सहकारीलाई ३० दिनभित्र विवरण पेश गर्न बालेन शाहको निर्देशन, नगरे कारबाही – Nepal Press

सहकारीलाई ३० दिनभित्र विवरण पेश गर्न बालेन शाहको निर्देशन, नगरे कारबाही

काठमाडौं । मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरूको साधारण सभाको जानकारी, लेखा परीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् ।

पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमितताको खबर सार्वजनिक भइरहेको बेला महानगरले सो सूचना जारी गरेको हो ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्-

वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई संकटग्रस्त हुनबाट बचाऔँ

सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरूलाई अनुरोध

बस्तु र सेवाहरूको मूल्यवृद्धि र मुद्रा स्फितिले वित्तीय क्षेत्रहरूमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकहरूले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरूले आफ्नो काम कारबाहीलाई जिम्मेवार, इमानदार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।

यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गरौँ ।।

सहकारी संस्थाहरूमा अनुरोध

– तोकिएको समयमा सबै शेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबार बारे जानकारी गराउनुहोला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रूपले शेयर सदस्यहरूसँग सम्पर्क र संवाद बढाउनुहोला ।

– तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्नुहोला ।

– वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला।

– परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरूमा लगानी नगर्नुहोला ।

– शेयर सदस्यहरूलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।

– सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रूपले संस्थासँग कारोबार भएको व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिनुहोला ।

– कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।

– कार्य पद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।

– ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।

– जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।

– राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।

– आफ्ना शेयर सदस्य र बचतकर्ताहरूलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।

सदस्य/बचतकर्ताहरुलाई अनुरोध

सहकारी संस्थाहरू बैंक होइनन् । यी संस्थाहरू सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरूको निरन्तर निगरानी आवश्यक छ ।

– सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोबारको बारेमा नियमित रूपले जानकारी लिनुहोला ।

– नियमित साधारण सभा नगर्ने सहकारीहरूको बारेमा विभागमा जानकारी गराउनुहोला ।

– सञ्चालक समितिका पदाधिकारीहरूको आनीबानी र इमानदारिताका बारेमा नियमित जानकारी लिनुहोला ।

– बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।

– सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला ।

-कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोबार नगर्नुहोला ।

– सञ्चालक समितिका पदाधिकारीहरूको पहिचान गरेर मात्र संस्थासँग कारोबार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।

– आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।

-ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर