मन्त्री सिंहसहित तीनै जनाको दाहसंस्कार शनिवार गरिने – Nepal Press

मन्त्री सिंहसहित तीनै जनाको दाहसंस्कार शनिवार गरिने

कैलाली ।बझाङ दुर्घटनामा परी मृत्यु भएका सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजूको दाहसंस्कार शनिवार गरिने भएको छ ।

मन्त्री सिंहका जेठो कान्छा छोरा अमेरिकामा छन् । शुक्रवार सम्म उनी नेपाल आइपुग्ने र शनिवार स्वर्गीय सिंह दम्पती र उनकी भाउजूको दाहसंस्कार गरिने बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले जानकारी दिइन् । उनका अनुसार शनिवार सम्म उनीहरूको शव जिल्ला अस्पतालमा राखिने छ।

सिंहको पार्थिव शरीर धनगढीबाट बुधवार दिउसो हेलिकोप्टरमा बझाङ लगिएको थियो ।

बुधवार बिहानदेखि श्रद्धाञ्जलीका लागि धनगढीको रङ्गशालामा राखिएको स्वर्गीय मन्त्रीको शव मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रमुख, सर्वसाधारण, आफन्त र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र। ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

मन्त्रीसहित पाँच जना सवार रहेकोमा तीन जनाको मृत्यु भइसकेको छ । मन्त्रीका पीएसओ र चालक घाइते छन् ।

उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर