गौशाला २६ को क्षतिपूर्ति निवेदनमाथि आज सुनवाइ हुँदै, नर्भिक अस्पतालको प्रतिवेदनमा के छ ? – Nepal Press

गौशाला २६ को क्षतिपूर्ति निवेदनमाथि आज सुनवाइ हुँदै, नर्भिक अस्पतालको प्रतिवेदनमा के छ ?

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनमाथि आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुँदैछ । क्षतिपूर्तिको निर्क्यौल नहुँदा मुद्दाको फैसला निरन्तर पछि धकेलिइरहेको थियो ।

गौशालाको निवेदन आज जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पहिलो नम्बरमै पेशी चढेको छ । क्षतिपूर्तिको विषय टुंगिएपश्चात मुख्य मुद्दाको फैसला गर्न बाटो खुल्नेछ । मुद्दाको पेशी आगामी २९ असारमा तोकिएको छ ।

गौशाला २६ ले सुरूमा सन्दीपबाटै क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै जिल्ला अदालतमा निवेदन दिएकी थिइन् । स्रोतका अनुसार १० लाख रूपैयाँ एकमुष्ट क्षतिपूर्ति र मासिक ५० हजार रूपैयाँ भरणपोषण खर्च सन्दीपले दिनुपर्ने उनको माग थियो । तर, मुद्दा फैसला हुने चरणमा रहेको हुँदा न्यायाधीशले उक्त माग अस्वीकार गरेका थिए । पाटन उच्च अदालतले पनि क्षतिपूर्तिका विषयमा कुनै आदेश दिएको थिएन ।

तर, थुनछेक आदेशसम्बन्धी फैसलाको पुनरावेदनमा सर्वोच्च अदालतले गौशालालाई पीडित राहत कोषबाट अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको छ । सर्वोच्चको सोही आदेश लिएर फेरि गौशाला २६ ले जिल्ला अदालतमा अर्को निवेदन दिएकी हुन् । उनले यो निवेदनमा क्षतिपूर्ति रकम खुलाएकी थिइनन् । तर, जिल्ला अदालतले उनलाई उपचार खर्चको बिल भर्पाइ पेश गर्न आदेश दियो । त्यसपछि गौशाला २६ का वकिलहरूले करिब ३६ हजार रूपैयाँको बिल बनाएर पेश गरेका छन् । ती विलहरु घाउचोटको उपचारका नभएर मनोपरामर्श सेवा लिएवापतका हुन् ।

नर्भिक अस्पतालका मनोपरामर्शदातासँग एउटा भिजिटको ३ हजार रूपैयाँका दरले १० वटा भिजिटको ३० हजार र औषधिको ६ हजार जतिको बिल पेश गरिएको थियो । तर, जिल्ला अदालतले ती बिलहरूको क्रस चेकका लागि डाक्टरको विस्तृत रिपोर्टसमेत मगायो । स्रोतका अनुसार नर्भिक अस्पतालले दिएको प्रतिवेदन र गौशाला २६ ले पेश गरेको बिलमा उल्लेखित दररेट मेल खाएको छैन । अस्पतालले एउटा मेडिकल कन्सल्टेसनको एक हजार र काउन्सीलिङको १५ सय रूपैयाँ लाग्ने रिपोर्ट दिएको छ ।

आजको सुनवाइपश्चात क्षतिपूर्ति दिन पर्ने वा नपर्ने विषयमा न्यायाधीशले आदेश दिन सक्ने छन् । सन्दीपका वकिलहरूले भने बलात्कार भएको ठहर नै नभइकन क्षतिपूर्ति दिन नमिल्ने बताइरहेका छन् ।
सन्दीप भने अहिले जिम्बाबेमा छन् । सर्वोच्च अदालतमा पेशी सार्न निवेदन दिएर उनी राष्ट्रिय टीमबाट क्रिकेट खेल्न जिम्बाबे गएका हुन् । उनी असार २४ मा फर्किने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर