गृहमन्त्रीलाई रास्वपाको आग्रह- गुण्डागर्दी शैलीमा प्राध्यापक कुट्नेको मुद्दा फिर्ता लिने निर्णय सच्याउनुस् (भिडिओ) – Nepal Press

गृहमन्त्रीलाई रास्वपाको आग्रह- गुण्डागर्दी शैलीमा प्राध्यापक कुट्नेको मुद्दा फिर्ता लिने निर्णय सच्याउनुस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिवि प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय सच्याउन माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न सरकारसँग माग गरे ।

त्रिवि समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरनासन्न हुने गरी कुटपीट गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरूमाथि लगाइएको मुद्दासमेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनको भनाइ जस्ताको तस्तैः

२०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालयका प्रोफेसर आफ्नो एटीएममा भएको पैसा झिक्न जान्छन् । त्यही समयमा नेविसंघका केही कार्यकर्ताहरुले फलामको रडले मरणासन्न हुनेगरी कुट्छन् । तीन वर्षसम्म न्याय माग्नलाई धेरै ठाउँमा जान्छन् । भौतारिएर हिँड्नुभयो । तर, अन्तत: जेठको ३० गते सरकारले मुद्दा फिर्ता लिने निर्णय गर्छ ।

हामी कुनैबेलामा नेपाललाई शान्ति क्षेत्र भन्थ्यौं । हामीले विश्वविद्यालय कमसेकम शान्ति क्षेत्र होस् भन्ने हाम्रो अवधारणागत बुझाइ हो । प्रहरीलाई पनि भित्र जानु पर्दैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गुण्डागर्दी शैलीमा त्यसरी कुटपिट गरेको मान्छेको मुद्दा फिर्ता लिने कहाँको न्याय हो ? न्यायलाई मर्न नदिऔं न्याय पनि मर्‍यो भने हाम्रो आशा रहँदैन । भविष्य रहँदैन ।

विश्वविद्यालयजस्तो क्षेत्रमा गुडागर्दी शैलीमा मरणासन्न हुनेगरी कुट्नेलाई नछोडौं, म गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । यो गलतलाई सच्याउनुस् । र न्याय दिनुस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर