अलपत्र घाेषित नयाँ शहर: धेरै फेरिए सरकार तर, पैसा अभावमा ठाउँको फेरिएन मुहार – Nepal Press

अलपत्र घाेषित नयाँ शहर: धेरै फेरिए सरकार तर, पैसा अभावमा ठाउँको फेरिएन मुहार

काठमाडौ । बढ्दै गएको पहाडी बसाइसराइलाई रोक्न सरकारले पहिलो पटक २०६८ सालमा नयाँ शहरको घोषणा गरेको थियो । त्यसवेला सरकारले मध्यपहाडी लोकमार्गले छुने १० ठाउँलाई नयाँ शहरको रुपमा घोषणा गरेको थियो । यसपछि पनि सरकारले घोषित नयाँ शहर निर्माण पूरा गर्ने भन्दा थप नयाँ शहर घोषणा थर्दै आएको छ ।

हालसम्म सरकारले २७ वटा नयाँ शहर बनाउने घोषणा गरिसकेको छ । तर, ती शहर निर्माण आयोजनाले बजेट अभाव झेलिरहेका छन् ।

सुरुमा घोषणा गरिएका १० शहर र त्यसलगत्तै थपिएका २ वटा शहरले ११ वर्ष बितिसक्दा पनि अपेक्षित प्रगति गर्न सकेका छैनन् । शहर निर्माणका लागि सम्बन्धित ठाउँमा कार्यालय पनि खुलेका छन् । ती कार्यालयको समन्वय केन्द्रबाट नयाँ शहर आयोजना समन्वय कार्यालय काठमाडौंले गरिरहेको छ ।

नयाँ शहर आयोजना समन्वय कार्यालयका अनुसार सरकारले नयाँ शहर घोषणा गर्ने क्रमलाई मात्र जारी राख्ने तर तिनका लागि पर्याप्त बजेट नछुट्याउँदा नयाँ शहर निर्माणले गति लिन सकेको छैन । नयाँ शहरका आयोजना निर्देशक एकराज अधिकारी बजेटको समस्याका कारण शहर निर्माणको काम तीब्र हुन नसकेको बताउँछन् ।

‘अध्ययनले एउटा शहरको लागि मात्र औसतमा ३०/३५ अर्ब लाग्ने देखाउँछ । तर, अहिले १० वर्षमा सबै शहरका लागि जम्मा ९ अर्बमात्र खर्च भएको छ’, उनले भने, ‘आयोजनाले ठूलो लगानी माग गर्छ । तर, बजेट न्यून आउँछ । चालू आवमा ३ अर्ब ७९ करोडभन्दा बढीको बजेट सिलिङ थिएन । यसले त एउटा स्वास्थ्य चौकी पनि बन्दैन ।’

सरकारले २०६७/६८ को नीति तथा कार्यक्रममार्फत मध्यपहाडी राजमार्गको आसपास १० वटा नयाँ शहर स्थापना गर्ने भनेको थियो । यसको सुरुको उद्देश्य कम्तीमा २० वर्षमा ३० अर्ब लागतमा १-१ लाख जनसंख्यालाई पुग्ने गरी पूर्वाधार तयार गर्ने भन्ने थियो । यसका १० वटा कार्यालय छन् । यो बीचमा धेरै सरकार फेरिए । तर, शहर बनाउने भनिएको ठाउँको मुहार अहिलेसम्म फेरिएको छैन । बरु नयाँ शहरको घोषणा गर्ने क्रम चलिरह्यो ।

बैरेनी गल्छी नयाँ शहर आयोजनाका प्रमुख सुमनकुमार मिश्रले शहर निर्माणको क्रममा गरेको कामको भुक्तानी दिनसमेत पैसा नभएको बताए । ‘पैसा नभएर अघिल्ल्लो वर्षको ४ करोड भुक्तानी दिन सकेका छैनौं’, मिश्रले भने ।

देश संघीय संरचनामा गएपछि भएको पहिलो चुनावलगत्तै त झन स्मार्ट सिटीको अवधारणा व्यापक बन्यो । हालसम्म १३ स्मार्ट सिटी, मध्यपहाडी लोकमार्गस्थित १२ वटा नयाँ शहर, हुलाकी लोकमार्गस्थित १० नयाँ शहर, तराई मधेसस्थित ५ नयाँ शहर र हिमाली पदमार्गमा अवस्थित १० बस्तीहरु छन् ।

२७ शहरको आईयूडीपी, १३ स्मार्ट सिटीको गुरुयोजना

आयोजना समन्वयको कार्यालयले पनि सुरुको १० वटा शहरमा केन्द्रित रहेर काम गरिरहेको छ । त्यसमा पनि ८ वटामा जग्गा एकीकरण अर्थात प्लानिङ गर्ने कार्य भइरहेको छ । २७ वटै नयाँ शहरको आईयूडीपी (इन्टिग्रेटेड अर्बान डेभलपमेन्ट प्लान) भइसकेको छ । ५४ वटा नयाँ शहर तथा स्मार्ट सिटीको एक चरणको अध्ययन भइसकेको छ । यी ५४ वटै शहरलाई ११ खर्ब लगानी लाग्ने अध्ययनले देखाएको छ ।

एउटै आयोजनाका लागि विभिन्न निर्माण व्यवसायीलाई ठेक्का दिइएको छ । भवन बनाउने ठेक्का एउटा निर्माण व्यवसायीले पाएको छ भने बाटो बनाउने अर्को ठेकेदार, खानेपानीका लागि अर्कै ठेकेदारले काम गरिरहेको आयोजना समन्वय कार्यालयले जनाएको छ ।

चालू वर्षसम्म गरेर ११ अर्ब खर्च हुने अनुमान आयोजनाको छ । यी शहर निर्माण सम्पन्न गर्ने समयसीमा २०९० सालसम्म रहेको छ ।
कुन शहरको काम कति भयो ?

फिदिम-पाँचथर : यो शहरअन्तर्गत धेरैजसो सडकको काम भइरहेको आयोजनाका कामु आयोजना प्रमुख मोहन विकले बताए । उनका अनुसार अहिले ल्याण्डपुलिङ, अफिसको भवन, समुदायको भवन निर्माणको काम भइरहेको छ । यस क्षेत्रमा भ्युटावरको निर्माण कार्य भने सकिएको छ ।

बसन्तपुर-तेह्रथुम : बसन्तपुर नयाँ शहरमा नगरपालिका क्षेत्रभित्रको १० किलोमिटर रिङरोड निर्माण सकिएको छ । चक्रपथ वीरेन्द्रचोक पिपलडाँडा वडा नं. ५ को कार्यालयदेखि सडक निर्माण भइरहेको छ भने भुल्केधारा सामुदाियक भवन परिसर सुधार, होमस्टे र सडक निर्माण, सार्वजनिक बसपार्क तथा टर्मिनल भवन निर्माण भइरहेको निमित्त आयोजना प्रमुख उदयनारायण चौधरीले बताए ।

तिन्ह्वाखोला खानेपानी आयोजनाको काम पनि भइरहेको छ । बसन्तपुर क्षेत्रमा कैलाश हिल, खेलकुद तथा मनोरञ्जनस्थल निर्माण भइरहेको छ भने लोकतान्त्रिक चोकदेखि टुटेसम्मको सडक निर्माण सकिएको छ ।

खुर्कोट-सिन्धुली : यो शहरअन्तर्गत हालसम्म सात किलोमिटर बाटो कालोपत्रे भएको छ । खोजचोक र साझाचोकको सडक पनि बनिसकेको छ । कभर्ड हल र ल्याण्डपुलिङको काम भने पैसा अभावका कारण हुन नसकेको आयोजनाका निमित्त प्रमुख सुदीप श्रेष्ठले जानकारी दिए ।

अर्थ मन्त्रालयले निर्माण व्यवसायीको भुक्तानी समयमै नदिँदा केही कामहरु सम्झौताकै चरणमा मात्र रहेको आयोजनाले जनाएको छ । यस्तै चनपुर डाँडामा एउटा पार्क बनिसकेको छ । राताटारमा एक घर एक धारा कार्यक्रम प्रभावकारी रुपले कार्यान्वयन भइसकेको आयोजनाले जनाएको छ ।

बैरेनी-गल्छी : यसमा चालू आवमा मात्रै ६ वटा ठेक्का लगाइएको थियो । जसमा १ नम्बर ठेक्का मस्टिडोरअन्तर्गतको काम सकिएको छ । दोस्रो मस्कार अरुवाबारी सडक लगभग सकिएको छ । १३४ मिटरमध्ये १३० मिटर ढलान भएको छ । नाला बनाउने काम पनि सकिएको छ । ३ नम्बरको ठेक्कामा कम्पाउन्ड वाल लगाउने काम सकिएर अहिले रंगरोगनको काम भइरहेको छ ।

भुपालटारको जग्गा परिसरभित्र कम्पाउन्ड वाल लगाइएको छ । ४ नम्बर ठेक्का अम्लेश्वर मन्दिर परिसरमा दाहसंस्कार स्थल निर्माण भइरहेको छ । पाँचौं ठेक्कामा १२ सय मिटर पिचको काम भएको छ । ६ नम्बरको ठेक्का सल्लेटारदेखि राताचौर गंगारे बतासे बिन्दिचौरको सडक निर्माण काम भइरहेको छ ।

चालू वर्ष १७ करोडको काम गरेको यो आयोजनासँग १३ करोड रुपैयाँ छ । ४ करोड रुपैयाँ अघिल्लो वर्ष निर्माण भएको भुक्तानी गर्ने रकम नभएको गुनासो आयोजनाका कामु प्रमुख सुमनकुमार मिश्रले गरेका छन्

डुम्रे भन्सार-तनहुँ : डुम्रे भन्सार पनि बजेट अभावमा छ । यो वर्ष ७ करोड रुपैयाँ खर्च भइसकेको छ । कतिपय ठेकेदारको रकम दिन बाँकी रहेको आयोजनाले जनाएको छ ।

बुर्तिवाङ-बागलुङ : यस क्षेत्रमा हालसम्म १० किलोमिटर सडक निर्माण सकिएको छ । भव्रेटामा सभाहल बन्दैछ । बसपार्क निर्माण अन्तिम चरणमा पुगेको छ । कुथाप्लाको पार्क निर्माण सकिएको छ । चालू वर्ष १५ करोड ६० लाख बजेट पाएको बुर्तिबाङले ८ करोड ५१ लाख खर्च गरिसकेको छ ।

साँफेबगर-अछाम : यस क्षेत्रमा खेल मैदान, बसपार्क निर्माण भइरहेको छ । साँफे खोलाको तटबन्धको निर्माण कार्य पनि भइरहेको आयोजना प्रमुख तुल्सीराम खर्बुजाले जानकारी दिए ।

पाटन-बैतडी र चौरजहारी-रुकुमको भने विवरण प्राप्त हुन सकेन ।

कसरी छानिएको थियो १० नयाँ शहर ?

जनसंख्या, बसाइसराइ, गैरकृषि क्रियाकलाप, साक्षरता, विद्युत सेवाको उपलब्धतालगायत क्षेत्रीय वितरण र सन्तुलनलाई आधार मानी प्रत्येक विकास क्षेत्रबाट २-२ वटा मध्यपहाडी लोकमार्गमा रहेका १० वटा स्थानलाई नयाँ शहरको रुपमा घोषणा गरिएको हो ।

पाँचथरदेखि बैतडीको झुलाघाट क्षेत्रसम्म फैलिएको सयौं बस्ती सूचीकृत गरिएको थियो । बस्ती शहरीकरणको अवस्था, जनसंख्या शहरी विस्तारको लागि सम्भावना र उत्तर-दक्षिण राजमार्गले कहाँ कहाँ काट्यो भनेर हेरिएको थियो र सोहीअनुसार नम्बर प्रदान गरिँदै गयो । त्यही नम्बरका आधारमा सयौं बस्तीमध्ये ३०-३५ बस्ती छानिएको हो ।

त्यसैबाट उत्कृष्ट १० शहर छनोट भएकाले अन्य शहरको तुलनामा यी शहर वैज्ञानिक तबरबाट छानिएको आयोजनाको कार्यालयले जनाएको छ । अहिले विकास हुनु भनेकै शहरीकरण हुनु हो भन्ने देखिएको छ । शिक्षा, स्वास्थ्यका लागि गाउँभन्दा शहर रोजिने भएकाले शहरीकरण गरिनुपर्छ भन्ने अवधारणा हो ।

त्यतिबेला छानिएका शहरहरुमा पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *