एमाले सचिव भट्टको आरोप- गेटामा विश्वविद्यालय बनाउन नदिन मेडिकल माफिया लागे – Nepal Press

एमाले सचिव भट्टको आरोप- गेटामा विश्वविद्यालय बनाउन नदिन मेडिकल माफिया लागे

कैलाली । नेकपा एमालेका सचिव लेखराज भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन नदिन मेडिकल माफिया लागिपरेको बताएका छन् ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय सरकारले मेडिकल माफियाको दबाबमा विश्वविद्यालय संचालन गर्न नसकेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधामन्त्री हुँदा विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाए पनि सरकार ढलेपछि प्रक्रिया नै रोकिएको भट्टको भनाइ थियो । ‘एमालेकै अगुवाइमा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको थियो’, उनले भने, ‘अहिले मेडिकल विश्वविद्यालय बन्न नदिन माफियाहरुले चलखेल गरे । सरकार तिनको दबाबमा पर्यो ।’

आजै भट्ट सहितको टोलीले मेडिकल कलेजको निरीक्षण समेत गरेको थियो । निरीक्षणका क्रममा उनले सरकार गम्भीर नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । एमाले प्रदेश अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले पनि सरकार विश्वविद्यालय बनाउने विषयमा गम्भीर नभएको बताए । कांग्रेसबाट गेटामा विश्वविद्यालय नबानाउने खेल भएको उनको आरोप थियो ।

‘काङ्ग्रेसका प्रदेश सभापतिले संसद बैठकमै विश्वविद्यालय यहाँ अहिले आवस्यक छैन भन्नुहुन्छ’, उनले भने, ‘कांग्रेस नै अहिले यहाँ विश्वविद्यालय नबनाउने खेलमा लागेको देखिन्छ ।’’

एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिंह रावलले तत्काल सरकारले विश्वविद्यालय संचालन प्रक्रिया अगाडि नबढाए सदन र सडक तताउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर