चलाउनेको मुद्दामा कीर्तिपुर स्ववियुमा राजनीतिः सचिवले यसरी जुटाए बहुमत र आयो विरोधको विज्ञप्ति – Nepal Press

चलाउनेको मुद्दामा कीर्तिपुर स्ववियुमा राजनीतिः सचिवले यसरी जुटाए बहुमत र आयो विरोधको विज्ञप्ति

काठमाडौं । २०७७ असोज २० मा त्रिभुवन विश्वविद्यालयको परिसरमा समाजशास्त्रका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई नेपाल विद्यार्थी संघका नेता-कार्यकर्ताहरूले सांघातिक हमला गरे । हमलाको योजनाकारहरूमा हरि आचार्य र योगेन्द्र रावल भएको चलाउनेको किटानी छ भने आक्रमणकारी नाइकेमा रुपेश शाह र उनका सहयोगीहरूमा रविनकुमार लामा, सयुज श्रेष्ठ, निरज राना मगर र दीपकराज ओझा रहेका छन् ।

उपप्राध्यापक चलाउनेलाई त्रिवि परिसरमै हमला भएको झण्डै तीन वर्ष पुग्न पुग्न लाग्दा जारी भएको कानुनी लडाँइमा हुँदाहुँदै प्रचण्ड सरकराले गत जेठ २९ मा मुद्दा फिर्ता गर्ने क्याबिनेट निर्णय गर्‍यो । कांग्रेसबाट मन्त्री भएका धनराज गुरुङको प्रस्तावमा क्याबिनेटले उक्त निर्णय गरेको थियो । आजै सर्वोच्चले मुद्दा फिर्ता गर्न नहुने आदेश दिएको छ ।

यो त भयो सरकारदेखि अदालतको कुरा । त्रिवि मुख्यालयको स्ववियुमा पनि यस्तै राजनीति भएको छ । नेपाल विद्यार्थी संघबाट चुनाव जितेर सभापति भएका श्यामराज ओझाले विज्ञप्ति निकालेनन् । तर, नेपाल विद्यार्थी संघबाटै चुनाव जितेर सदस्य भएका प्रतिक पोखरेल सहितका ११ विद्यार्थीहरुले बहुमत पुर्‍याएर चलाउनेको न्यायको पक्षमा विज्ञप्ति निकाले ।

यसरी जुट्यो स्ववियुमा बहुमत

२१ सदस्य स्ववियुमा नेपाल विद्यार्थी संघ हाबी छ । सभापति, उपभापति, कोषाध्यक्षसहित ९ सीट नेपाल विद्यार्थी संघको छ । सचिव सिद्धान्त भट्टसहित ६ सदस्य अनेरास्ववियुको सीट छ । अनेरास्ववियू (क्रान्तिकारी) का दुई र स्वतन्त्र विद्यार्थी समूहका दुई छन् । यस्तै अनेरास्ववियुकै ब्यानरमा लडेका अखिल छैटौंका एक, समाजवादीका एक सीट छ । सभापति ओझाले चलाउनेको पक्षमा बोल्ने सम्भावना कम भएपछि सचिव भट्टले बहुमत विद्यार्थी भेला गरे । ११ जनाको बहुमत पुर्‍याएर उनले विज्ञप्ति निकाले ।

अनेरास्ववियुका छ जना, समाजवादीका एक जना, अखिल छैटौंका एक जना, स्वतन्त्र दुईजना र नेपाल विद्यार्थी संघका एक जना गरेर ११ पुग्यो ।

जुन अनुहारहरू यी हुन्

१. सिद्धान्त भट्टः सचिव

२. दिशेक कार्कीः सहायक सचिव

३. कल्पना खतिवडा

४. अर्जुन रेग्मी

५. रचना अधिकारी

६. पुरण पोखरेल

७. प्रतीक पोखरेल

८. सुस्मिता चालिसे

९. अशोक चौधरी

१०. संगम नकाल

११. शेरबहादुर कार्की

बहुमत सदस्य मिलेर स्ववियुको आधिकारिक बोली बोलेर निकालिएको विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयको कुलपति समेत रहेको प्रधानमन्त्रीले आफ्नै विश्वविद्यालयको उपप्राध्यापकको मुद्दा फिर्ता गर्नु गम्भीर गल्ती भएको बताइएको छ । विज्ञप्तिको अन्तिममा लेखिएको छ, ‘प्राध्यापक प्रेमबहादुर चलाउनेको न्यायका निम्ति एक भएर उभिन स्ववियु, विश्वविद्यालय क्याम्पस हार्दिक अपिल गर्दछ ।’

नेपाल प्रेसले सचिव सिद्धान्त भट्टसँग कुरा गर्दा भने उनले बहुमत पक्षको अभ्यास गरेको सार्वजनिकरूपमा स्वीकार गरेनन् । सभापति नभएकोले आफूले अरु साथीहरूसँग मिलेर अगुवाइ गरेको मात्रै भट्टको भनाइ छ ।

उनले भनेका छन्, ‘खास सभापति बाहिर जानुभएको थियो । पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि विज्ञप्ति निकालेको हो । अलि अगाडि निकाल्नुपर्ने विज्ञप्ति ढिलो हुन गयो । नङ र मासुको सम्बन्धमा रहेका विद्यार्थी र प्राध्यापकको विषयमा स्ववियुले विज्ञप्ति निकाल्नैपर्ने थियो ।’


प्रतिक्रिया

3 thoughts on “चलाउनेको मुद्दामा कीर्तिपुर स्ववियुमा राजनीतिः सचिवले यसरी जुटाए बहुमत र आयो विरोधको विज्ञप्ति

  1. राजनीतिक पार्टीका र उनका भ्रातृसंगठनहरूले अरूलाई कालोमोसो दल्ने निर्घात कुटपिट गर्ने र ज्यानै लिने सम्मको काम गर्न किन छुट दिन्छन् यो त सरासर मानवअधिकार विरोधी र दानविय अपराध हो ।

  2. त्रिभुवन विश्वविद्यालय, किर्तिपुर केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको वास्तविक व्यहोरा देखिएको हो। यश कुराले उनलाई धेरै पछाडी पार्ने निश्चित देखिन्छ।एउटा प्राध्यापक माथी जघन्य अपराध हुँदा चुइक्क बोल्न नसक्ने विद्यार्थि, प्रजातान्त्रिक हौ भनेर नथाक्ने प्राध्यापकको अनुहारमा देखिनेहरु कुलपति भन्नेले बोलेको सुनेका छन कि छैनन होला? धनराजको साधु र इमान्दार देखिने आवरणमा आएको हो नि मुद्दा फिर्ता लिने कुरा। अदालतको आदेश पछि नारायण काजी र धनराजले नैतिकता कतै छ भने राजीनामा दिन पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर