एमालेको अवरोधपछि ५ दिन पछि धकेलियो लुम्बिनीमा बजेटमाथिको छलफल – Nepal Press

एमालेको अवरोधपछि ५ दिन पछि धकेलियो लुम्बिनीमा बजेटमाथिको छलफल

रुपन्देही । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि बजेट आएको दुई सातापछि बोलाइएको लुम्बिनी प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रम पुनः ५ दिन पछाडि सरेको छ ।

बुधबार दिउँसो ३ बजे आव्हान गरेको बैठक १ घन्टापछि सुरु भएपनि एमालेले बजेट सच्याउन लिखित माग गर्दै अवरोध गरेपछि आधा घण्टाको लागि स्थगित बैठक पुनः बस्न सकेन ।

बजेटको बिषयमा छलफल गर्न आह्वान गरिएको बैठकमा एमालेले बिरोध जनाएपछि सभामुख तुलाराम घर्तीले आधा घण्टा बैठक स्थगित गरेका थिए ।

तर सहमति नजुटेपछि १७ गते दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

‘सहमतिको लागि बैठक स्थगित भएको थियो । तर सहमति हुन सकेन । असार १७ गते दिउँसो १ बजे बैठक बस्नेगरी सूचना जारी गरिएको छ’ सचिव पुनले भने, ‘सहमति खोज्ने प्रयास गरियो । पुनः दलहरूको बीचमा छलफल हुने छ ।’ आजको बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।

तर, प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको तर्फबाट प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरीले सदनमा विशेष सम्वोधन गर्दै सरकारले हचुवाको भरमा बजेट ल्याएको भन्दै विरोध जनाए ।

‘क्रमागत योजनासमेत सरकारले कटौती ग¥यो । यो कस्तो परम्परा हो, जनताको जीवनस्तर उकास्ने खालको बजेटनै छैन् । फजुल खर्च, अनुत्पादक क्षेत्रमा मात्रै बजेट केन्द्रित छ’ उनले भने ।

एमालेका प्रमुख सचेतक तुलसी चौधरीले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने बताए ।

‘क्रमागत योजना कटौती गरेर बजेट आयो । प्रत्येक निर्वाचन क्षेत्रमा दुई÷दुई वटा थप योजना दिने सहमति गरेको थियो । ती योजनाहरु बजेटमा समेटिएको छैन । नीतिगत सहमति गर्ने र अर्काे नीतिगत बेइमानी गर्ने काम भयो’, उनले भने, ‘सरकारको लिखित प्रतिवद्धता आयो भने मात्रै सदन चल्न दिन्छौं । सरकारले एकपछि एक झुट बोल्दै जाने, झुठको पुलिन्दा तयार पार्ने, झुठको घेरामा सरकार चल्न सक्दैन ।

सदन चल्न सक्दैन ।’सदनमा रहेका १० दलमध्ये सरकार बाहिर रहेका एमाले र राप्रपाले बजेटको विरोध गरेका छन् । उता सत्तारुढ दलमै रहेका केही सांसदहरुले आफ्ना योजनासमेत काटिएकाले बजेट शंशोधनको कुरा उठाइरहेका छन् तर मुख्यमन्त्री डिल्ली चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीले उनीहरुका योजना समेट्ने आश्वासन दिएर आन्दोलन मत्थर पार्ने प्रयासमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर