जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता लिन जिल्ला प्रशासन कार्यालयहरुले जारी गरे सूचना – Nepal Press

जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता लिन जिल्ला प्रशासन कार्यालयहरुले जारी गरे सूचना

जनकपुरधाम । नागरिकता विधेयक कार्यान्वयनमा आएसँगै जिल्ला प्रशासन कार्यालयहरुले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सूचना जारी गर्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता सिफारिस गर्ने सम्बन्धमा सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले गरेको पत्राचारमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकताको सिफारिस गर्दा अनुसुची १, बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, बुवा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटो सहितको नाता प्रमाणित प्रतिलिपी, बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपी, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित/किटानी सिफारिसको प्रतिलिपी लगायतका कागजात आवश्यक पर्ने उल्लेख छ ।

यस्तै पारिवारिक विवरण, बुवा आमाबीच विवाह दर्ता/विवाह प्रमाणित प्रतिलिपी, बुवा र आमाको मृत्यू भएको भए मृत्यूदर्ता प्रमाणपत्र प्रतिलिपी, बुवा र आमा वा सन्तानको नामको जग्गाधनी प्रमाण पुर्जा, मोहियानी हकको प्रमाणपत्र भए सो प्रमाण, शैशिक्षक प्रमाणपत्रको प्रतिलिपी, विद्युत/खानेपानी/टेलिफोनको विल लगायतका अन्य कागजात, घरधुरी प्रमाण पूर्जा तथा नक्सा पास र स्वीकृतिको प्रतलिपी, कम्तिमा २ जना वडा सदस्यसहित छिमेकीहरु गरी ५ जनाको वडा मुचुल्का र ०६३ को टोलीले नावालक दर्ता गरेको भए सोको निस्सा पनि पेश गर्नुपर्ने भनिएको छ ।

जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता प्राप्तिका लागि अनलाइन मार्फत टोकनका लागि आवेदन दिन सक्ने र टोकन प्राप्त भएको मितिमा आवश्यक कागजातसहित उपस्थित हुन सूचनामार्फित अपिल गरिएको छ ।

धनुषाका प्रजिअ दाहालले सर्वोच्चको आदेशको आधारमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने सूचनाहरु जारी गरेको बताए । उनले भने, ‘आज यहाँबाट कोही पनि जन्मसिद्धका सन्तानले नागरिकता पाएको छैन । आज सूचनाहरु जारी गरेका छौं । आईतवारबाट वितरण हुन्छ ।’

जिल्ला प्रशासन कार्यालय सिरहाले पनि नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न सूचना जारी गरेको छ । सूचनामा नागरिकताका लागि आवश्यक कागजात लिएर कार्यालयमा आजकै मितिबाट सम्पर्क गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आईतवारबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्ने तयारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जन्मका आधारमा नागरिकता प्राप्त गर्न आवश्यक पर्ने कागजात सम्बन्धी सूचना जारी गरेका हुन् ।

यता, जिल्ला प्रशासन कार्यालयहरुले जन्मसिद्धका सन्तानलाई नागरिकता लिन सूचना जारी गरेपनि स्थानीय तहका वडाध्यक्षहरुले सिफारिस गर्न नमानेको बुझिएको छ ।

सिरहाको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार जोशीले मन्त्रालयबाट कुनै सूचना नआएकाले जन्मसिद्धका सन्तानलाई नागरिकताको लागि सिफारिस गर्न नसकिने बताए । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *