अमेरिकामा मोदीलाई प्रश्न सोध्ने पत्रकारमाथि अनलाइन उत्पीडन, ह्वाइट हाउसले गर्‍यो निन्दा – Nepal Press

अमेरिकामा मोदीलाई प्रश्न सोध्ने पत्रकारमाथि अनलाइन उत्पीडन, ह्वाइट हाउसले गर्‍यो निन्दा

काठमाडौं । अमेरिका भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अल्पंख्याक समुदायप्रति दमनकारी बनेको सन्दर्भमा प्रश्न गर्ने पत्रकार ‘साइबर उत्पीडन’ मा परेकोमा ह्वाइट हाउसले निन्दा गरेको छ ।

अमेरिकी अखबार वाल स्ट्रीट जर्नलकी रिपोर्टर सबरिना सिद्धिकले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा मोदीसँग उनको सरकारले अल्पसंख्यकमाथि गरेको भेदभाव र मानव अधिकार हननसँग सम्बन्धित विषयमा प्रश्न सोधेकी थिइन् ।

पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि थिए । सो प्रश्नपछि भारतीय जनता पार्टीसँग आबद्ध व्यक्ति र आरएसएस कार्यकर्ताले सिद्धिकीलाई मुस्लिम भएको भन्दै अनलाइन उत्पीडन गरेको आरोप छ ।

सोमवार ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा एनबिसीकी रिपोर्टर केली ओडेनले सबरिनामाथि भएको अनलाइन उत्पीडनबारे प्रश्न सोधेकी थिइन् । त्यसको जवाफमा ह्वाइट हाउसका प्रवक्ताले सो घटनाप्रति निन्दा व्यक्त गरेको बीबीसीले जनाएको छ ।

केलीको प्रश्न थियो- म संक्षेपमा एक फरक प्रश्न सोध्न चाहन्छु । वाल स्ट्रीट जर्नलकी हाम्री साथी पत्रकारले राष्ट्रपति बाइडेन र भारीय प्रधानमन्त्री मोदीसँग सवाल जवाफको बेला प्रधानमन्त्री मोदीसँग प्रश्न सोधेकी थिइन् । यसपछि भारतमा उनलाई अनलाइन प्रताडना दिइएको छ । यसमा केही नेता पनि छन् जो मोदी सरकारका समर्थक छन् । सबरिनालाई उनीहरूले यसकारण निशाना बनाइरहेका छन् कि,उनी मुस्लिम हुन् र यससँग सम्बन्धित प्रश्न उनले सोधेकी थिइन् । लोकतान्त्रिक नेतासँग प्रश्न सोध्दा यस प्रकारले उत्पीडनको सामना गर्नुपरेको बारे ह्वाइट हाउसको प्रतिक्रिया के छ ?

जवाफमा ह्वइट हाउसका प्रवक्ताले उत्पीडनबारे आफूहरू जानकार रहेको भन्दै पत्रकारमाथि यस प्रकारको अनलाइन उत्पीडनको ह्वाइट हाउसले निन्दा गर्ने र यस्तो कार्य अश्वीकार्य रहेको बताएका छन् । उनले यसलाई लोकतन्त्रको बर्खिलाफ भनेका छन् ।

सबरिनाले मोदीलाई अल्पसंख्यकमाथि दमन गरेको सन्दर्भमा प्रश्न गर्दा मोदीले आफू उक्त प्रश्नबाट दुःखी बनेको भन्दै लोकतन्त्र आप्नो डिएनएममा रहेको र भारतमा कुनै प्रकारको भेदभाव कसैमाथि नगरिएको बताएका थिए ।


प्रतिक्रिया

One thought on “अमेरिकामा मोदीलाई प्रश्न सोध्ने पत्रकारमाथि अनलाइन उत्पीडन, ह्वाइट हाउसले गर्‍यो निन्दा

  1. भारतीय ढोङ्गी हिन्दु नेताहरू सामाजिक अभियान्ता खराव हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर