भारत र पाकिस्तानसँग भिड्नुअघि विश्वकप छनोटबाट छताछुल्ल भएको नेपाली ब्याट्सम्यानको एउटा ‘कमजोरी’ – Nepal Press

भारत र पाकिस्तानसँग भिड्नुअघि विश्वकप छनोटबाट छताछुल्ल भएको नेपाली ब्याट्सम्यानको एउटा ‘कमजोरी’

काठमाडौं। नेपाली क्रिकेट टोलीका लागि जिम्बावेमा जारी एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटमा सहभागिता नै अनपेक्षित थियो। तीन महिनाअघि विश्वकप लिग-२ खेलिरहँदा नेपालका लागि शीर्ष ४ भित्र रहेर एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नु सामान्य थिएन।

प्रतियोगितामा १२ खेल खेल्न बाँकी रहँदा नेपाल सहभागी ७ टोलीमध्ये छिटौँ स्थानमा थियो। तर प्रशिक्षकमा मन्टी देशाईंको इन्ट्री र राष्ट्रिय टोलीमा सन्दीप लामिछानेको पुनरागमनले नेपाली क्रिकेट एकपछि अर्को सफलता प्राप्त गर्न सफल भयो।

अन्तिम खेलमा यूएईसँग भिड्नुअघि नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पक्का गर्‍यो। अन्तिम खेलमा पनि जित हात पार्दै तालिकाको शीर्ष तीन भित्र रहेर नेपालले जिम्बावे यात्रा तय गरेको हो। त्यतिबेला नेपालले विश्वकप लिग-२ का पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो।

पछि, एक खेल नहारी एसीसी प्रिमियर कप पनि जितेकाले नेपाली टोलीमाथि अपेक्षा थप बढेको थियो। तर सहभागी १० मध्ये २ टोली मात्र विश्वकप पुग्ने भएकाले विश्वकप छनोटमा नेपालबाट अपेक्षा गर्नु ‘रियालिस्टिक’ थिएन।

जिम्बावे, वेस्ट इन्डिजजस्ता टोलीसँग पहिलो चरणमै भेट हुनु नेपालका लागि जितभन्दा बढी अनुभव प्राप्त गर्ने गतिलो अवसर थियो। किनभने, एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टेस्ट मान्यताप्राप्त टोलीसँग यसअघि खेलेको थिएन। समूहमा बाँकी दुई टोली नेदरल्यान्ड्स र अमेरिका रहेकाले नेपालले बढीमा सुपर सिक्ससम्मको अपेक्षा गर्न सक्थ्यो।

तर त्यो पनि त्यति सजिलो थिएन। नेदरल्यान्ड्सले पछिल्लो ४ वर्ष सुपर लिगको अनुभव गर्दै टेस्ट मान्यताप्राप्त टोलीहरूसँग खेलिरहेको थियो। अन्ततः नेपालले अमेरिकासँग मात्र जित हात पार्न सक्यो। तीनवटा खेल गुमाएर नेपाल सुपर सिक्स नपुग्ने निश्चित भयो।

गर या मरको खेलमा शनिवार नेपाली टोली, नेदरल्यान्ड्ससँग पहिला ब्याटिङ गर्दै १ सय ६७ रनमा समेटिएको थियो। त्यसभन्दा अघिको खेलमा वेस्ट इन्डिजसँग ३ सय ४० रनको लक्ष्य पछ्याउँदा नेपाली टोली २ सय ३८ रनमा समेटिएको थियो।

वेस्ट इन्डिज र नेदरल्यान्ड्सले पछ्याएको एउटै सूत्र

वेस्ट इन्डिजसँगको हारपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले पोस्ट म्याच कन्फेरेन्समा बोल्दै आगामी खेलमा सर्ट बललाई ट्याकल गर्नुपर्ने पाठ सिकेको बताएका थिए।

नेपालका अधिकांश भरपर्दा ब्याट्सम्यान वेस्ट इन्डिजको सर्ट पिच बल धरापमा परेका थिए। त्यसका लागि वेस्ट इन्डिजले निरन्तर फास्ट बलर प्रयोग गर्दै सर्ट पिच बल फ्याँक्न लगाएको थियो। नेपाली ब्याट्सम्यानले सर्ट बलमा आवश्यक अन्दाज लगाउन सकेनन् जसका कारण बल ब्याटमा छोएर फिल्डरको हातमा पुगेको थियो।

यो खेलमा नेपालका ९ जना ब्याट्सम्यान क्याच आउट भएका थिए। वेस्ट इन्डिजविरुद्ध नेपाली ब्याट्सम्यानको कमजोरीलाई राम्रोसँग नियालेको नेदरल्यान्ड्सले शनिवार त्यही सूत्र प्रयोग गरेको थियो। नेदरल्यान्ड्सको एकपछि अर्को सर्ट पिच बल आक्रमणमा नेपाली ब्याट्सम्यान शिकार भइरहे।

खेलपछि नेपाली कप्तान रोहितले वेस्ट इन्डिजसँग सिकेको पाठलाई राम्रोसँग कार्यान्वयन गर्न नसकेको बताए। सर्ट पिच बलमा कमजोर देखिएकोबारे रोहितले पोस्ट म्याच कन्फेरेन्समा भने, ‘हामीसँग योजना थियो तर कार्यान्वयन गर्न सकेनौँ। हामीले सिक्नु आवश्यक छ र घर फर्किएर त्यो क्षेत्रमा कसरी काम गर्नुपर्छ भनेर हेर्नुपर्छ।’

नेदरल्यान्ड्सविरुद्ध विरुद्ध पनि नेपालका ९ जना ब्याट्सम्यान क्याच आउट भएका थिए। अधिकांश सर्ट पिच बलको शिकार भएका थिए। नेपालले दुई महिनापछि एसिया कप खेल्दै छ। त्यहाँ पहिलो चरणमै नेपालको भेट भारत र पाकिस्तानसँग हुने छ। त्यसअघि जिम्बावेमा प्राप्त गरेको अनुभव नेपालका लागि सुदृढ प्रदर्शन गर्न महत्त्वपूर्ण हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर