प्रचण्ड-माधवसहितको ५४ सीटको मोर्चा : कांग्रेस-एमालेलाई साइजमा राख्न हो ? – Nepal Press

प्रचण्ड-माधवसहितको ५४ सीटको मोर्चा : कांग्रेस-एमालेलाई साइजमा राख्न हो ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लामो प्रयासपछि भोलि समाजवादी मोर्चा घोषणा हुँदैछ । माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपाबीच मोर्चा घोषणा हुन लागेको छ ।

समाजवादी मोर्चा निर्माणको सुरुवाती चरणदेखि नै पहल गरेका नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराई भने सहभागी हुने या नहुने भन्ने अझै निश्चित छैन । आज बालुवाटारमा मोर्चाबारे छलफल गर्न बसेको बैठकमा भट्टराईलाई खबर नै गरिएन । मोर्चामा सहभागी विप्लव संसद बाहिरको दल हो ।

भट्टराईलाई मोर्चामा समेट्न जसपा अध्यक्ष उपेन्द्र यादवले अनिच्छा देखाएको कारणले प्रधानमन्त्री प्रचण्डले कम चासो दिएको बताइन्छ । शुक्रबार बालुवाटार पुगेका अध्यक्ष भट्टराईले मोर्चामा सहभागी हुने आसयका साथ चाँडै घोषणा हुने संकेत गरेका थिए ।

मोर्चा घोषणासभाको प्रचार ब्यानरमा बाबुरामको पनि फोटो राखिएको छ । तर, जसपा नेता राजेन्द्र श्रेष्ठले बाबुरामको सहभागिताबारे आफूलाई जानकारी नभएको बताए ।

त्यसो त नेकपा एसका अध्यक्ष माधव नेपालले सहमत भएकाहरुबीचको मोर्चा घोषणा हुने र विस्तारै अरुलाई पनि समेट्न सकिने बताए । उनले आफूहरुले पवित्र भावनाका साथ मोर्चा निर्माण गर्न लागेको जिकिर गरे ।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘राम्रो उद्देश्य बोकेर समाजवादमा जाने सबै शक्तिहरूलाई मिलाएर लानुपर्दछ भन्ने मान्यता बोकेर नै हामीले यो मोर्चाको कुरा ल्याएका छौं । त्यसमा सहमत भएका पक्षहरूलाई हामी समेट्दै जानेछौं ।’

समाजवादी शक्तिहरूलाई एक ठाउँमा गोलबद्ध गर्न आफूहरुले पहल गरेको उनको भनाइ छ ।

माओवादीका सांसद लेखनाथ दाहालले प्राप्त राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता भएका राजनीतिक दलहरूका बीचमा मोर्चा बन्न लागेको जिकिर गरे ।

सत्ता साझेदार दलहरूका बीचमा कुनै खटपट नभएको दाबी गर्दै उनले भने, ‘यो समाजवादी मोर्चा बनाउने प्रश्न राजनीतिक प्रश्न हो । यसको सरकार सञ्चालनसँग कुनै सम्बन्ध छैन । सरकारलाई सहयोग गर्न एउटा वातावरण त बन्छ । तर, अहिले यो तत्काल सत्ता साझेदार दलका बीचमा कुनै समस्या पैदा भएर त्यसपछि समाजवादी मोर्चा बनाउन खोजिएको होइन ।’

उनले सरकारमा कुनै समस्या नभएको उल्लेख गर्दै गठबन्धनमा खटपट नभएको प्रष्ट्याए ।

त्यसो त लोकतन्त्रमा राजनीतिक दलहरूका बीचमा मोर्चा बनाउनु स्वाभाविक भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए । दलहरूसँग आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने सर्तमा भएको उनको भनाइ छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि मोर्चा बन्दैमा गठबन्धनमा कुनै असर नगर्ने दाबी गर्छन् ।

उनले भने, ‘दलहरु एकजुट हुनु सकारात्मक हो । हामीले त्यसलाई अन्यथा लिनुहुँदैन । मोर्चाले सरकार र गठबन्धनमा कुनै समस्या आउँदैन ।’

तर, प्रचण्ड-माधवले सत्ता बार्गेनिङ बढाउन मोर्चा बनाउन लागेको एमालेका सांसद रघुजी पन्तले बताए । उनी मोर्चाको औचित्य राजनीतिक र सैद्धान्तिक रूपमा नभएको टिप्पणी गर्छन् ।

उनले भने, ‘सत्ताको गणितलाई तलमाथि गर्न सक्ने एउटा स्ट्रेन्थ त बन्छ । त्यसको बार्गेनिङ क्षमता त बढ्न सक्ला, तर त्यसले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भूमिका खेल्छ भन्ने सम्भावना छैन ।’

यो मोर्चाको नेतृत्व सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति भइसकेको छ । यो मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।

अहिले पनि तेस्रो तर निर्णायक शक्तिको रुपमा आफूलाई उभ्याएर प्रधानमन्त्री बन्न सफल प्रचण्ड यो मोर्चा बनेपछि थप शक्तिशाली बन्नेछन् । ५४ सीट आफूसँग भएपछि कांग्रेस-एमालेको बाहेक अरु दलहरुको सत्ता समीकरण बन्न सक्दैन ।

कांग्रेस-एमाले हाराहारीको सीट संख्यामा पुर्‍याएर गठबन्धनमा कांग्रेसलाई साइजमा राख्ने रणनीति साथ प्रचण्डले मोर्चाको पहल गरेको बताइन्छ । सहजै अवस्थामा कांग्रेस-एमालेको सहकार्य नहुने भएकाले आफ्नो सरकारलाई बलियो राख्न पनि प्रचण्डले मोर्चालाई प्राथमिकता दिएको बुझिएको छ ।


प्रतिक्रिया

One thought on “प्रचण्ड-माधवसहितको ५४ सीटको मोर्चा : कांग्रेस-एमालेलाई साइजमा राख्न हो ?

  1. सकिन लागेकाहरूको झुण्ड । तर जे गरे पनि अब सकिने नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर