प्रचण्डको दोहोरो खेल- उपेन्द्र देखाएर बाबुरामलाई समाजवादी मोर्चाबाहिर राख्ने झेल – Nepal Press

प्रचण्डको दोहोरो खेल- उपेन्द्र देखाएर बाबुरामलाई समाजवादी मोर्चाबाहिर राख्ने झेल

समाजवादी केन्द्र घोषणासभामा बाबुरामसहितको ब्यानर- तर बालुवाटार बैठकमा गरिएन खबर

काठमाडौं । शनिबार विहानमात्र ‘तपाईसँग सल्लाह नगरी कहाँ मोर्चा घोषणा हुन्छ ?’ भन्दै आश्वस्त बारेर बाबुराम भट्टराईलाई बालुवाटारबाट बिदा गरेका प्रधानमन्त्री प्रचण्डले २४ घण्टा नबित्दै बाबुराम बाहेकको समाजवादी मोर्चा बनाएका छन् ।

८८ सीटको नेपाली कांग्रेस र ७८ सीटको नेकपा एमालेको विकल्पका रुपमा ५४ सीटको समाजवादी मोर्चा बनाएर ‘थर्ड फ्रन्ट’को नेता बन्न अग्रसर भएका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहितको बैठकले सोमबार मोर्चा घोषणा गर्ने सहमति गरिसकेको छ ।

मोर्चामा नेकपा-माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा छन् । यद्यपी घोषणा सभाको ब्यानरमा भने डा.बाबुरामको पनि फोटो राखिएको छ ।

तर समाजवादी मोर्चाको घोषणा गर्ने आइतवारको बैठकमा बाबुरामलाई खबर समेत गरिएको थिए । मोर्चाको घोषणापत्रलगायतका दस्ताबेज अध्ययन गर्न माग्दासमेत बाबुरामलाई नदिइएको निकट स्रोतले जनाएको छ ।

आइतबारको बैठकमा बाबुरामको अनुपस्थितिबारे अन्य नेताले सोध्दा प्रचण्डले ‘बाबुरामजीलाई ल्याउनु पर्ने त हो तर उपेन्द्र यादवले मान्दैनन्’ भनेर पन्छिएका बालुवाटार बैठकका एक सहभागीले बताए ।

बाबुराम र उपेन्द्रबीचको इगोमा १२ सीट भएको उपेन्द्रलाई महत्व दिन खोजिएको देखाए पनि प्रचण्डले नै बाबुरामलाई समावेश गर्न नचाहेको आशंका अन्य दलका नेताहरुको छ ।

नेकपा एसका एक नेताले भने- उपेन्द्रलाई देखाएर प्रचण्डजीले बाबुरामलाई समाजवादी मोर्चाबाहिर राख्न खोजेको प्रष्ट देखिन्छ । विप्लवलाई राख्नेले बाबुरामलाई नराख्ने कुरा हुन्न । बाबुरामसँगै मिलेर चुनाव जितेका प्रचण्डसँग आज पनि नेसपाका २ सीटसहित ३२ सांसद छन् । खासमा प्रचण्डले नचाहेको हो । उपेन्द्र देखाएर बाबुरामको बाटो रोक्ने प्रचण्डको कला बिगतमा बादल,बैद्य र बाबुरामहरुलाई एक अर्काबीच भिडाउने शैलीको निरन्तरतामात्र हो ।

प्रचण्डले बाबुरामबाट किन असुरक्षित महसुस गरे ? यसमा भने अझै तस्बिर प्रष्ट छैन । जबकी एउटै चिन्हबाट चुनाव लड्ने बेला प्रचण्डले नै पार्टी एकताको प्रस्ताव राखेर दुवै पक्षले कार्यदल समेत बनाएका थिए । कार्यदलबीच एकताको मोडालिटीबारे दस्तावेज नै आदान प्रदान भइसकेको थियो ।

तर पछिल्लो समय प्रचण्डले पार्टी एकतामा समेत रुची देखाएका छैनन् । उनी एकताको छलफलबाट तर्किदै तर्किदै समाजवादी मोर्चामा समेत बाबुरामलाई बाहिर राख्नेतर्फ लागेका छन् । जबकी यो मोर्चाको अवधारणा नै बाबुरामको हो । प्रचण्डलाई गोरखाबाट चुनाव जिताउने निर्णायक पात्र पनि बाबुराम नै हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर