समाजवादी मोर्चाका सूत्रधार बाबुरामलाई नै प्रचण्डले किन गरे आउट ? – Nepal Press

समाजवादी मोर्चाका सूत्रधार बाबुरामलाई नै प्रचण्डले किन गरे आउट ?

जनार्दन-वर्षमानलाई साइजमा राख्न महरामार्फत् विप्लवलाई भित्र्याउने प्रचण्डको दाउ

काठमाडौं । लामो प्रयासपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू नेतृत्वको समाजवादी मोर्चा घोषणा गर्न सफल भएका छन् । तर, मोर्चा निर्माणका सूत्रधार रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई बाहिर राखेर आज मोर्चाको घोषणा भयो ।

मोर्चाको समझदारीपत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् । शुक्रबार बिहान बालुवाटार पुगेका बाबुरामलाई मोर्चामा सामेल गराउने प्रचण्डले आवश्वासन दिएका थिए ।

जुन कुरा बाबुराम आफैंले सार्वजनिक गर्दै भनेका थिए, ‘प्रस्तावित समाजवादी मोर्चाको विहंगम कुराकानी भयो । संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी ।’

बाबुरामलाई मोर्चामा सामेल गराउने प्रचण्डको आश्वासन धेरै समय टिक्न सकेन । चुनावअघि भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता नै गर्ने सहमतिका साथ अघि बढेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ब्याक भएका थिए ।

प्रधानमन्त्री भएपछि पार्टी एकताबारे प्रचण्डले बोली फेरेको बाबुरामको आरोप छ । प्रचण्डले सरकारको नेतृत्व गरेपछि बाबुरामले पार्टी नेतृत्व गर्ने चुनावअघि सहमति भएको थियो । सोही सहमतिअनुसार प्रचण्डलाई आफ्नो क्षेत्र गोरखा २ मा पुर्‍याएर जिताए पनि ।

तर, प्रचण्ड प्रधानमन्त्री बनेपछि सहमति कार्यान्वयनबाट पछि हट्न थालेको भन्दै बाबुराम असन्तुष्ट थिए । अहिले मोर्चाको विषयमा पनि जसपा अध्यक्ष उपेन्द्र यादवलाई बिच्काएर बाबुरामलाई च्याप्न नचाहेको स्रोतको दाबी छ । जसपा छाडेर नेसपा गठन गरेपछि उपेन्द्र-बाबुरामबीच चर्को टसल छ ।

बाबुराम र उपेन्द्रबीचको इगोमा प्रचण्डले सत्ता टिकाउन १२ सीटको उपेन्द्रलाई महत्व दिए । अहिले ३२ सीट भएर पनि सत्ताको चाबी हात पारेको प्रचण्ड सकेसम्म कांग्रेसलाई पनि साइजमा राखेर आफू नेतृत्वको सरकारको आयु लब्याउन चाहन्छन् । मोर्चा बनेसँगै माओवादीको ३२, जसपाको १२, नेकपा एसको १० सीट गरेर प्रचण्डले ५४ सीटको नेतृत्व गर्ने भएका छन् ।

यो अवस्थामा कांग्रेस-एमाले मिल्नुबाहेक अन्य कुनै गठबन्धनबाट सरकार बन्न सक्ने अवस्था हुँदैन । कांग्रेस- एमाले एकअर्कालाई मुख्य प्रतिस्पर्धी ठान्ने भएकाले तत्काल मिल्ने अवस्था छैन । यद्यपि केही नेताहरुले स्थिर सरकार गठन गर्न कांग्रेस-एमाले मिल्नुपर्ने राय राख्दै आएका छन् । तर, त्यसले तत्काल लय समात्ने सम्भावना छैन ।

मोर्चामा अहिले चार दलमात्रै रहने माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए । उनले भने, ‘अहिले हामी, जसपा, नेकपा एस र विप्लवजीको पार्टी मात्रै रहन्छौं । अन्य दललाई पछि समावेश गर्न सकिन्छ ।’

मोर्चामा आउन तयार रहेका दललाई चार दलबीच सहमति बनेपछि पनि ल्याउन सकिने उनको भनाइ छ । उनले बाबुरामसहित सबै माओवादी धारका नेताहरुलाई मोर्चामा जोड्दै जाने बताए ।

त्यसो त माओवादीका सचिव दिनानाथ शर्माले बाबुराम भट्टराई सुरुदेखि नै मोर्चाको पहलमा रहेको बताए ।

उनले भने, ‘उहाँले सुरुदेखि नै मोर्चाको पहल गर्नुभएको थियो । तर, अहिले तत्काल सम्भव नभए पनि विस्तारै समावेश हुनुहुन्छ । उहाँले मोर्चाको कुरा सुरुवाती चरणदेखि नै राख्दै आउनुभएको थियो ।’

मोर्चामा ढिलोचाँडो बाबुराम समेटिनसक्ने माओवादी नेताहरु बताउँछन् ।

नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले बाबुराम भट्टराई अहिले छुटे पनि मोर्चामा जोडिने दाबी गरे । उनले भने, ‘उहाँमात्रै होइन हामी सबै वामपन्थी शक्तिलाई एकजुट बनाएर जानुपर्छ भन्ने पक्षमा छौं । सबै वामपन्थी शक्तिहरु यसमा विस्तारै समावेश हुनुहुन्छ ।’

जसपा नेता राजेन्द्र श्रेष्ठ बाबुरामको बारेमा माओवादी नै जानकार हुने तर्क गर्छन् । उनी भन्छन्, ‘मोर्चा चार दलबीच हुने हो । बाबुरामजीको बारेमा माओवादीलाई नै जानकारी होला । त्यसबारे हामीलाई थाहा छैन ।’

उनले उपेन्द्रको कारणले बाबुराम छुटेको भन्ने कुरामा सत्यता नभएको जिकिर गरे ।

त्यसो त आफूहरुसँग कुनै छलफल नै नभएकाले मोर्चामा सहभागी नभएको नेसपा नेता विश्वदीप पाण्डेले बताए । उनले भने, ‘कथित समाजवादी मोर्चाबारे हामीसँग कुनै सरसल्लाह भएको छैन । त्यसमा हामी सहभागी हुने भन्ने कुरै भएन ।’

प्रचण्डले आफूलाई छाडेर उपेन्द्र च्यापेकोप्रति सत्ता स्वार्थ भएको बाबुरामको विश्लेषण छ । माधव-उपेन्द्रलाई बाँधेर आफ्नो कित्तामा राखेपछि सरकार कुनै पनि बेला ढल्नबाट बचाउने अस्त्रको रुपमा प्रयोग गरेको उनको बुझाइ छ । ५४ जना सांसद देखाएर देशभित्र कांग्रेस-एमालेसँग र बाहिर शक्तिकेन्द्रहरूसँग बार्गेनिङ गर्न खोजेको भट्टराईको आरोप छ ।

गत चुनावमै साझा चुनाव चिन्ह लिएर सहकार्य गर्दै आएको नेसपासँग सरसल्लाह नगरी एकपक्षीय रूपमा नयाँ मोर्चा घोषणा गरेर प्रचण्डले नेसपाभित्र अन्तरविरोध सिर्जना गरेर कमजोर पार्न खोजेको बाबुराम निकट नेताहरुको आरोप छ ।

यता विप्लवलाई मोर्चामा भित्र्याउन माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले पहल गरेका थिए । तर, माओवादीभित्र जनार्दन शर्मा र वर्षमान पुनबीच देखिएको शक्ति संघर्षलाई साइजमा राख्न प्रचण्डले महरामार्फत् विप्लवलाई भित्र्याएको स्रोतको दाबी छ । यसले पार्टीभित्रको चर्को अन्तरविरोध व्यवस्थापन गर्न सहज हुने स्रोतको भनाइ छ ।

माओवादीभित्र अहिले जनार्दन-वर्षमान गुट तल्लो तहसम्म फैलिसकेको छ । तर, प्रचण्डले विप्लवलाई भित्र्याएपछि उनीहरु फेरि एकै ठाउँमा आउनसक्ने आँकलन कतिपयको छ ।


प्रतिक्रिया

3 thoughts on “समाजवादी मोर्चाका सूत्रधार बाबुरामलाई नै प्रचण्डले किन गरे आउट ?

  1. पद जोगाउन मोर्चा बनाएको । बाबुरामका साँसद नै छैनन । अनि प्रचण्डले किन गन्थे ? चरम स्वार्थीको नाम हो प्रचण्ड । पदको लागि देशै बेच्न तयार हुने । बाबुरामले सहयोग नगरेको भए गोरखामा उत्तानो टाङ लाग्थ्यो । त्यो गुन बिर्सियो ।

  2. Prachanda le yo samadhbadi morcha ko gathan gareko hoina aba aafu party adhachhe r pheri prime minister huna nasakne nischit bhaye ko le Netra Bikram Chand(Biplap) lai party maa lyaune rananiti kheleko matra ho

  3. समाजवादको नाममा जुनसुकै जतिसुकै मोर्चा वा पार्टी वनाउ यथार्थ जनतालाई राम्रोसँग थाहा छ बिहानीले दिनभरको अवस्था देखाउछ २०४६ पछिका कार्यले अवस्था र २०५२/०६३ र २०७२ आदि अवस्थाले पनि देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर