यी हुन् ललिता निवास प्रकरणमा सीआईबीले आज पक्राउ गरेका ७ जना – Nepal Press

यी हुन् ललिता निवास प्रकरणमा सीआईबीले आज पक्राउ गरेका ७ जना

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले आज ७ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की रहेको बताए ।

सोही प्रकरणमा आज बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरिएको थियो भने केहीबेरअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् । पूर्वसहसचिवसमेत रहेका शाह कुनै बेला भक्तपुर मालपोत कार्यालयमा कार्यरत थिए ।

सीआईबीले कीर्ते गरेको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ ।

सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

ललिता निवास प्रकरणमा यसअघि करिब ४ सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन ।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ ।

सीआईबीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले ललिता निवासको जग्गामा सरकारी लिखत कीर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।

-रासस


प्रतिक्रिया

One thought on “यी हुन् ललिता निवास प्रकरणमा सीआईबीले आज पक्राउ गरेका ७ जना

  1. अब पालाे ऐमालेकाे बिष्णु पाैडेलकाे पनि किनभने वहाँले लिऐर फिर्ता गरेकाे प्रमाण पनि छ । तसर्थ फिर्ता गरेपनि कसुर त गरेकै हाे छ हिम्मत समात्ने 🤬

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर