु भएको चर्चा चलेको छ । यता एमाले भने सत्ता गठबन्धनमा सुरु भएको खटपट हेरेर बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गरिरहेका बेला कांग्रेसका केही नेताहरु भने वर्तमान गठबन्धनको सरकारको आयु लामो नहुन सक्ने संकेत दिइरहेका छन् ।

पछिल्लो समय गठबन्धनको सरकारमा देखिएको अविश्वास, सरकारले सुरु गरेको भ्रष्टाचार अनुसन्धान र एमालेको भावी रणनीतिबारे एमाले कार्यबाहक महासचिव प्रदीप ज्ञवालीसँग गरिएको कुराकानी नेपाल टकमाः

– अहिले सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । सरकार परिवर्तन हुन सक्नेसम्मका हल्ला सुनिन्छन् । एमाले त ढोक्सा थापेर बसिरहेको होला है ?

परिस्थिति त्यो दिशामा गएको भन्ने मलाई लाग्दैन । अलि बढी हल्लाहरू चलाइएका छन् । समाजवादी मोर्चा बनाइसकेपछि कांग्रेससँग अलिकति अविश्वास बढेको हो । त्यो विषयलाई मत्थर गर्न समीकरण परिवर्तनको हल्ला चलाइएको हो जस्तो लाग्छ ।

नेपाली कांग्रेसले पनि अहिलेसम्म यही गठबन्धनलाई कम्फरटेबल मानिरहेको छ । त्यसो हुँदा नेपाली कांग्रेस तयार नहुँदासम्म सत्ता परिवर्तनको कुनै सम्भावना हुँदैन । एमाले अहिले सत्ता परिवर्तनको खेलभन्दा पनि देशका केही महत्त्वपूर्ण मुद्दाहरुमा केन्द्रित छ ।

– कांग्रेस वा समाजवादी मोर्चामध्ये एकसँग मिलेर सरकार बनाउन पुग्ने अङ्कगणित छ । एमालेभित्र पनि विकल्पका विषयमा छलफल भइरहेको सुनिन्छ नि ?

पहिलो कुरा, यो नाममात्रको समाजवादी मोर्चा हो, खासमा यो दलाल पूँजीवादी केन्द्र हो । सैद्धान्तिक रूपले उसले आफूलाई समाजवादी भनेको कारणले एमालेसँग निकट हुनुपर्छ कि भन्ने तर्क हो भने त्यो सही तर्क होइन ।

दोस्रो, यो केन्द्रमा रहेका मुख्य पार्टीहरू खासगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी वामपन्थीको सरकार ढालेर कांग्रेसलाई सत्तामा ल्याउन निर्णायक भूमिका खेलेका साथीहरू हुन् । त्यसो भएको हुँदा अहिले नै उनीहरूसँग गठबन्धन हुने स्थिति म देख्दिनँ । हामीले पटक पटकका विगतका धोका अहिले नै भुल्न सक्दैनौं ।

– प्रधानमन्त्रीले विगतका भ्रष्टाचारका फाइलहरू खोलिरहेका छन् । ललिता निवास काण्ड सुरु भएको छ । यो फाइल खुलेसँगै एमालेका केही नेतालाई फेरि ज्वरो आउन थालेको भनिन्छ नि ?

नेकपा एमाले भ्रष्टाचारको विरुद्ध निर्ममताका साथ लड्नुपर्छ भन्ने पक्षमा छ । त्यसो गर्ने क्रममा पार्टीका मान्छेहरू मुछिएको पाएमा पार्टीले संरक्षण गर्ने छैन ।

नेपाली कांग्रेस तयार नहुँदासम्म सत्ता परिवर्तनको कुनै सम्भावना हुँदैन । एमाले अहिले सत्ता परिवर्तनको खेलभन्दा पनि देशका केही महत्त्वपूर्ण मुद्दाहरुमा केन्द्रित छ ।

तर, भ्रष्टाचारको फाइल खोल्दा सौदाबाजी गर्नु हुँदैन । सबै घटनामा एउटै दृष्टिले हेर्नुपर्छ । सत्तामा रहेका मान्छेहरूले छानीछानी फाइल खोल्ने हो भने त्यो राजनैतिक प्रतिशोधको लडाइँ हुन जान्छ ।

ललिता निवास प्रकरणमा सबै अनुसन्धान गरेर मुद्दा चलाउने तयारी गरेकै बेला सरकार परिवर्तन भयो । त्यसपछि महान्यायाधिवक्ताको दबाबमा केन्द्रीय अनुसन्धान विभागलाई मुद्दा नचलाऊ भनियो ।

दुई जना प्रधानमन्त्री यसमा जोडिनुभएको छ माधवकुमार नेपाल र बाबुराम भट्टराई । उहाँहरूको बारेमा मुद्दा चलाउन मिल्ने कि नमिल्ने फैसला गर्न पेसी तोकिएको बेलामा षड्यन्त्रपूर्ण ढंगले आकस्मिक र रहस्यमय ढंगले प्रधानन्यायाधीशविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । यी सबै विषय एक-अर्कामा जोडिएका छन् ।

– फेरि ओलीलाई अध्यक्ष बनाउन ७० वर्षको उमेर हद हटाइएको हो ?

त्यस्तो होइन । खासमा पार्टीका केही नेताहरू, जो यो पार्टी निर्माणका क्रममा हुनुहुन्थ्यो । हिजो पार्टी विभाजनका बेला पार्टीबाट बाहिर जानुभएको थियो । उहाँहरूलाई अहिले त्यो विभाजन गलत थियो भन्ने लागेको छ । त्यस्ता साथीहरूलाई फर्काउन ७० वर्षको उमेरहद बाधक जस्तो बन्यो । मुकुन्द न्यौपानेलगायत केही साथीहरूका लागि यो परिवर्तन गरिएको हो । अहिले पार्टीमा रहेका कुनै साथीहरूलाई लक्षित गरेर परिवर्तन गरिएको होइन ।

– वामदेव गौतम पनि एमाले फर्किने हल्ला एकाएक बढिरहेको थियो । अहिले फेरि अध्यक्ष नै दिए पनि एमालेमा आउँदिनँ भनिरहनु भएको छ । अब के दिएर ल्याउनुहुन्छ त उहाँलाई ?

उहाँलाई अध्यक्ष दिने भन्ने कुरा त कल्पनाभन्दा धेरै टाढाको कुरा हो । यही उहाँले त्यस्तो सोच्नुभएको छ भने मेरो विनम्र आग्रह हो, तपाईं जहाँ हुनुहुन्छ त्यही बस्नुहोला । अहिले अध्यक्षको कुरा लिएर फर्किने कुरा व्यर्थ हो ।

उहाँ फर्किंदा हाम्रोतर्फबाट स्वागत छ । तर, कुनै अनावश्यक सर्तहरू ल्याउनु उचित हुँदैन । घर फर्केर आइसकेपछि उहाँको योग्यतालाई कसरी सदुपयोग गर्ने भन्ने कुरा पार्टीले निर्धारण गरिहाल्छ ।

– भीम रावलसँग संवाद गर्न कार्यदल बनेको थियो । एउटा बैठक कसेर कार्यदल निष्क्रिय भइसकेको छ । अब भीम रावललाई जिम्मेवारी दिइन्छ कि कारबाही हुन्छ ?

उहाँको बारेमा पार्टीले छलफल गरी नै रहेको छ । हिजो पार्टीमा उहाँलाई उपाध्यक्षको प्रस्ताव आएको हो । उहाँ अध्यक्षमा प्रतिस्पर्धा गर्न चाहनुभयो । उहाँ पराजित हुनुभयो । हाम्रो पार्टीको व्यवस्था भनेको पूर्वपदाधिकारी तथा सदस्यहरुलाई सदस्यमा राख्ने व्यवस्थाअनुसार उहाँलाई सल्लाहकारमा राखिएको थियो । उहाँले त्यो पनि स्वीकार गर्नुभएको छैन ।

नेकपा एमालेको विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ । पार्टीप्रति माया हुने जो-कोहीले पनि त्यो घेराबन्दीको विरुद्ध उभिनुपर्छ । आफ्नो केही कुराहरू छन् भने पार्टीभित्रै बसेर कुरा गरेर समाधान गर्नुपर्छ ।

भीम रावल कमरडले नै तय गर्नुपर्छ यो विषय । आन्दोलनमा एकातर्फ संकट छ पनि भन्ने, राष्ट्रियतामाथि खतरा छ पनि भन्ने राष्ट्रियताको निम्ति सबैभन्दा धेरै लडाइँ लडिरहेको एमाले त्यसलाई कमजोर बनाएर कसैलाई फाइदा हुन सक्दैन । त्यसो भएको हुँदा उहाँलाई पार्टीले आह्वान नै गरेको छ । जिम्मेवारीको विषयमा बसेर छलफल गर्न सकिन्छ ।

उहाँलाई पनि बाहिर रहेर कुनै फाइदा छैन । आन्दोलनलाई पनि कुनै फाइदा भएको छैन । नेकपा एमालेको विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ । पार्टीप्रति माया हुने जो-कोहीले पनि त्यो घेराबन्दीको विरुद्ध उभिनुपर्छ । आफ्नो केही कुराहरू छन् भने पार्टीभित्रै बसेर कुरा गरेर समाधान गर्नुपर्छ । मेरो पनि त्यही आग्रह छ ।

– केही समयअघि नेपालप्रेसमै नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले ‘प्रदीप ज्ञवाली र गोकर्ण विष्टसँग पार्टी एकताको संवाद गरौं भन्ने हिम्मत छ ?’ भन्नुभएको थियो । तपाईंमा त्यो हिम्मत नभएको हो ?

त्यस्तो होइन । उहाँहरू सबैलाई पार्टीमा स्वागत छ । चरण चरणमा कुराकानी पनि भइरहेको छ ।

– लतारिएरै आऊन् भन्ने तपाईंहरुको चाहना हो ?

त्यस्तो होइन । तपाईंले रामकुमारी झाँक्रीको कुरा गर्नुभयो । उहाँले सार्वजनिक रूपमै विभाजन गलत थियो, विभाजनको औचित्य पुष्टि भएन, वास्तवमा हामीले जे निर्णय गर्‍यौं, उहाँकै भाषामा भन्ने हो भने हामी त खरानी भयौं नेकपा एमालेलाई पनि ठूलो धक्का दियौं भन्नुभएको थियो ।

विभाजनको हाम्रो कदम गलत थियो भन्ने कुराको अनुभूति भइसकेपछि र नेकपा एमालेलाई बलियो बनाएर जानुपर्छ भन्ने निष्कर्षमा पुगिसकेपछि यसमा थप केही गरिरहनु परेन । मलाई लाग्छ छिट्टै धेरै साथीहरू फर्किनुहुन्छ ।

– के फेरि केपी ओली, माधव नेपाल र झलनाथ खनाल एकै ठाउँमा आउने सम्भावना छ ?

माधव नेपालसँग एकै ठाउँमा हुने सम्भावना म देख्दिनँ । उहाँले जे गर्नुभयो त्यो अक्षम्य छ । आज पनि उहाँमा जुन तहको कुण्ठा, घृणा, प्रतिशोध र आन्दोलनलाई विध्वंश गर्ने निरन्तरको उहाँको जुन प्रकारका क्रियाकलाप छन्, त्यो कारणले माधवकुमार नेपालसँग सहकार्य हुने सम्भावना म देख्दिनँ ।

माधव नेपालसँग एकै ठाउँमा हुने सम्भावना म देख्दिनँ । उहाँले जे गर्नुभयो त्यो अक्षम्य छ । आज पनि उहाँमा जुन तहको कुण्ठा, घृणा, प्रतिशोध र आन्दोलनलाई विध्वंश गर्ने निरन्तरको उहाँको जुन प्रकारका क्रियाकलाप छन्, त्यो कारणले माधवकुमार नेपालसँग सहकार्य हुने सम्भावना म देख्दिनँ ।

– एमालेले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आएमा कुन कुन पार्टी रोजाइमा पर्छन् ?

स्थायित्वको निम्ति हामीले त सुरुमै भनेका हौं । दुई ठूला पार्टी सहकार्य गरेर जाऔं । राष्ट्रियता जोगाउनु पर्नेछ । यो कुराको समाधानको लागि र मुलुकको अर्थतन्त्र सङ्कटको डिलमा छ । त्यसलाई जोगाउन पनि एउटा स्थिर र बलियो सरकार आवश्यक छ । त्यो स्थिर र बलियो सरकारको लागि एमाले र नेपाली कांग्रेसको बीचमा सहकार्य अपरिहार्य छ भनेर हामीले औपचारिक रुपमा प्रस्ताव राखेका थियौं ।

– अहिले पनि त्यही गृहकार्य भइरहेको छ भनिन्छ नि ?

आजको मितिसम्म त्यो प्रस्तावमा उसले चासो राखेको छैन । उसलाई देशको चिन्ताभन्दा पनि आफ्नो स्वार्थको चिन्ता बढी छ ।

– तपाईंहरू शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर यो गठबन्धन तोड्न लाग्नुभएको हो ?

हामी नेपाली कांग्रेससँग बसेर छलफल तयार हुन्छौं । सबैभन्दा पहिले एजेन्डाको कुरा हो, सरकार परिवर्तनको कुरा होइन । पछिल्लो जल्दोबल्दो दृष्टिकोणमा कांग्रेसको दृष्टिकोण के हो ? कांग्रेस कसरी अगाडि बढ्न चाहन्छ । आगामी बाटो ठीक भयो भने त्यसपछि छलफलको सार्थकता हुन्छ । एजेन्डाविनाको सरकार परिवर्तनले केही हुँदैन ।

– एमालेको लागि समाजवादी मोर्चा भन्दा कांग्रेस कम्फरटेबल भएको हो ?

मुलुकको स्थिरताको लागि कुनै न कुनै विन्दूमा नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा समझदारी हुनुपर्छ । सरकारमा सहभागी हुने नहुने भन्दा पनि एजेन्डामा साझा समझदारी हुनुपर्छ ।


प्रतिक्रिया

One thought on “‘स्थिर र बलियो सरकारको लागि एमाले-कांग्रेसको सहकार्य अपरिहार्य’

  1. सही कुरा । प्रदिपजस्ता नेता भएर त एमाले महान छ । सबैले एमालेलाई साथ दिएर देशको सर्वाङ्गिण र दुरगामी विकासमा सहभागी बनौं । अरू पार्टी गुलाम, लुटेरा मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर