‘सेन्ट्रल जेल’ बन्दैछ लागुऔषध हब- मदिरा र मिटरव्याजको विरोध गर्नेमाथि नाइकेको कुटपिट – Nepal Press

‘सेन्ट्रल जेल’ बन्दैछ लागुऔषध हब- मदिरा र मिटरव्याजको विरोध गर्नेमाथि नाइकेको कुटपिट

काठमाडौं । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिएको सुन्धारास्थित केन्द्रीय कारागारभित्र आपराधिक क्रियाकलाप हुने गरेको पाइएको छ । गैरकानूनी मिटरव्याजीदेखि लुटपाटसम्म हुन थालेपछि गृहमन्त्रालय र विभागीय निकायमा उजुरीसमेत दर्ता भएको छ । एक महिला कैदीले उजुरी दिएकी हुन् ।

कारागारभित्रै कैदीका आफन्तले सीधै पैसा दिन नपाउने व्यवस्था छ । यसका लागि कारागारभित्र कैदीबन्दीका आफन्तबाट पैसा लिन रोकी ऋण लिन लगाउने र त्यस्तो ऋणको सयकडा ५ रूपैंयाका दरले हिसाब गरी मिटरब्याज उठाउने गरिएको छ । त्यस्तै कैदीबन्दीका लागि आफन्तले दिएको रकम मूल नाइकेले आधा कमिसन लिएर दिने गरेको पीडितको तर्फबाट दिइएको उजुरीमा उल्लेख छ ।

यस्तै कारागारभित्र लागुऔषध, चुरोट र मदिराको समेत गैरकानूनी प्रवेश र बेचबिखन हुने गरेको ती महिलाले बताएकी छन् ।

उजुरीमा लेखिएको विवरण जस्ताको तस्तै

कारागारको प्रशासनको जेलर भवनमा आउने मानिसहरुको चेकजाँचको व्यवस्था छैन । कारागारको प्रशासन जेलर भवनमा मुल नाईके, चौकिदार र हेडमास्टर जस्ता कैदीबन्दीहरुको कारागार प्रशासनको जेलर भवनसम्म सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्था छ यस्तै पुरुष कारागारतर्फ पनि कारागारको प्रशासन जेलर भवनमा मुल नाईके, चौकीदार, बैदार, ठूलो बैदार जस्ता कैदीबन्दीहरूको कारागार प्रशासनको जेलर भवनसम्म सहज रूपमा आउन पाउँछन् । जसले गर्दा कैदीबन्दीलाई भेटघाट गर्ने बहाना बनाई बाहिरबाट आएका ब्यक्ति र मुल नाईके, चौकीदार, बैदार, ठूलो बैदारजस्ता कैदीबन्दीहरुको सहज भेटघाट हुने गर्छ । यसैको फाईदा उठाई चौकीदार, मूल नाईके, बैदार, ठूलो बैदारले कारागार भित्र लागु औषध लगि जवरजस्ती खुवाएर पैसा असुल्ने । चुरोट र मदिरा भित्राउने र १० औं गुणा महंगोमा कारागारका अन्य कैदीबन्दीलाई बिक्री वितरण गर्छन् ।

महिला कारागारतर्फ निषेधित वस्तुको बिक्री वितरण र महङ्गीको विरोध गर्ने उपर हाल चौकिदार रहेकी शान्ति तामाङ, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खनालसमेत भई शारीरिक तथा मानसिक यातना दिने तथा जेलरसँग मिली स्थानन्तरणसमेत गर्ने गरेको गुनासो उजुरी छ ।

यस्तै पुरुष कारागारतर्फ हाल चौकीदार रहेका प्रभाकर नरसिंह राण, मूल नाईके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धरसमेत भई यस्तै गैरकानूनी काम कारबाही गर्ने गरेको गुनासो छ । यि विषयमा जेलरलाई जानकारी गराउदा हालै कैदीहरुको विभिन्न ठाउमा सरुवा गरिएको उजुरीमा उल्लेख छ । उजुरीमा कारागारभित्र बिभिन्न बेट राखी रातभरी पुल गेम खेलाउने यसरी पुल गेम खेलाउदा जित्नेबाट मुल नाईके रमेश भन्ने बै लामाले कमिशन उठाउने गरेका छन । जेलरलाई यो बिषयमा जानकारी गराउँदा समेत कुनै पहल भएको छैन उजुरीमा भनिएको छ ।

उजुरीमा म्याक्स टिभी कम्पनीले सेटअप बक्सको कुनै मूल्य नलिने भएपनि कारागारभित्र अनधिकृतरूपमा सेटअप बक्स वितरण गरी प्रति सेटअप बक्स १२०० रूपैंया टिभी राख्ने कैदीबाट असुल गर्ने गरेको छ । म्याक्स टिभीले मासिक शुल्क प्रतिटिभी सेट १२५ का दरले लिने भएपनि चौकिदार प्रभाकर नर्सिंह राणासमेत भई प्रति टिभी मासिकरूपमा ३०० का दरले असुल गर्ने गरेको छ । कारागारमा करिब १२०० टिभी जडान भएका छन । यी विषयमा जेलरलाई गोप्य सूचना दिँदा पनि जेलर उनैसँग मिली रकम बुझने गरेको र समाधान गर्ने कुनै पहल नगरेको तथा सूचना दिने व्यक्तिकै परिचयसम्म खोलिदिने गरेको अवस्था छ ।
तरकारी तथा खाद्यान्न पसल चौकिदार प्रभाकर नरसिंह राणा र किराना पसल प्रीतम मानन्धरले सञ्चालन गरी जेलरसँग मिलेमतोमा महंगोमा बेच्ने गरेको समेत उजुरीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *