नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालको विश्वकप सपना सकियो, सुपर सिक्स पुग्न पनि असफल – Nepal Press

नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालको विश्वकप सपना सकियो, सुपर सिक्स पुग्न पनि असफल

काठमाडौं । जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा पुर्णविराम लागेको छ ।

यदि आज नेदरल्यान्ड्सलाई पराजित गरेको खण्डमा नेपाल सुपर सिक्स पुग्ने समीकरण थियो ।

टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै सुपर सिक्समा स्थान पक्का गर्यो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ‘ डोवाडले सर्वाधिक ९० रनको उत्कृष्ट इनिङ खेले । उनले गुलशन झाको बलमा बोल्डहुनु अघि, ७५ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे । विक्रमजित सिंह ३० रनमा पभेलियन फर्कँदा, बास डी लिड ४१ रनमा अविजित रहे ।

नेपालको बलिङमा सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिए ।

यसअघि, नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन जोडे । कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन योगदान गर्दा भीम सार्की २२ रन, गुलशन झा १५ रन, दीपेन्द्रसिंह ऐरी १४ रन र कुशल भल्ल १२ रन योगदान गरेर पेभेलियन फर्किएका थिए ।

नेदरल्यान्ड्सको बलिङमा लोगान भान विकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए । बास दी लिदी र विक्रमजित सिंहले दुई/दुई विकेट लिँदा क्लेटन फ्लाृइड र आर्यन दत्तले समान एक विकेट लिए ।

नेपाललाई हराएसँगै समूह ए बाट नेदरल्यान्ड्ससँगै वेस्ट इन्डिज र जिम्बाबे सुपर सिक्समा पुगेका छन् । भने, समूह बी बाट श्रृलंका, स्कटल्यान्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।

विश्वकप छनोटको पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । भने, तेस्रो खेलमा जिम्बाबेसँग १ सय १ रनको हार बेहोरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर