बजेटमार्फत स्वर्णिम काठमाडौंको परिकल्पना: आगामी वर्ष यस्तो बन्नेछ बालेनको शहर – Nepal Press

बजेटमार्फत स्वर्णिम काठमाडौंको परिकल्पना: आगामी वर्ष यस्तो बन्नेछ बालेनको शहर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोलले सार्वजनिक गरेको बजेटमा स्वर्णिम काठमाडौंको परिकल्पना गरिएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको बजेटले हरेक क्षेत्रमा स्वर्णिम बनाउने सपना देखेको छ ।

काठमाडौं महानगरपालिकाका योजनालाई महानगर गौरवका आयोजना, महानगर स्वर्णिम आयोजना र प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गरिएको छ । महानगरपालिकाले सामाजिक विकासको मुख्य कार्यक्रमको रुपमा ‘रोजगारी र आयवृद्धि, महानगरको समृद्धि’ कार्यक्रमलाई अघि सारेको छ । यसका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘मेरो रहर, हरित शहर’ लाई महानगर गौरवको योजनाको रुपमा कार्यान्वयन गर्ने बताएको महानगरले यस कार्यक्रममार्फत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षारोपणसम्बन्धी कार्य अभियानकै रुपमा सञ्चालन गर्ने बताएको छ । यो अभियानका लागि ५० करोड रुपैयाँ छुट्याइएको छ ।

साथी महानगर, स्वर्णिम योजनाले महानगरवासीको सुखदुःखमा साथ दिन त्यस्ता खालको कार्यक्रम सञ्चालन गर्न २ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै ठमेल क्षेत्रलाई पर्यटक हबको रुपमा विकास गर्ने गुरुयोजना अघि सारिएको छ । काठमाडौं शहरलाई सफा राख्न सरसफाइ कार्यमा प्रयोग हुने सवारीसाधन तथा यन्त्र उपकरणको खरिदका लागि २७ करोड रुपैयाँ छुट्याइएको छ ।

महानगर क्षेत्रभित्रका नदीहरुको नियमित सरसफाइ गरी नदी किनार क्षेत्रसमेतको संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाको रुपमा सञ्चालन गर्ने बताइएको छ । यसका लागि ७ करोड रकम विनियोजन गरिएको छ । वडा समितिको कामलाई प्रभावकारी र नागरिकमैत्री बनाउन केही योजना तथा कार्यक्रम वडा तहबाट नै सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ । यस्ता कार्यक्रम सञ्चालन गर्न २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रकम छुट्याइएको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्न दैनिक १६ घण्टासम्म कार्यालय सञ्चालन गरिनेछ । महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) सञ्चालनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । यसका लागि १ करोड ४४ लाख रुपैयाँ छुट्याइएको छ ।

यसले सबैले आवश्यक पर्दा एम्बुलेन्स सेवा लिन सक्ने महानगरले जनाएको छ । यसैगरी विभिन्न गाउँपालिकालाई ३५ वटा एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गर्ने योजना महानगरको छ । ‘उज्यालो शहर, मेरो महानगर’ योजनाअन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने कान आगामी वर्ष हुनेछ । महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरुमा हाइमास्ट लाइटको व्यवस्था गरिँदैछ । यसका लागि महानगरले ३० करोड रुपैयाँ खर्च गर्नेछ ।

महानगर क्षेत्रभित्रका युवा जनशक्तिलाई ‘श्रम बैंक’ स्वर्णिम योजनामा आवद्ध गराइनेछ । यसमार्फत सीप तथा क्षमता विकास गर्ने महानगरको उद्देश्य छ । निःशुल्क कानूनी सेवा प्रवाह पनि गरिने उपमेयर सुनिता डंगोलले बताइन् । महानगर क्षेत्रभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रुपमा सुन्दर तथा जीवन्त बनाइराख्ने उद्देश्यले सञ्चालित ‘सुन्दर महानगर योजना’अन्तर्गत थप २५ करोड रकम विनियोजन गरिएको छ ।

उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई-कमर्श पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनमा ल्याउने महानगरको योजना छ । यसका लागि १ करोड रुपैयाँ छुट्याएको छ ।

महानगरलाई सुरक्षित बनाउन मुख्य सडक, चोक तथा गल्लीसमेतमा सीसीटीभी जडान गर्ने योजना अघि सारिएको छ । महानगरपालिकाको २० वर्षे रणनीतिक योजना ‘मिसन २१००’ पनि अघि सारिएको छ । महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूल परीक्षण गर्न विषादी परीक्षण प्रयोगशाला पनि स्थापना गरिने भएको छ । यसका लागि १ करोड ५० लाख रकम छुट्याइएको छ ।

यस्तै पछिल्लो समय सहकारीमा देखिएको समस्या समाधानको विषयले पनि महानगरको बजेटमा ठाउँ पाएको छ । संकटग्रस्त सहकारी व्यवस्थापन गर्न संस्थागत संयन्त्र निर्माण गरेर परिचालन गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर