लेनदेन कारोबार सहज गर्न माग गर्दै आज पनि मिटरव्याजीहरु माइतीघरमा धर्ना – Nepal Press

लेनदेन कारोबार सहज गर्न माग गर्दै आज पनि मिटरव्याजीहरु माइतीघरमा धर्ना

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आएका मिटरव्याजीहरू आज पनि माइतीघरमा धर्नामा बसेका छन् । पीडित लेनदेन संघर्ष समिति बनाएर उनीहरू काठमाडौं आएर माइतीघरमा धर्ना बसेका हुन् ।

उनीहरुले लेनदेन कारोबार सहज गर, सामाजिक सद्भाव कायम राख, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर जस्ता नारा लेखिएको पम्पप्लेट बोकेर प्रदर्शन गरिरहेका छन् ।

परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभूंग पार्न खोजिएको भन्दै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश खारेजीको माग गरे । त्यसमा केही सीमित व्यक्तिले आफ्नो दुनो सोझो गर्न खोजेको उनीहरूको आरोपसमेत छ ।

आफूहरूलाई डर देखाउँदै मिटरव्याजी भनी निवेदन दिने, धाकधम्की दिने काम भएको भन्दै आतंक नरोकिए चरणबद्ध आन्दोलनमा जानेसमेत सुदखोरहरूको चेतावनी छ ।

उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा मात्र उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको साँवा र व्याज उपलब्ध गराउनुपर्नेलगायतका माग राखेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *