अनुसन्धान फितलो भएको भन्दै जिल्ला अदालत धनुषामा माइतीपक्षकाे प्रदर्शन (भिडिओ) – Nepal Press

अनुसन्धान फितलो भएको भन्दै जिल्ला अदालत धनुषामा माइतीपक्षकाे प्रदर्शन (भिडिओ)

धनुषा । आरती साहका लागि न्याय माग्दै माइतीपक्षले जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको थियो ।

उनको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ । आरती साहको माइती पक्ष विगत केही दिन यता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा बिरोध प्रदर्शन गर्दै आइरहेका छन् । मंगलबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा माइती पक्षले ढुंगामुढा गरेका छन् ।

आरती साह प्रकरणमा अनुसन्धान फितलो भएको भन्दै माइतीपक्षले विरोध जनाएका हुन् ।मृतक आरतीको माइतीपक्षले अदालत परिसरमा ढुंगामुढा गर्दा प्रहरीसँग झडपसमेत भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चारजना घाइते भएका छन् ।

परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै बिरोध गरिएको हो ।

गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । उनीहरूले एसपी र डीएसपीलाई निलम्वन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँच लगायत ६ सूत्रीय माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *