विकास साझेदारको खोजी गर्न सूर्यविनायक नपामा घरेलु, कृषि तथा पर्यटन मेला – Nepal Press

विकास साझेदारको खोजी गर्न सूर्यविनायक नपामा घरेलु, कृषि तथा पर्यटन मेला

भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिकाले समग्र विकासका साझेदारहरुको खोजी गर्न असार १५, १६ र १७ गते तीनदिने घरेलु, कृषि तथा पर्यटन मेलाको आयोजना गरेको छ ।

सूर्यविनायक नगरपालिका- ८ आदर्शस्थित हरित कृषि थोक बजारमा शुक्रबार सुरु हुने मेलाबारे नपाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सूर्यविनायक नपाका मेयर वासुदेव थापाले नगरभित्र रहेका घरेलु तथा साना उद्योग, कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न मेला आयोजना गरिएको स्पष्ट पारे ।

त्यस्तै नपाकी उपमेयर एवं मेलाका मूल संयोजक सरिता भट्टराईले उद्योगी व्यवसायीहरुलाई सीधै उपभोक्ता तथा बजार र आधुनिक प्रविधि तथा अनलाइन मार्केटिङसम्म पहुँच पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको बताइन् ।

‘मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन, सीपको उजागर गरिनेछ’, उनले भनिन्, ‘मेला अवधिभर कृषि र पर्यटनका क्षेत्रमार्फत सूर्यविनायक नपाको समग्र विकासमा खेल्ने सकिने भूमिकाबारे छलफल, विचार विमर्श र अन्तरक्रियासमेत हुनेछ ।’

जसले समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका साझेदारको खोजी पूरा हुने विश्वास लिएकाे उनले बताइन् ।

सूर्यविनायक नगरपालिकाले आयोजना गर्ने मेलाको संयोजन भक्तपुर घरेलु तथा साना उद्योग संघले गरेको छ । त्यस्तै भक्तपुर पर्यटन विकास समितिले प्रवर्द्धनको जिम्मा लिएको छ ।

मेलामा सहभागी हुने घरेलु तथा साना, कृषि र पर्यटन व्यवसायीहरुलाई स्टलमा निःशुल्क गरिएको छ । मेलामा करिब एकसय वटा स्टल रहनेछ ।

मेलामा भक्तपुरका लघु घरेलु, साना उद्यमी एवं महिला उद्यमीका उत्पादनहरु, स्वदेशी औद्योगिक वस्तु, स्थानीय मौलिक उत्पादनहरु जु जु धौ, ताइचिन चिउरा, कालो भादगाउँले टोपी, माटाका भाँडाकुँडाका उत्पादनको जीवन्त प्रदर्शनसमेत हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै कृषि उत्पादन तथा उपज र प्रविधि, हस्तकला र काष्ठकलाका उत्पादनसँगै पर्यटन उद्योगका उत्पादनको स्टल हुनेछन् । मेला अवधिभर मौलिक नेवारी खाजाहरु सम्हेबजी, योमरी, चतामरी, बारासहितको फुड फेस्टिभलसँगै स्थानीय मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुति र स्थापित कलाकारहरुको सांगीतिक कार्यक्रम हुने सूर्यविनायक नपाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर