बाढीपहिरो पीडितलाई तत्कालै पुनर्वास गरियोस् : सांसद लिलादेवी बोखिम – Nepal Press

बाढीपहिरो पीडितलाई तत्कालै पुनर्वास गरियोस् : सांसद लिलादेवी बोखिम

काठमाडौं । सांसद लिलादेवी बोखिमले पूर्वी पहाडी ताप्लेजुङ, पाँचथर र संखुवासभाका बाढीपीडितलाई पुनर्वास गराउन माग गरेकी छन् ।

बुधबार गृह मन्त्रालयमा मनसुनजन्य विपदबाट जिल्लाहरूमा भएको क्षति विवरण आयोजित कार्यक्रममा उनले बाढी पीडितलाई पुनर्वास गर्नुपर्ने बताएकी हुन् ।

‘बाढीपहिरोबाट पीडितलाई तत्कालै खाद्यान्नको व्यवस्था गर्नुपर्छ’, उनले भनिन, ‘पीडितहरू अहिले पनि खुल्ला आकाश मुनि बस्नुपर्ने बाध्यता छ । सबैलाई पर्याप्त यथाशिघ्र आवश्यक टेन्ट पुर्याइयोस ।‘

ताप्लेजुङको अर्को जिल्लासँग सम्पर्क विच्छेद भएको सांसद बोखिमले जानकारी दिइन् । उनले तत्कालै मानिसलाई आवतजावत सहज बनाउन पुल निर्माण गर्न पनि आग्रह गरिन् ।

पीडितलाई स्वच्छ खानेपानीको अभाव भएकाले तुरुन्त आपूर्ति गर्नुपर्ने उनको भनाइ छ । खानेपानीको मुहान फोहोर र अभाव भएकाले स्वच्छ पानी पुर्याउन पनि उनले माग गरिन् । विस्थापित परिवारको स्वास्थ्य परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।

नेपालको पूर्वी भेगमा अविरल वर्षाका कारण प्रभावित आम जनजीवन र त्यसले पुर्याएको क्षति प्रति उनले दुःख व्यक्त गरिन् । ताप्लेजुङ, पाँचथर र संखुवासभा गरी तीन जिल्लालाई बाढीपहिरोले प्रभावित बनाएको थियो ।

पहिरो प्रभावित क्षेत्रका स्थानीयसँग निरन्तर सम्पर्कमा रहेको उनले धारणा व्यक्त गरिन् ।

पहिरो पीडितका लागि तत्काल राहत सामग्री संकलन र उद्धार कार्यका लागि पहल गर्न सरकारसँग माग गरिन् । बोखिम ताप्लेजुङ निवासी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *