यस्तो छ डोटीका स्थानीय तहहरुको नयाँ बजेट – Nepal Press

यस्तो छ डोटीका स्थानीय तहहरुको नयाँ बजेट

डोटी । डोटीका नौ वटै स्थानीय तहले आइतबार सभामा बजेट तथा कार्यक्रम पेश गरेका छन् ।

जिल्ला सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिकाले आगामी आर्थिक वर्ष (०८०/०८१) का लागि चालूतर्फ ४४ करोड ५९ लाख तीन हजार ९०० र पूँजीगततर्फ १९ करोड ६६ लाख ४० हजार गरि जम्मा ६४ करोड २५ लाख ४३ हजार ९०० रुपैयाँको अनुमानित आय-व्यय सभामा पेश गरेको छ ।

प्रस्तावित वजेटमा नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । नगर उपप्रमुख कलावती महर साउँदले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याइएको बताइन् ।

उनले भनिन् ‘कृषिमा आधुनिकीक-रण तथा व्यवसायीकरण गर्ने उद्देश्य राखी नगर क्षेत्रको जमिन बाँझो राख्न नदिने नीति अवलम्बन गरिएको छ ।’

शिखर नगरपालिकाले पनि आईतवारै सभामा बजेट पेश गरेको छ । स्वास्थ्य, कृषि, शिक्षा, महिला विकास, विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकता दिने गरि आएको उक्त बजेटको आकार ६४ करोड ८७ लाख ४० हजार रहेको नगर उपप्रमुख सुनिता रावलले जानकारी दिइन् ।

उनका अनुसार समग्रमा अनुमानित वजेट आएपनि क्षेत्रगत रुपमा छुट्याउन बाँकी छ । उनले खानेपानीमा एक घर एक धाराको अवधारणा नगरपालिकाले अघि सारेको बताइन् ।

आदर्श गाउँपालिकाले पनि कृषि, स्वास्थ्य, शिक्षा र सडकहरुको स्नरोन्नतिलाई प्राथमिकता दिएर बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकायाका अनुसार आदर्शले आगामी वर्षका लागि ४५ करोड ३३ लाख ३ हजार प्रस्ताव गरेको छ ।

पूर्वीचौकी गाउँपालिकाले आगामी आर्थिक वर्षमा सीपमुलक कार्यक्रमलाई प्राथमिकता दिएको छ । डल्लोमा ४३ करोड १२ लाख ५० हजार अनुमानित बजेट सभामा पेश गरेको गाउँपालिकाले सीपमुलक कार्यक्रमलाई प्राथमिकता दिँदै रोजगारी सिर्जना, आर्थिक बृद्धि र गरीवी निवारणमा बिशेष जोड दिईएको गाउँपालिका–का प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलले बताए ।

उनले भने ‘अहिले नै विषय क्षेत्रगत रुपमा बजेट बाँडफाँड भएको छैन, सभामा पेश भएको छ ।’

जोरायल गाउँपालिकाले आगामी वर्षका लागि ५३ करोड ११ लाख ६० हजार बराबरको अनुमानित बजेट ल्याएको छ ।

गाउँपालिका उपाध्यक्ष जमुना बोहराले कृषि, शिक्षा, स्वास्थ्य र उद्योगलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बनाइएको बताइन् ।

बोगटान फुड्सिल गाउँपालिकाले ४३ करोड ५६ लाख ९४ हजार चार सय बराबरको बजेट गाउँ सभामा पेश गरेको छ ।

गाउँपालिकाले सडक शिक्षा र कृषिलाई पहिलो प्राथमिकता दिएको छ । कृषिमा आधुनिकीकरण गर्ने, पूर्वाधार विकासमा सडक निर्माणलाई प्राथमिकता गाउँपालिकाको लक्ष्य छ ।

वडीकेदार गाउँपालिकाले आगामी वर्षका लागि ३८ करोड ९ लाख बरावरको वजेट ल्याएको छ । आर्थिक विकास, कृषि तथा पशु, पर्यटन, उद्योग, सहकारी र वित्तीय विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन संस्थागत विकासलाई प्राथमिकताका साथ समेटिएको गाउँपालिकाका उपाध्यक्ष डम्मरी बिष्टले जानकारी दिइन् ।

३८ करोड ५६ लाख १५ हजारको अनुमानित वजेट सभामो पेश गरेको के आई सिंह गाउँपालिकाले प्राथमिकता क्षेत्र निर्धारण गर्न भने बाँकी छ ।

‘अहिले समय अभावका कारण सोलोडोलो वजेट आएको छ, यसलाई २० गतेसम्म विषय क्षेत्रगत विभाजन गरी फाइनल गर्छौं’ गाउँपालिकाका सूचना अधिकारी पुष्पराज भट्टले भने ‘त्यतिवेलै प्राथमिकता छुट्याउँछौं ।’

सायल गाउँपालिकाले ३६ करोड, ७४ लाख ५२ हजार चार सय रुपैयाँको अनुमानित बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले जानकारी दिए । सायल गाउँपालिकाले पनि प्राथमिकता क्षेत्र निर्धारण गरिसकेको देखिँदैन ।

पेश भएकै दिन बजेट स्वीकृत

जिल्लाका दुई पालिकाको बजेट सोही दिन पेश भई सोही दिन स्वीकृत समेत भएको छ ।

गाउँसभा र नगरसभा (कार्यसञ्चालन) ऐन, २०७५ को दफा ६५(३) अनुसार सभामा राजश्व र व्ययको अनुमान (वजेट) पेश गरेको दिन सोमाथी छलफल गर्न नहुने व्यवस्था छ ।

तर शिखर नगरपालिका र जोरायल गाउँपालिकाले आइतबारै स्वीकृत भएको छ । बजेट सोही दिन स्वीकृत भएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले वताइन् ।

शिखर नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत आइतबारै बजेट स्वीकृत भएको सार्वजनिक गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर