सदस्यता शुद्धीकरणका नाममा महासंघ पूर्वाग्रही बनेको भन्दै समाजवादी प्रेस संगठनको आपत्ति – Nepal Press

सदस्यता शुद्धीकरणका नाममा महासंघ पूर्वाग्रही बनेको भन्दै समाजवादी प्रेस संगठनको आपत्ति

काठमाडौं । सदस्यता शुद्धीकरणका नाममा नेपाल पत्रकार महासंघ पूर्वाग्रही भएको भन्दै नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले आपत्ति जनाएको छ ।

संगठनले एक विज्ञप्ति जारी गर्दै शुद्धीकरणको विषय र उद्देश्य सकारात्मक हुँदा हुँदै पनि विभिन्न जिल्ला शाखाले सदस्यता नवीकरणका सिलसिलामा पूर्वाग्रहवस काम गरेको पाइएको जनाएको हो ।

‘बिना आधार र तर्क सदस्यको सूचीबाट शुद्धीकरणमा पारिएको सन्दर्भमा यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । आफूखुशी मापदण्ड तय गर्ने, फरक संगठन वा समूहमा आवद्ध भएकै नाममा शुद्धीकरण गरियो भन्नेजस्ता मनोमानीपूर्ण काम भएका छन् । कतिपय पत्रकार राजनीतिक दल वा अन्य संस्थाको सदस्य भए पनि कार्यकारी भूमिकामा नरहँदा शुद्धीकरण नगर्ने पूर्वसहमति उल्लंघन भइरहेका छन्’, संगठनका अध्यक्ष विश्वमणी सुवेदीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रो संगठनका महासचिव रामकुमार एलन, संस्थापक चमिना भट्टराईसहित थुप्रै साथीहरु त्यस्तो पूर्वाग्रही मापदण्डको शिकार हुनुभएको छ । त्यसबाहेक यस संगठनमा आवद्ध देशभरका थुप्रै साथीहरुलाई छानीछानी शुद्धीकरणका नाममा महासंघको सदस्य हुनबाट बञ्चित गरिएको छ । नयाँ सदस्यता आवेदन गर्नुहुने संगठनका केन्द्रीय सदस्य एवं माउण्टेन टेलिभिजनका संवाददाता कुशल दलामी (बाँके) सहितका साथी यस संगठनमा आवद्ध भएकै नाममा महासंघको सदस्य हुनबाट बञ्चित हुने स्थिति छ ।’

संगठनले आफ्नो संगठन शुद्धीकरण पक्षधर हुँदा हुँदै पनि पूर्वाग्रही भूमिका र मापदण्डको शिकार भई सदस्यता सूचीबाट नाम हटाइएकोप्रति घोर आपत्ति जनाएको छ ।

शुद्धीकरणको विषयलाई दुरुपयोग गर्दै पूर्वाग्रही गतिविधि तत्काल रोक्न महासंघ नेतृत्वसमक्ष पनि संगठनले जोडदार माग गरेको छ । साथै, शुद्धीकरणसम्बन्धी मापदण्डको एकरुपता कायम गरी देशभरि एउटै मापदण्डसहित यस अभियानलाई अगाडि बढाउन संगठनले माग गरेको छ ।

यस विषयका सबै पीडित साथीहरुलाई समयभित्रै महासंघको प्रदेश र केन्द्रमा उजुरी गर्न पनि संगठनले आग्रह गरेको छ । नेपाल पत्रकार महासंघले अगाडि सारेको सदस्यता शुद्धीकरण अभियानप्रति संगठनको पूर्णतः साथ, समर्थन र सहयोग रहेको पनि स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर