नागरिकताले दिलाएको खुशी (फोटो/भिडिओ) – Nepal Press

नागरिकताले दिलाएको खुशी (फोटो/भिडिओ)

रुपन्देही । बुवाआमाको नागरिकता भएर पनि नागरिकता नपाएका रुपन्देहीको सिनपा ४ गणेश धोबीले आइतबार नयाँ व्यवस्थाअनुसार नागरिकता पाए ।

०६३ पुस १० मा जन्मेका उनले जिल्ला प्रशासन कार्यालय भैरहवाबाट नागरिकता लिएका हुन् । नागरिकता पाउने उमेर पहिले भए पनि उनले पाउन सकेका थिएनन् ।

नागरिकता नहुँदा धेरै काम गर्न पाएको थिएन, मोबाइलको सिम, लाइसेन्स निकाल्न पाइएको थिएन, जागिर खाने ठाउँमा नि नागरिकता नभए नहुने, विदेश जाँदा पनि चाहिने, स्कुल कलेजमा नि चाहिने तर यो नहुँदा धेरै समस्या थियो, आजबाट मुक्त भए– उनले भने ।

सिनपाकै साबिर अली तेली ०६० पुस ४ मा जन्मेका हुन् । उनले पनि अहिलेसम्म नागरिकता पाउन सकेका थिएनन् ।

आइतबार नागरिकता पाएपछि उनको खुसीको सीमा थिएन । उनीसँगै साथ पुगेका सिनपाकै दीपक धवलले पनि आइतबार नयाँ कानुनअनुसार नागरिकता लिएका हुन् ।

यसरी नागरिकता लिनेहरूलाई आवश्यक कागजपत्र धेरै जुटाउनुपर्ने भए पनि वडा, नगर तथा गाउँपालिकामा सिफारिस र सहयोग पाएको बताए ।

रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय भैरहवा र इलाका प्रशासन कार्यालय बुटवल तथा मझगावाबाट नागरिकता लिन पाइने छ ।

प्रशासनले भैरहवाबाट दैनिक २ सय र इलाकाबाट १-१ सय गरी २ सय बनाइ एकदिनमा जम्मा ४ सय जनालाई नागरिकता दिने योजना बनाएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

‘वडा, स्थानीय तहको सिफारिस, यसरी नागरिकता दिनका लागि आवश्यक कागजपत्रलाई विशेष ख्याल गरेका छौँ, यसको लागि समन्वय गर्ने स्थानीय सरकार, नागरिक समाज सबैको समन्वयमा यसलाई अगाडि बढाउने छौँ’, पाण्डेले भने ।

जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने नयाँ व्यवस्थाको कार्यान्वयन लुम्बिनी प्रदेशमा रहेका तराई ६ जिल्लामा सुरुवात भएको छ । गएको बिहीबार सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खुला गरिदिएपछि नयाँ व्यवस्थाअनुसार यी जिल्लाहरूमा नागरिकता दिन थालिएको हो । यहाँका जिल्ला प्रशासनले यसका लागि शुक्रवारदेखि नै सूचना निकाले प्रक्रिया थालेका हुन् ।

६ जिल्लामै शुक्रवारदेखि नै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरणको प्रक्रिया थालिएको थियो । केहीले शुक्रवार नै सूचना जारी गरेका थिए भने केही आजबाट काम थाल्ने गरी सूचना प्रकाशन गरेका थिए ।

बाँके, बर्दिया, नवलपरासी, रुपन्देही, दाङ र कपिलवस्तु प्रशासनले सिफारिसका लागि सबै पालिकालाई पत्राचार गरेर सबै वडाध्यक्षलाई पत्राचार गरी सिफारिस गर्दा विशेष ध्यान दिन सचेत गराएका छन् ।

जन्मसिद्धका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने स्पष्ट व्यवस्था ऐनमा भएकाले नियमावली पर्खन नपर्ने गृह मन्त्रालयले दिइसकेको छ ।

लामो समयदेखि विवादमा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनको बाटो खुला भएको हो । नयाँ कानुनले जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुला गरेको छ ।

२०४६ चैतसम्म नेपालभित्र जन्मिएका व्यक्तिले २०६४ को संविधानसभा चुनावअघि निवेदन दिएका आधारमा नेपालको जन्मसिद्ध नागरिकता पाएका थिए । तर, त्यतिबेला तिनका सन्तानको विषयमा कुनै व्यवस्था गरिएको थिएन, यो ऐनले जन्मसिद्धका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ ।

ऐनमा ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भनिएको छ ।

नागरिकता ऐनमा गरिएको नयाँ व्यवस्थाअनुसार करिब ५ लाखले नागरिकता लिने अनुमान छ । नयाँ ऐनले आमाका नामबाट पनि नागरिकता प्राप्त गर्ने बाटो खुकुलो गरेको छ तर त्यसका लागि बाबुका विषयमा आमाले स्वघोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था पनि राखेको छ ।

यो कानुनअनुसार नेपालको नागरिक आमाबाट नेपालमा नै जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको बाबुको पहिचान हुन नसकेको बेहोराको निज र निजको आमाले तोकिएबमोजिमको स्वघोषणा गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर