सामाजिक सञ्जाल र युवा पुस्ताप्रति प्रधानमन्त्रीको आक्रोश- हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ गरेर चौतर्फी अविश्वास खडा गरिँदैछ (भिडिओ) – Nepal Press

सामाजिक सञ्जाल र युवा पुस्ताप्रति प्रधानमन्त्रीको आक्रोश- हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ गरेर चौतर्फी अविश्वास खडा गरिँदैछ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियाबाट आएका नयाँ पुस्तालाई युद्धबारे थाहा नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सोसल मिडियामा उन्मुक्त पुस्तालाई हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजेको आरोप लगाए।

उनले भने, ‘बीस वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ। सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको हो। सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिङ्गो संसद् एक ठाउँमा उभिनेछ भन्ने मेरो विश्वास छ।’

उनको भनाइ जस्तोको त्यस्तै:

आज यो अवसरको प्रयोग गरेर म अपिल गर्न चाहन्छु, केही हुँदैन र अवस्था बदलिँदैन भन्ने हीन भावनाबाट माथि नउठेसम्म यो देशले आफैँमाथिको विश्वास फर्काउन सक्दैन। म दोस्रो पटक प्रधानमन्त्री हुँदा देशमा अठार घण्टासम्म लामो लोडसेडिङ्ग थियो।

केही महिनामै हामीले लोडसेडिङ्ग मुक्त उज्यालो नेपाल बनायौँ र आज केही वर्षमै भारत र बंगलादेशलाई समेत बिजुली बेच्ने ठाउँमा आइपुगेका छौँ।

पेट्रोलियम पदार्थको आयात न्यून बनाएर दशौं हजार मेगावट बिजुली निर्यात गर्ने उत्साहजनक बिन्दुमा आइपुगेका छौँ। यति उज्यालो भविष्यको यति नजिक यसअघि हामी कहिल्यै थिएनौँ।

तर, सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान हुन्छ। हामीले गम्भीर भएर सोच्ने बेला आएको छ, कतै हामीबीच विषय विज्ञताभन्दा निन्दाबाजी त हाबी भइरहेको छैन ? जनताका वास्तविक मुद्दाहरू हराउँदै गएर सतही सस्ता विषयले त महत्त्व पाइरहेका छैनन् ? कतै हामी राजनीतिज्ञ पनि सामाजिक सञ्जालका खहरे तालीका लागि विवेक र सीमा मिचिरहेका त छैनौँ ? कतै हाम्रै व्यवहारले राजनीतिको चरित्र र चेहरा त कमजोर भइरहेको छैन ?

यो सत्य हो, लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ हुँदैन, त्यसलाई तत्थ्यात्मक आधार चाहिन्छ। मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसलाई युद्ध देख्नुपरेन। बिहान एक गाग्री पानीका लागि तीन घण्टा खोला धाउनुपरेन। विद्यालय पुग्न तीन चार घण्टा पैदल हिँड्नु परेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन। सञ्चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन। आज त्यो पुस्तालाई हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजिँदै छ। बीस वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ। सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको हो। सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिङ्गो संसद् एक ठाउँमा उभिनेछ भन्ने मेरो विश्वास छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर