लुम्बिनी : सत्ता पक्षकै सांसदका योजनामा अर्थमन्त्रीको कैँची, विवाद सल्टाउन सदन सारियो – Nepal Press

लुम्बिनी : सत्ता पक्षकै सांसदका योजनामा अर्थमन्त्रीको कैँची, विवाद सल्टाउन सदन सारियो

सांसदहरू भन्छन्- यथास्थितिमा बजेट पास हुन दिन्नौँ, टेबल ठोक्न मात्र आएका होइनौँ

रुपन्देही । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले पेश गरेको आगामी वर्षको बजेटमा सत्ता पक्षकै सांसदहरूले गम्भीर असहमति जनाउँदै यथास्थितिमा बजेट पास हुन नदिने घोषणा गरेका छन् ।

उनीहरूले आफूहरूलाई योजना छनौट गर्न लगाएर लिस्ट माग्ने तर बजेटमा नसमेट्ने गरेर आफूहरूमाथि अन्याय गरेको बताउँदै यथास्थितिमा बजेट पास हुनै नदिने बताएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निकट नेपाली कांग्रेसका सांसद जमुना ढकालले आफैले पठाएका योजना काटिएर आएपछि यस्तो अवस्थामा बजेट पास हुन नसक्ने बताइन् ।

‘हामीले पठाएको भन्दा फरक आयो, रातो किताब हामीले पाएका छैनौ, पालिकामा खबर गएको छ, योजना काटिएका छन्, सशर्त अनुदानका काटिए, मेरै योजना काटिए, प्रमुख सचेतकलाई जानकारी गराएँ, मेरो आपत्ति छ। क्षेत्र विकास कोषकै योजना काटियो, काट्ने भए हामीलाई किन मागेको, हामीले पनि आफ्नो क्षेत्रका मतदातालाई भनेका छौँ नि, यी यी योजना गए भनेर । के जवाफ दिने ?’ उनले भनिन् ।

सांसद ढकालले भनिन्, ‘यथास्थितिमा बजेट पास हुन्न, हामी टेबल ठोक्न प्रदेश सभामा गएका होइनौँ, निर्णय गरेको कुरा कार्यान्वयन भएन भने कसरी जाने ? अर्थमन्त्रीले मिस्टेक भएको बताउनुभएको छ, योजना ढिलो आए भनेर टार्नुभयो तर हामीले समयमा दिएका थियौँ , मजस्तै धेरै माननीयले यस्तो गुनासो गर्नुभएको छ ।’

सांसदहरूले स्थानीय तह वित्त हस्तान्तरणतर्फको आयोजना तथा कार्यक्रम अर्थात् सशर्त अनुदानमा सत्ता गठबन्धनको सहमति विपरीतको बजेट आएको बताएका छन् । उनीहरूले भूगोल र जनसंख्याका आधारमा समान बजेट हुनुपर्नेमा मुख्य र अर्थमन्त्री केन्द्रित बजेट ल्याएको भन्दै गम्भीर आरोप लगाएका छन् ।

ढकालले अर्थमन्त्रालले एकल शैलीमा आफू अनुकुल बजेट ल्याएको भन्दै स्थानीय तहसँग समन्वय गरी पठाएका सशर्त अनुदानका योजना पूरै कटौती भएकाले त्यो नसच्चिँदासम्म बजेट पास हुन नसक्ने बताइन् ।

गुल्मीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद धनेन्द्र कार्कीले आफूले सिफारिस गरेका योजना काटिएको तर सिफारिस नै नगरेका योजना बजेटमा परेकाले बजेट कसले बनायो भन्ने प्रश्न उठेको बताए ।

‘हामीले गरेका योजना काटिएका छन्, सिफारिस नै नभएका योजना परेको सुनियो, खै सरकार कसले चलाएको छ ? बजेट कसले बनाएको छ ? हामीले मतदातालाई दिने जवाफ के हुने ? पार्टीका नेताहरुलाई बजेट सच्चाउन आग्रह गरेको छु’ उनले भने ।

अर्थमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ईन्द्रजीत थारुले सत्तारुढ दलकै सांसहरुबाट योजना नसमेटिएको गुनासो आएको तर यसको वास्तविकता आफूलाई जानकारी नभएको बताए ।

उनले बजेट संशोधनका लागि सभा स्थगित हुनु भनेको सरकारको अपरिपक्वता र गौरजिम्मेवारीपना व्यवहार रहेको बताउँदै उनले अब बजेट सच्चाउन सम्भव नरहेकाले दलहरु बसेर मिलाउनुपर्ने बताए ।

सत्तापक्षका केही सांसद र प्रतिपक्ष दलका सांसदहरूले मुख्यमन्त्री र अर्थमन्त्री आफू केन्द्रित रहेर ल्याएको बजेट र सशर्त अनुदानको बजेट पूर्ण रुपमा सच्चाएर मात्रै बजेट पास गर्न सरकार समक्ष माग गरेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सत्ता पक्षका संसदहरुले आफ्ना योजना नसमेटिएको विषय आएपछि मुख्यमन्त्री तथा अर्थमन्त्रीसँग कुरा गरेको तर दुवै जनाले सबैका योजना समेटिएको र बाहिर आएजस्तो नहुने बताएको जानकारी दिए ।

‘सबै योजना पर्ने त कुरा भएन, अर्थमन्त्रीसँग कुरा गरेको छु, मुख्यमन्त्रीसँग पनि कुरा गरेँ, त्यसो भएको छैन भन्ने कुरा भएको छ, अर्थमन्त्रीसँग गठबन्धनको सरकार हो, सबैलाई मिलाएर लैजाने बाध्यता बुझ्न आग्रह गरेको छ’, उनले भने ।

आइतबारको अधिवेशन अन्तिम समयमा स्थगित

सत्ता गठबन्धनको सहमति विपरीत बजेट आएपछि बढेको विवादले आइतबारको लागि बोलाइएको बजेटमाथिको पहिलो छलफल अन्तिम समयमा रोकिएको छ । बजेटमाथि छलफल गर्न प्रदेश सभाको आइतबार बस्ने दोस्रो अधिवेशनको बाह्रौ बैठक स्थगित भएको छ ।

आर्थिक बर्ष २०८०÷८१ का बजेटमाथिको छलफलको लागि आव्हान गरिएको बैठक स्थगित हुनुको प्रमुख कारण सत्ता पक्षको आन्तरिक मतभेद देखिएको छ ।

प्रदेश सभाको बैठक असार १३ गते बुधबारका लागि सारिएको छ । अर्थमन्त्रीको अनुरोधमा सभामुखको निर्देशनअनुसार विशेष कारणबश बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *