गरिमालाई प्रश्नः हल्काहल्का माया बसेकै हो ? – Nepal Press

गरिमालाई प्रश्नः हल्काहल्का माया बसेकै हो ?

‘अलिकति रहस्यकै कुरा छ, केही दिनमा दर्शकले आफैं थाहा पाउनुहुने छ’

काठमाडौं । टिकटकबाट उदाएकी मोडल गरिमा शर्मा अहिले आफ्नो एउटा इन्स्टाग्राम पोस्टलाई लिएर चर्चामा छिन् । सोमबार उनले इस्टाग्राम स्टोरीमा हालेका तस्वीर र लेखेका शब्दहरुले दर्शकको मनमा कौतुहल सिर्जना गरिरहेको छ– के उनी प्रेममा परेकै हुन् ?
उनले एक युवकसँगका केही तस्वीरहरु सेयर गर्दै लेखेकी छिन्, ‘हल्का हल्का माया बस्यो कि ?’

उनका थप प्रेमिल शब्दहरु छन्, ‘मैले थाहा नपाएको यस्तो ठाउँमा लैजाउ, जहाँ विश्व अति नै सरल छ । म ताराहरुलाई जमिनमाथि चम्किएको हेर्न चाहन्छु ।’

तस्विरमा युवकको अनुहार भने प्रष्ट देखिएको छैन । उनले युवकसँग हात मिलाएर मुटुको आकार ‘हार्ट सेप’ समेत बनाएकी छन् । यति भएपछि कतिपयले उनीहरुलाई ‘लभ कपल्स’ का रुपमा हेर्न थालिहाले ।

गरिमा आफ्नो निजी जीवनका विषयहरु यति सजिलै र सरक्कसँग बाहिर ल्याइहाल्ने कलाकार होइनन् । त्यसमाथि लभ अफेयरजस्तो कुरा गोप्य नै राखेको राम्रो हुन्छ भन्ने मान्यता छ उनको । त्यसोभए किन उनले हतारिएर आफ्नो ‘प्रेमी’ सार्वजनिक गरिदिइन् त? हामीसँगको कुराकानीमा उनले स्पष्ट जवाफ दिइनन् ।

हाँस्दै भनिन्, ‘खोइ ? हल्का हल्का माया बस्यो कि ?’

फेरि आफैं रोकिइन्, ‘होस, यसबारे म अहिले केही बोल्दिन । अलिकति रहस्यकै कुरा छ । केही दिनमा दर्शकले आफैं थाहा पाउनुहुने छ ।’

तस्वीरमा अनुहार छोपिएका युवक पनि एक मोडल हुन् । चलचित्र ‘सरी मम’ मा अभिनय समेत गरेका यी ‘क्युट व्वाइ’ हुन्– प्रभात पल ठकुरी हुन् । गरिमासँग प्रभातको व्यक्तिगत निकटता छ भन्ने उनले टिकटकमा राखेका केही भिडिओहरुबाट थाहा हुन्छ । प्रभातले पोस्ट गरेको जोडी तस्विरसहितको टिकटक भिडियोमा गरिमाले ‘हल्का हल्का माया बस्यो…’ लेख्दै रातो पानाको ईमोजी राखेकी छन् । उनको कमेन्टमा जवाफ दिँदै प्रभातले पनि ‘खै’ लेखेर उस्तै इमोजी राखेका छन् । प्रभातले आफ्नो इन्स्टाग्राममा पनि गरिमासँगका केही भिडियो क्लिप्सहरु पोस्ट गरेका छन् ।

उनीहरुको यो कस्तो खालको निकटता हो भन्ने भेद चाँडै खुल्ला । तर अहिले गरिएको पोस्ट चाहीँ उनीहरुको एउटा व्यवसायिक सहकार्यसँग सम्वन्धित रहेको बुझिन्छ । उनीहरुले एउटा नयाँ म्युजिक भिडियोमा सँगै काम गरेका छन् । यो भिडियो उत्पादन गरिमा स्वयम्ले गरेकी हुन् । पहिलोपटक म्युजिक भिडियोमा आफैं लगानी गरेकी गरिमा यसको पब्लिसिटीका लागि विभिन्न उपाय लगाइरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर