एमाले र राप्रपाकाे अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित – Nepal Press

एमाले र राप्रपाकाे अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

हेटौंडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको, बजेटलाई समावेशी ढंगबाट वितरण नगरिएको, वडा नै नभएको क्षेत्रमा बजेट विनियोजन गरेको, गैससलाई नाम नै तोकेर अनुदान वितरण गरिएकोलगायतको विषयको कारण प्रमुख प्रतिपक्ष एमाले र राप्रपाले बैठक अवरुद्ध गरेका हुन् ।

बागमती सरकारले असार १ गते आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेपछि १२ दिनपछि आज सुरु भएको छलफलको प्रारम्भमै प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले आफ्नो भनाइ राखेपछि एमाले सांसदहरुले उठेर बैठक बहिष्कार गरेका हुन् ।

सरकार के खाएर निदाएको भन्ने प्रश्न गर्दै थपलियाले प्रदेश सरकारले ल्याएको बजेट किसान, युवा, निमुखा जनताको पक्षमा नरहेकाले यस्तो बजेट कुनै पनि हालतमा पास गर्न नदिने बताए ।

बागमती प्रदेश सरकारले ल्याएको बजेटमध्ये २१ प्रतिशत मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङसहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको भन्दै उनले यस्ताखाले बजेटले संघीयताको मर्मलाई मारेको बताए ।

मकवानपुर, काभ्रे, रामेछाप, काठमाडौंमा वडा नै नभएको स्थानमा कसरी बजेट विनियोजन भयो भन्दै उनले सरकारले लज्जाजनक काम गरेको आरोप लगाए । बजेट पुनर्लेखन गरेर समावेशी बनाएरमात्र पास गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।

एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मको लागि बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर