वान एक्स बेट प्रकरणको अन्तरकथा- प्रहरी देख्नासाथ ल्यापटप र मोबाइल फुटाउने को थिए ? – Nepal Press

वान एक्स बेट प्रकरणको अन्तरकथा- प्रहरी देख्नासाथ ल्यापटप र मोबाइल फुटाउने को थिए ?

राजु मास्टरको प्रस्टीकरणः प्रधानमन्त्रीले नै उद्घाटन गरेको क्रिकेट प्रतियोगितामा यस्तै कम्पनीको विज्ञापन देखेका थियौं

काठमाडौं । अनलाइन बेटिङमा सूक्ष्म अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकारी वान एक्स बेटको एप्लिकेसनमा पैसा जम्मा गर्न दिइएको एउटा कनेक्ट आईपीएस काराेबार आईडीमा अड्किए । उक्त काराेबार आईडी नेपालमा सक्रिय एजेन्टहरुको खोजी गर्न अनुसन्धान अधिकारीका लागि उक्त अकाउन्ट नम्बर एउटा गतिलो लिंक बन्न सक्ने उनीहरुको विश्वास थियो ।

अकाउन्ट नम्बरबारे बुझ्दै जाँदा कैलालीका रामविलास थारुको भएको खुल्यो । त्यतिमात्र होइन, पछिल्लो एक वर्षमा मात्र उक्त अकाउन्टमा १७ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको पाइएपछि प्रहरी आश्चर्यचकित भए ।

‘यो अकाउन्ट नम्बरबारे सीआईबीदेखि राष्ट्र बैंकसम्मले जानकारी लिएका छन्’, सम्बन्धित बैंकका अधिकारीको यस्तो जवाफबाट अनुसन्धान अधिकारीहरु थप छक्क परे । ‘यति धेरै रकम कारोबार भइरहँदा पनि खाता रोक्का गर्ने काम भएनछ’, अनुसन्धान अधिकारी भन्छन् । रामविलास थारुबारे बुझ्दा उनी कैलालीका एक साधारण व्यक्ति भएको खुल्यो ।

प्रहरीले ती व्यक्तिको खाता कसैले प्रयोग गरिरहेको हुनसक्ने पनि अनुमान गरेको थियो । खातामा प्रयोग गरिएको मोबाइल नम्बर स्वीच अफ थियो । अनुसन्धान अधिकारीले आईपी एड्रेसबाट ती व्यक्तिसम्म पुग्ने बाटो खोज्यो । मध्यरात अनुसन्धान गरेर उक्त खाता काठमाडौंको मैजुबहालबाट चलाइएको पत्ता लाग्यो । एक व्यक्तिको नाममा दर्ता रहेको वाईफाई फेला पर्‍यो । ती व्यक्ति पनि कैलालीकै थिए ।

‘कि त थारु त्यहाँ छन् नत्र उनको खाता सञ्चालन गर्ने व्यक्ति त्यहाँ हुन सक्छन् भन्ने हाम्रो अनुमान थियो’, अनुसन्धान अधिकारी भन्छन् । थारुको तस्विर पनि प्रहरीसँग थियो । सादा पोसाकका प्रहरी टोली मैजुबहालस्थित उक्त घरमा पुग्यो । ढोका खोलेर हेर्दा थारुको अनुहारसँग मिल्ने व्यक्ति त्यहाँ थिएनन् । बरु कोठाभित्र भएका व्यक्तिले प्रहरी देख्ने वित्तिकै ल्यापटप फुटाए । मोबाइल पनि फुटाए । त्यहाँ घम्साघम्सी भयो ।

प्रहरीको टोली कैलालीका दिनेश खड्का भन्ने ती व्यक्तिलाई नियन्त्रणमा लिन सफल भयो । प्रहरीले खड्काको कोठाबाट ३४ वटा सिमकार्ड बरामद गर्‍यो । एउटा डायरी पनि भेट्टायो ।

‘डायरीमा एउटै मितिमा ९ करोड रुपैयाँसम्म कारोबार भएको हिसाब देखियो । उनले हरेक दिनको हिसाब डायरीमा लेखेका रहेछन्’, अनुसन्धान अधिकारी भन्छन् । अनुसन्धानका क्रममा खड्काले विभिन्न तीन व्यक्तिको नाममा ६० भन्दा बढी बैंक खाता र वालेट खोलेको पाइयो ।

‘२९ वटा बैंक खाताको मात्र हिसाब हेर्दा ६४ करोड रुपैयाँको कारोबार भएको देखिन्छ । ती बैंक खातामा प्रयोग भएका मोबाइल नम्बरका सिमकार्डहरु खड्काको साथबाट बरामद भएका छन्’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

दिनेश तिनै व्यक्ति हुन् जसविरुद्ध २ वर्षअघि राजस्व अनुसन्धान विभागले ३७ करोड रुपैयाँभन्दा बढी बैंक कारोबार भएको देखिएपछि क्रिप्टोकरेन्सीमा अनुसन्धान गरी मुद्दा चलाएको थियो । त्यतिबेला उनले आफूसहित आफ्नी प्रेमिका र परिवारका सदस्यको नाममा खाता खोलेर कारोबार गरेको पाइएको दाबी गरिएको थियो ।

‘आफू फसिन्छ भन्ने डरले त्यहाँबाट छुटेपछि उनले अरु व्यक्तिको नाममा खाता खोलेर कारोबार गरिरहेका रहेछन् । उनी जब्बर आपराधिक मानसिकताका देखिन्छन् । बरु गोली हान, म केही भन्नेवाला छैन भन्छन्’, अनुसन्धान अधिकारीले भने । प्रहरीका अनुसार मोबाइल कम चलाउने खड्का कोठामा खाटसमेत नराखी बस्ने गरेका थिए ।

‘उनको चाँडै करोडपति बन्ने र विदेश गएर सेटल हुने लक्ष्य देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन् । उनीहरुका अनुसार खड्का वान एक्स बेटका ठूला एजेन्ट हुन् । उनले बेटिङ खेल्नेसँग सिस्टममार्फत पैसा लिने र जितेबापत भुक्तान गर्ने काम गर्ने गरेका थिए । एजेन्टहरुले पाउने कमिसन रकमबापत क्रिप्टो खरिद गर्ने र वान एक्सलाई तिर्नुपर्ने रकम पनि क्रिप्टोमार्फत भुक्तान गर्ने गरेको अधिकारीहरु बताउँछन् ।

‘वान एक्स र एजेन्टबीचको कारोबार कतिपय अवस्थामा हुन्डीमार्फत पनि भएको देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन् ।

केही समयअघि प्रहरीले भक्तपुरबाट वान एक्स बेटका एजेन्ट सुनिल चौगुठीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा सुनिलले आफूले बेटिङमा २२ लाख रुपैयाँ हारेपछि वान एक्स बेट आफैंले एजेन्ट बन्न प्रस्ताव गरेको बताएका थिए । ललितपुरबाट पक्राउ परेका अर्का एजेन्ट आदर्श ठाकुरले भने एजेन्ट बन्न वान एक्स बेटलाई आफैंले अप्रोच गरेको बताएका थिए ।

‘कोरोना महामारीको समयमा पैसा कमाउन मैले आफैंले अप्रोच गरेको थिएँ’, प्रहरीको सोधपुछमा उनले भनेका थिए । अनुसन्धानका क्रममा ठाकुरले विभिन्न व्यक्तिको नाममा वालेट र बैंक खाता खोलेको पाइएको थियो । उनले विभिन्न व्यक्तिका नागरिकताका प्रतिलिपि धेरै ठाउँबाट खरिद गरेको बताएको अनुसन्धान अधिकारीको दाबी थियो । वान एक्स बेटले खेलकुद प्रतियोगिताका खेलहरुमा बेटिङ गराउँदै आएको छ ।

साढे ४ लाख रुपैयाँ धरौटीमा एजेन्ट

अनलाइन बेटिङको अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार वान एक्स बेटले नेपालमा साढे ४ लाख रुपैयाँ धरौटीबापत रकम राखेपछि एजेन्ट बनाउने गरेको छ ।

‘तर, निकै विश्वासमा लिएपछि मात्र एजेन्ट बनाउने गरेको देखिन्छ । धरौटीबापत बुझाइएको रकम एजेन्टकै खातामा वान एक्स बेटले जम्मा गरिदिन्छ । जसमध्ये साढे २ लाख रुपैयाँसम्म एजेन्टले बेटिङ गर्नेहरुको नाममा प्रयोग गर्नसक्छ । एजेन्टले नै आफूलाई खेल्नेबाट पैसा प्राप्त भएपछि आफ्नो सिस्टमको खाताबाट उनीहरुको नाममा बेटिङ गर्न चाहेको रकम राखिदिने हो’, अनुसन्धान अधिकारी भन्छन् ।

वान एक्स बेटको एप्लिकेसनमा खेल्न चाहनेहरुले ई-सेवा, खल्ती, कनेक्ट आईपीएस जस्ता वालेटबाट दिइएको अकाउन्टमा पैसा जम्मा गर्न सक्ने सुविधा हुन्छ । त्यसरी दिइएको अकाउन्ट एजेन्टहरुको हातमा हुने गर्छन् ।

‘त्यसैले विभिन्न वालेट र बैंकहरुले निगरानी बढाएमा मात्र यसलाई नियन्त्रण गर्न सम्भव छ । वार्षिक ५ लाख रुपैयाँ कारोबार हुने भनेर खोलिएका अकाउन्टमा करोडौं रुपैयाँ कारोबार हुँदा पनि सम्बन्धित निकायहरु चुप लागेर बसेको देखिन्छ । अझ वान एक्स बेटले खल्ती, ई-सेवा, कनेक्ट आईपीएसबाट पैसा तिर्न सकिने भनेर आफ्नो सिस्टममै राखेका छन्’, एक अधिकृत भन्छन् । नेपालमा जुवा र सट्टेबाजी खेल्न प्रतिबन्ध छ ।

‘वान एक्स बेट अवैध हो भन्ने थाहा थिएन’

वान एक्स बेटको प्रोमो कोड प्रयोग गरेको भन्दै प्रहरीले चर्चित कलाकार, भ्लगर र यूट्युबरहरुलाई पक्राउ गरेको छ । उनीहरु दुई सातादेखि प्रहरी हिरासतमा छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकारहरु बल्छी धुर्वे, राजु मास्टर, यूट्युबर एलिस राई, भ्लगर राजकुमार तामाङसहित ९ जनालाई वान एक्स बेट खेल्न प्रोत्साहित गरेको आरोपमा पक्राउ गरेको छ । उनीहरुका सामाजिक सञ्जालमा लाखौं फलोअर्स छन् । प्रहरीका अनुसार उनीहरुले आफ्ना यूट्युब सामग्रीमा वान एक्स बेट प्रोमो कोड प्रयोग गरेका थिए । आफ्ना भिडियो सामग्रीमा केही सेकेन्ड कलाकारहरु आफैंले वान एक्स बेट एप्लिकेसन डाउनलोड गरेर बेटिङ गर्न सकिने भन्दै बोलेका थिए भने त्यसको तल एप्लिकेसन डाउनलोड गर्ने लिङ्क पनि दिइएको थियो ।

‘एउटा सामग्रीमा त्यसरी प्रोमो कोड प्रयोग गरेबापत कम्तिमा ३० हजार रुपैयाँसम्म लिएको उनीहरुले स्वीकार गरेका छन्’, अनुसन्धान अधिकारी भन्छन् । यूट्युबमा धेरै हेरिने सामग्रीका च्यानलहरु प्रोमो कोडका लागि प्रयोग गरेको देखिएको छ ।

पक्राउ परेका कलाकारहरुका अनुसार उनीहरुलाई नै वान एक्स बेटले इमेल गरेर प्रोमो कोड प्रयोग गर्न र त्यसबापत रकम दिने बताएको थियो ।

‘प्रधानमन्त्रीले नै उद्घाटन गरेको क्रिकेट प्रतियोगितामा यस्तै कम्पनीले विज्ञापन गरेको थाहा पाएकाले यसको कानूनी पाटोबारे बुझ्ने काम भएन । कलाकारलाई पारिश्रमिक दिन सहयोग पुग्छ भनेर राम्रै नियतले प्रोमो कोड प्रयोग गरिएको हो । यसरी अप्ठेरो पर्ला भन्ने थाहा थिएन’, राजु मास्टरले प्रहरीसँगको सोधपुछमा भनेका थिए ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिनुअघि यूट्युबमा प्रोमो कोड प्रयोग भएका सामग्रीहरुलाई डाउनलोड गरेको थियो । अझै थुप्रै यूट्युबरहरु प्रहरीको खोजीमा छन् ।

अर्कोतर्फ आवश्यक सचेतना फैलाउने काममा ध्यान नदिई चर्चित कलाकारहरुमाथि प्रहरीले कानूनको डन्डा चलाएको भन्दै आलोचना पनि भइरहेको छ ।

‘उस्तै नाम गरेका कम्पनीका विज्ञापनहरु विभिन्न प्रतियोगितामा भइरहेको देखिन्छ । राष्ट्र बैंककै निगरानीमा रहेका विभिन्न पेमेन्ट गेटवेबाट पैसाको कारोबार भएको देखिन्छ । अनि प्रोमो कोडहरु प्रयोग गरेको भनेर कलाकारहरुमाथि डन्डा चलाउने काम भइरहेको छ । सबै पैसा कलाकारले त्यसैगरी कमाएका हुन् भने जसरी प्रचार गरिएको छ’, नाम उल्लेख नगर्ने सर्तमा एक कलाकार भन्छन् ।

अनुसन्धान अधिकारीहरु भने वान एक्स बेट प्रचारमा यूट्युब सामग्रीको ठूलो भूमिका रहेको बताउँछन् ।

‘अघिल्ला घटनाहरुमा पनि यूट्युबरले खुलेआम प्रचार गरेको तर नियन्त्रणमा नलिएको भन्दै आलोचना भइरहेको थियो’, ती अधिकारी भन्छन् । प्रोमो कोड प्रयोग गरेका अन्य यूट्युबरले आफ्ना सामग्री हटाइसकेको हुन सक्ने अनुसन्धान अधिकारीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर