विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने तयारीमा मुख्यमन्त्री कार्की – Nepal Press

विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने तयारीमा मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारले विश्वासको मत लिने प्रयोजनका लागि असार १४ गते एक बजेलाई विशेष अधिवेशन वोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने तयारी गरेको छ । सरकारमा रहेको सत्ता साझेदार दल जनता समाजवादी र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यहाँ हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रदेशसभामा १ सीट रहेको जसपा जेठ १७ गते सरकारबाट फिर्ता भएको थियो । जसपाकी निर्मला तावा लिम्बू स्वास्थ्यमन्त्री थिइन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएकव ३० दिनभित्र पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले विशेष अधिवेशन बोलाउन सिफारिसको तयारी गरेको हो । मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आजै प्रदेश प्रमुखलाई अधिवेशन बोलाउन सिफारिस गरिनेछ ।

माओवादी केन्द्रले पनि हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । माओवादीले जेठ ३० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ ।

अहिले कोशी प्रदेश सरकारलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्रै समर्थन रहेको छ । ९३ सदस्य रहेको प्रदेश सभामा बहुमत पुर्‍याउन ४७ सीट आवश्यक पर्दछ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीको (सभामुखसहित) १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ सांसद छन् । सरकार बनाउनदेखि टिकाउनका लागि ४७ सांसद आवश्यक पर्छ । राप्रपाले साथ दिइरहेको खण्डमा एमालेलाई ४६ सांसद पुग्छ । थप सरकार टिकाउन एक सांसद आवश्यक पर्छ । अल्पमतमा परेको हिक्मत कार्की नेतृत्वको सरकार अन्य दलहरूलाई फकाउने र बहुमत पुर्‍याउने तयारीमा एमाले लागेको छ । तर, अहिलेसम्म यो तयारी परिपक्क नभएको एमाले नेताहरू बताउँछन् ।

‘केही तयारीहरू भएका छन्, तर मूर्तरूप लिने सम्भावना भने न्यून रहेको छ’, एक नेता भन्छन् ।

एमाले संसदीय दल कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारले विश्वासको मत लिनैपर्ने भएकाले सरकार टिक्ने ग्यारेन्टी नभए पनि विधि र कानून मान्न अधिवेशन बोलाउने तयारी गरेको बताए ।

सरकार अल्पमतमा परेसँगै चालू रहेको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याइएको थियो । अधिवेशनको अन्त्य भएकाले विश्वासको मत ल्याउने प्रयोजनका लागि विशेष अधिवेशन बोलाउनुपरेको भण्डारीले बताए ।

प्रदेशमा गठबन्धनमा रहेका दलहरू पनि सरकार गठनका लागि बहुमत जुटाउने कसरतमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर