मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि कोशी सभामा बजेट अध्यादेश पेश हुने – Nepal Press

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि कोशी सभामा बजेट अध्यादेश पेश हुने

विराटनगर । कोशी प्रदेशसभाले मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्नुभन्दा पहिले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी अध्यादेश पेश हुने कार्यसूची सार्वजनिक गरेको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको बिहीबारको प्रदेश सभा बैठकको कार्यसूचीको सुरुमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेको पत्र वाचन हुनेछ ।

त्यसपछि पुनः संविधानको धारा २०२ बमोजिम प्रदेश सभामा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश २०८० र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०८० पेश हुने कार्यसूची रहेको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

दुईवटै अध्यादेश प्रदेश सभामा पेश भएपछि पेश भएपछि मात्रै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रिया अघि बढ्ने छ ।आज बिहीबार दिउँसो १ बजेको लागि कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाइएको छ ।

अध्यादेशसम्बन्धी संविधानको धारा २०२ को उपधारा (१) मा प्रदेश सभा चलिरहेको अवस्थामा बाहेक प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने उल्लेख छ । उपधारा (२) को (क) प्रदेश प्रमुखबाट अध्यादेश जारी भएपछि बसेको प्रदेश सभाको बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ ।

उक्त प्रस्ताव पेश भएपछि मात्रै संविधानको धारा १८८ को उपधारा (२) तथा कोशी प्रदेश सभा नियमावली २०७४ को नियम १२८ (४) बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको पराजुलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर