किन घट्दैछ सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी ? – Nepal Press

किन घट्दैछ सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी ?

चितवन । भरतपुरमा नेपाल सरकारले नै नमुना घोषणा गरेको एउटा विद्यालय छ, नारायणी नमुना विद्यालय । यस विद्यालयमा हरेक वर्ष बैशाखमा नयाँ भर्ना हुन आउने विद्यार्थीको आवेदन मागभन्दा करिब दस गुणा बढी हुन्छ ।

यसवर्ष पनि दुई हजार ८०० जना विद्यार्थीले नयाँ भर्नाको लागि विद्यालयमा आवेदन दिएका थिए । जबकि कक्षा १ देखि ९ सम्म ३५० जनाको लागि मात्रै सीट खाली थियो ।

विद्यार्थी पढ्न तँछाडमछाड गर्ने यही भरतपुर महानगरभित्रका केही सामुदायिक विद्यालयको अब्बल नतिजा आउँदा प्राथमिक तह भने खस्किँदो देखिन्छ । यसको ज्वलन्त उदाहरण हो, चालू आर्थिक वर्षमा महानगरमा रहेका सामुदायिकतर्फको प्राथमिक विद्यालयको संख्या ४१ बाट घटेर ३४ मा आइपुग्नु ।

महानगर स्वयंले ७ वटा प्राथमिक विद्यालयको संख्या घटाएर ३४ मा झारेको हो । अन्य विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थी पठाउने गरी मिलान गरिएका ती विद्यालयहरुमा एउटा कक्षामा ५ जनाभन्दा कम विद्यार्थी हुने गरेको भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेल बताउँछन् ।

अन्य विद्यालयमा मिलान गरिएकोमध्ये एउटा विद्यालय भरतपुर- १६ मा रहेको वसुन्धरा प्राथमिक विद्यालय पनि हो । यस विद्यालयलाई सोही वडामा रहेको दुर्गा शेषकान्त माध्यमिक विद्यालय विजयनगरमा रहनेगरी समायोजन गरिएको छ । २०७९ साल फागुन २९ गते महानगरबाट अनुगमनमा गएको टोलीले ४९ जना विद्यार्थी विद्यालयमा भर्ना भएको पाएको थियो ।

महानगरपालिकाले २०७१ सालदेखि निरन्तर विद्यार्थी बढाउन पत्राचार गरेपछि विद्यालयले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म पढ्ने विद्यार्थी १०० जना पनि पु¥याउन सकेन । २०७१ सालमा ७८ जना भर्ना भएकामा विद्यार्थी संख्या घट्दै गएको अनुगमनका क्रममा विद्यालयको अभिलेखमा उल्लेख गरिएको छ ।

शिक्षा महाशाखा प्रमुख पौडेल एउटा कक्षामा कम्तिमा ५ जना पनि विद्यार्थी नभएपछि विद्यालय बन्द गराउने निर्णय गरेको बताउँछन् । यस निर्णयअनुसार महानगरले बाँकी ६ वटा विद्यालय पनि विद्यार्थी संख्या घट्दै गएपछि बन्द गराएको देखिन्छ ।

महानगरको तथ्याङ्कअनुसार सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा प्राथमिक तहका संस्थागत विद्यालयमा भने विद्यार्थी संख्या बढ्दै गएको देखिन्छ । महानगरमा प्राथमिक तहमात्रै पढाउने ३४ वटा सामुदायिक विद्यालय छन् । कक्षा १ देखि ८ सम्म पढाउने २३ र माध्यमिक तह पढाउने ५२ गरी १०९ वटा सामुदायिक विद्यालय छन् । यी सबै विद्यालयमा प्राथमिक तहमा पढ्ने विद्यार्थी संख्या १५ हजार ८९ (गत चैत मसान्तसम्म) छन् ।

संस्थागततर्फ प्राथमिक तह पढाउने ५, निम्न माध्यमिक तह पढाउने १२ र माध्यमिक तह पढाउने ७४ गरी ९१ वटा विद्यालय छन् । यी विद्यालयमा प्राथमिक तह (पूर्वप्राथमिक बाहेक) पढ्ने विद्यार्थी संख्या २१ हजार ७२७ जना रहेका छन् । सामुदायिकभन्दा १८ वटा कम रहेको संस्थागत विद्यालयको प्राथमिक तहमा पढ्ने विद्यार्थी संख्या सामुदायिक विद्यालयभन्दा ६ हजार ६३८ जनाले बढी छन् ।

शिक्षाविद् रमाकान्त सापकोटा आफ्नो अधिनमा विद्यालय तह आइसक्दा पनि विद्यालयको अवस्था सुधार्न स्थानीय तहले नसकेको विश्लेषण छ । ‘विद्यार्थी नै नभएपछि विद्यालय समायोजन गर्नु त आवश्यक नै भयो’, उनी भन्छन्, ‘प्राथमिक तह समायोजन गरेपछि ती विद्यार्थी संस्थागततर्फ मोडिएका स्थानीय तहले ख्यालै गरेका छैनन् ।’

उनले सरकारले संविधानमै उल्लेख गरेको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क गर्ने व्यवस्था कार्यान्वयन गराउन असफल हुँदा सामुदायिक विद्यालयको प्राथमिक तह कमजोर भएका बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *