पशुपति विकास कोषले भन्यो- जलहरीमा कसैको नाम कुँदिएको छैन – Nepal Press

पशुपति विकास कोषले भन्यो- जलहरीमा कसैको नाम कुँदिएको छैन

काठमाडौं । पशुपतिनाथ मन्दिरमा प्रतिस्थापित सुनको जलहरीलाई लिएर विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको नापजोख गर्ने काम सम्पन्न गरेको छ ।

अख्तियारबाट गएको टोलीले जलहरीमा सुनको परिमाण ठीक छ वा छैन भनेर जोखेर हेरेको थियो ।

जलहरीको नापतौल भइरहँदा अर्को नयाँ विषय चर्चामा आयो । जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम कुँदिएको समाचार केही सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । कुँदिएका नामहरु मेटाएरमात्रै पुनःस्थापना गर्नुपर्ने माग धेरैले गरेका छन् ।

यस विषयमा हामीले पशुपति विकास कोष र अख्तियारसँग बुझ्न खोज्यौं । दुवै निकायले जलहरीमा तत्कालीन पदाधिकारीहरुको नाम कुँदिएको अस्वीकार गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका कुराहरु सत्य नभएको बताए ।

उनले भने, ‘जलहरीमा कसैको पनि नाम कुँदिएको छैन । नकुदिएकाले मेटाउने भन्ने प्रश्न नै आउँदैन ।’

उनले भित्तामा राखिएको उद्घाटन प्लेटमा परम्परागत प्रचलनअनुसार तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीलगायतको नाम उल्लेख रहेको स्पष्ट पारे ।

अख्तियार स्रोतले पनि जलहरीमा कसैको नाम नभएको बतायो । यसबारे सबै प्रक्रिया सकिएपछि औपचारिक वक्तव्यमार्फत जानकारी गराउने स्रोतको भनाइ छ ।

‘जलहरी प्रतिस्थापन गर्ने क्रममा भित्तामा टाँसिएको प्लेटमा लेखिएको नामलाई लिएर नै गलत प्रचार गरिएको हुन सक्छ’, स्रोतले भन्यो ।
२०७७ साल फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपति मन्दिरमा सुनको जलहरी राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर