के महिलाको इज्जत उनको योनीमा छ ? – Nepal Press
ब्लग

के महिलाको इज्जत उनको योनीमा छ ?

आजभोलि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुको उपलब्धताले यौन दुर्व्यवहार/बलात्कारका समाचारहरु धेरै नै आएका छन् । तर, ती घटनाहरुमा व्यक्त प्रतिक्रियाहरुमध्ये पीडित भनिएकाहरुको चरित्र लक्षित नकारात्मक टिप्पणीहरु बढी देख्छौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तोता रहेको ‘ऐना’ भन्ने कार्यक्रममा यौन हिंसा/दुर्व्यवहारसम्बन्धी बहसमा एउटी सहभागीले छोरीलाई इज्जतको भारी बोकाउन नहुने र छोरीको इज्जत उसको योनीमा नहुने आफ्नो विचार राखेकी थिइन् । तर, के छोरीको इज्जत साँच्चिकै उनको योनीमा हुन्छ र ? कसले राखिदियो छोरीको इज्जत उनको योनीमा ? यौनसँग इज्जत कसरी जोडियो ? यी तमाम प्रश्नहरुको उत्तर पाउन प्रथमतः इज्जत नैतिकता भन्ने कुरा कसरी मानवसँग जोडियो भनी थाहा हुनु जरुरी हुन्छ ।

वैज्ञानिकहरु दाबी गर्दछन्- नैतिकताको मूल बाँच्न (survival) सँग सरोकार राख्छ । जसले आपसी सद्भाव र सहयोगी आचरणलाई प्रोत्साहन गर्छ । समाजलाई जीवन्त र सन्तुलित बनाइराख्न हरेक समाजले आआफ्नै नैतिक मूल्य मान्यताहरु स्थापित गरेको हुन्छ । जुन सांस्कृतिक रुपमा पुस्तान्तरण हुँदै जान्छ । यी नै मूल्य मान्यताअनुसारको व्यवहार आचरणलाई नैतिक भनिन्छ भने त्यस विपरीतलाई अनैतिक । तर, समाज आफैंमा एउटा गतिशील संस्था भएका कारण कतिपय मूल्य मान्यताहरु समय सन्दर्भसँगै बदलिँदै जानुपर्छ र बदलिन्छ पनि । यौन व्यवहारलाई व्यवस्थित गर्न नै यसलाई नैतिकतासँग जोडिएको हो । जसको पछाडि सामाजिक डर र लाजले काम गरेको हुन्छ । यौन मानव जीवनको एक अभिन्न अंग हो । जससँग जिम्मेवारी र उत्तरदायित्व पनि जोडिएको हुन्छ । यही जिम्मेवारी र दायित्वको बोध गराउन नै यौनलाई नैतिकतासँग जोडिएको हो । तर, के यसको भारी महिलाले मात्रै बोक्नुपर्ने हो कि पुरुषले पनि पर्ने हो ? के यौन हिंसा छोरी मान्छे माथि मात्र हुन्छ वा यसको शिकार छोरा मान्छे पनि हुन सक्छन् ?

हिजोका दिनमा महिला पूर्ण रुपमा पुरुषमा निर्भर हुँदा आफ्नो सन्तानको पालनपोषणको लागि पनि पुरुषमै निर्भर हुनुपर्ने अवस्था थियो । सायद यही कारण उसको इज्जतलाई योनीमा राखिदियो किनकि पुरुषलाई अरु पुरुषका कारण जन्मिएका सन्तानको पनि पालनपोषणको भार पर्ने हुन्थ्यो । त्यसैले विवाह जस्तो संस्थाको विकास भएको हो ताकि यौनलाई त्यसभित्र मात्र सीमित गर्न सकियोस् । आज यही पुरुषवादी सोच नै नारीमाथि राज गर्ने माध्यम बनिदियो । एकल आमामात्र होइन, अहिले त अविवाहित आमासम्मले पनि आफ्नो सन्तानको पालनपोषणको जिम्मेवारी लिन सक्ने भएका छन् । किनकि नारी पनि आर्थिक रुपले आत्मनिर्भर हुन सकिरहेका छन् । तर, यो पुरुषवादी समाजले नारीलाई कमजोर र पुरुषलाई बलियो भन्ने भाष्य निर्माण गर्न लगायो । अरुको परनिर्भरतामा आफूलाई बलियो ठानेर गर्व गर्न खोज्ने कमजोर मानसिकताले नै समाजमा असन्तुलन निम्त्याएको हो ।

समाजलाई जीवन्त र सन्तुलित बनाइराख्न हरेक समाजले आआफ्नै नैतिक मूल्य मान्यताहरु स्थापित गरेको हुन्छ । जुन सांस्कृतिक रुपमा पुस्तान्तरण हुँदै जान्छ । यी नै मूल्य मान्यताअनुसारको व्यवहार आचरणलाई नैतिक भनिन्छ भने त्यस विपरीतलाई अनैतिक ।

भनिन्छ, यो संसार दुई विपरीत शक्तिहरुको सन्तुलनमा अडेको छ । महिला र पुरुष पनि यस्तै दुई विपरीत तर परिपूरक शक्ति हुन् । पुरुषलाई बलियो र महिलालाई कमजोर सोच्ने पुरुषवादी सोचले सबैभन्दा घाटा पुरुषलाई नै छ । त्यस्तै गल्ती महिला मुक्तिको नाममा प्रतिक्रियावादी भएर पुरुषको विरोध र नक्कल गर्ने कार्य महिलाहरुबाट भएका छन् । प्रकृतिले नारीलाई ठूलो शक्ति प्रदान गरेको छ, शारीरिक रुपमा कमजोर हुन सक्ला । फेरि आमा बन्ने शक्ति बोकेकालाई कसरी कमजोर मान्न सकिन्छ ? आत्मिक रुपमा नारी शक्तिको स्रोत नै हो । तर, यही शक्तिलाई चिन्न नसकेर आफैंले आफैंलाई कमजोर बनाएको हो । नारी शक्तिले संसार बदल्ने ल्याकत राख्छ ।

नारीको काली शक्ति जाग्यो भने देवहरुको पनि देव महादेव त पाउमुनि आउन बाध्य हुन्छ । तर, आजको विडम्बना स्वछन्दताकी प्रतीक काली पितृसत्तात्मक समाजमा ओझेलमा पर्दै गयो वा पारिँदै लग्यो । यहाँसम्म कि काली भन्ने शब्द नै विरुप स्त्रीको प्रतीक बन्न गयो । पुरुषवादी समाजले निर्माण गरेको सुन्दरताको मानकमा आफूलाई प्रमाणित गर्न लालायित हुँदा स्त्री स्वयं पनि आफूलाई वस्तुकरण गरिएकोमै रमाउन खोज्ने भयो । यही स्वभावले उसलाई मानसिक र आत्मिक रुपमा पनि कमजोर बनाउँदै लगिएको हो । आफूलाई राम्री भनिदेओस् भन्ने लोभमा भुलाएर होस् कि सेक्सीको उपमा दिएर गर्व गर्न लगाएर होस्, यो पुरुषवादी समाजले आफूलाई परनिर्भर बनाएको कुरा बुझ्न नसकेसम्म छोरी आत्मनिर्भर हुनै सक्दैन । जबसम्म छोरी आत्मनिर्भर हुन सक्दैन तबसम्म उनको इज्जत उनको शरीरमै सीमित रहिरहन्छ वा जबसम्म छोरीलाई उनको शरीरमै सीमित बनाइन्छ तबसम्म आत्मनिर्भर हुने यात्रामा अगाडि बढ्नै सक्दैन ।

यौन प्रकृतिको अनुपम देन हो । जसले दुई विपरीत शक्ति (स्त्री-पुरुष)लाई नजिक ल्याइ यस सृष्टिलाई सम्भव बनाएको छ । तर, अहिले यौन ऊर्जालाई काम वासना पूर्ति गर्ने माध्यममात्र बनाउन खोजिएको छ । यससँग जोडिएको एकअर्काप्रतिको जिम्मेवारीलाई नजरअन्दाज गरिँदैछ । नारी-पुरुषको सम्बन्धलाई यौनमा विसर्जन गर्नु वा शारीरिक तहमा सीमित राखेर हेर्नु भनेको सगरमाथा जित्न हिँडेको मान्छे आधार शिविरसम्म मात्र पुगेर गर्व गर्नु जस्तै हो । दुई विपरीत शरीर/शक्ति आमनेसामने हुँदा जनाउने जैविक प्रतिक्रियालाई यौन वा प्रेम भनी सरलीकृत गरी त्यसको आवेगमा बग्ने वा नैतिकताको कसीले हेरेर त्यसबाट भाग्ने कुराले यौनको वास्तविक शक्तिलाई बुझ्न सकिँदैन । यौनलाई आफ्नो प्रभुत्व वा आधिपत्य जमाउने वा मोलमोलाइको माध्यम बनाइ दुरुपयोग गर्नाले समस्यामा पर्नु स्वाभाविक हो । यौन प्रेमको अभिव्यक्ति पनि हुनसक्छ वा बलात्कार पनि हुनसक्छ । त्यो सानो/मसिनो धर्सालाई देख्नु र बुझ्नु जरुरी छ ।

अहिले यौन ऊर्जालाई काम वासना पूर्ति गर्ने माध्यममात्र बनाउन खोजिएको छ । यससँग जोडिएको एकअर्काप्रतिको जिम्मेवारीलाई नजरअन्दाज गरिँदैछ । नारी-पुरुषको सम्बन्धलाई यौनमा विसर्जन गर्नु वा शारीरिक तहमा सीमित राखेर हेर्नु भनेको सगरमाथा जित्न हिँडेको मान्छे आधार शिविरसम्म मात्र पुगेर गर्व गर्नु जस्तै हो ।

जहाँसम्म यौन हिंसा वा दुर्व्यवहारको सवाल छ, यो कमजोर मानसिकताको उपज हो । यौन हिंसा वा दुर्व्यवहारमा पीडितलाई भन्दा पीडकलाई लाज लाग्नुपर्ने हो । तर, यो पुरुषवादी समाजले छोरीको आत्मसम्मानलाई उनको शरीरमा सीमित बनाइदिएर थप पीडा दिइरहेको छ । हिंसा जुनसुकै रुपमा होस् चाहे शारीरिक, मानसिक वा आत्मिक, आफैंमा मानवतालाई लज्जित बनाउने विषय हो । जसले मानव भएर अर्काे मानवको इच्छालाई सम्मान नगरी त्यस विपरीत बलजफ्ती कार्य गर्छ । त्यस्तो मानिसलाई कसरी बलियो भन्न सकिन्छ ।

हिजो नदेखिएको भगवानमा आफूलाई समर्पण गर्ने मानिस आज भगवानसँग पनि डराउन छोडेका छन् । स्वर्गको आशमा नैतिक आचरण अनुशरण गर्ने मानिस नर्कसँग पनि डराउन छोडेका छन् । त्यसैले आधुनिक समाजले सामाजिक सन्तुलनका लागि नियम कानूनहरु बनाएका छन् । भगवानको असीमित शक्तिसँग डराउन छोडेकाहरु नियम कानूनको सीमिततासँग त झन डराउने कुरै भएन । यस्ताले त नियम कानूनलाई पनि आफ्नो अनुकूल व्याख्या र प्रयोग गर्छन् । डर र लाज दुवै कुरा पचाइसकेकाहरुबाट राम्रो कुराको आश गर्नु नै बेकार हुन्छ । यौनलाई सौदाबाजी र पुरुषार्थको औजार बनाएर दुरुपयोग गर्न उनीहरुलाई केहीले रोक्न सक्दैन ।

त्यसैले यौनलाई जैविक आवश्यकता भनी सरलीकृत गर्ने वा नैतिकताको कसीमा राखेर जटिल बनाउने भूल सुधार्नु जरुरी छ । पक्ष वा विपक्षमा बहस गर्नुभन्दा पनि हामी कस्तो संस्कारमा हुर्कियौं वा हुर्काउँदै छौं भनी बुझ्नु जरुरी छ । ‘स्त्रीमात्र आफ्नो कामवासना पूर्तिका लागि उपयोग गर्ने कुनै वस्तु होइन’ भन्ने कुरा स्त्रीले मात्र पुरुषलाई बुझाउन सक्छ । हिजोको समाज बदलिसकेको छ । त्यसैले पुराना मूल्य मान्यता पनि बदल्नु जरुरी छ । छोरीको इज्जत उनको योनीमा छैन र राख्नु पनि हुँदैन । किनकि आफ्नो अस्तित्वलाई शरीरमै सीमित गरायौं भने असीम सम्भावना पनि रोकिन्छ । जसका कारण पीडा र दुःख थपिन्छन् । त्यसैले हामीले छोरीलाई कसरी हुर्काइरहेका छौं भनी हाम्रै दोषलाई केलाउनु जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *