द्वन्द्वकालको एक दर्दनाक हत्या, जसले गाउँ नै रित्तियो – Nepal Press

द्वन्द्वकालको एक दर्दनाक हत्या, जसले गाउँ नै रित्तियो

डोटी । तीतेपाती, बनमारा, ऐँसेलुको झाङको बीचबीचमा अग्लाअग्ला तर रित्ता घरहरू । कुनैका झ्यालढोकै छैनन्, कसैका स्लेट खसेका छन्, कोही भत्किसकेका छन् । कुनै घर त जंगलले देखिँदैनन् पनि । त्यही जीर्ण घरमात्रै नभएका भए पनि यहाँ कुनै समय गाउँ थियो भन्ने अनुमान लगाउन कठिन हुन्थ्यो ।

बोगटान फुड्सिल गाउँपालिका-६, को ‘लासा’ गाउँको हालको अवस्था हो यो । कुनैबेला तरकारी, फलफूल, मह, च्युरी र केराका लागि प्रसिद्ध यो गाउँ अचेल भने रित्तो छ ।

गाउँ नै रित्तिनुको पछाडि भने एक दर्दनाक घटना कारक छ । मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेका बेला तत्कालीन विद्रोही नेकपा माओवादीले यस गाउँका एकजना व्यक्तिको हत्या भएपछि सबै गाउँले डरले घर नै छाडेर हिँडे ।

‘जम्मा १८ घर परिवार थिए, सवै बिनाडी परिवार नै हुन् । १८ परिवारमध्ये पाँच परिवारको दोघरी (तराईमा पनि घर भएका) थियो भने बाँकी १३ परिवार त्यही गाउँमा बस्थे, त्यो घटना भइसकेपछि सबै डराएर गाउँ छोडे’, गाउँनजिकै मट्घरमा दोकान गर्दै आएका कविराज बिनाडी भन्छन् ।

‘रोजगारी भएका र शिक्षितहरुले त तराईतिर घर बनाइसकेका थिए, तर आर्थिक अवस्था कमजोर भएर कतै जानै नसक्ने परिवार पनि त्यो घटनापछि डराएर गाउँ छोड्न बाध्य भए’, उनी सुनाउँछन् ।

गाउँ छोड्नेमध्ये एक परिवारले त गाडी भाडासमेत नहुँदा डोकोमा आफ्ना भाँडाकुँडा बोकेर पैदलै कैलालीको जोशीपुर पुगेको उनी सम्झिन्छन् । मटघरमा अर्को घर भएकाले आफूहरू यता सरेको उनले बताए ।

उनी आफ्नो बुबाले २०२८ सालमै त्यो गाउँमा काउली फलाएको बताउँछन् ।

कविराजले भने ‘यो क्षेत्रमै पहिलो पटक काउली फलाउने हाम्रो गाउँ पहिलो हो रे । बुबा (चन्द्रदेव बिनाडी) ले त्यतिबेलै काउली फलाएपछि उक्त गाउँ तरकारीका लागि प्रसिद्ध भएको हो । अचेल कतैकतै आँप, च्युरी र ओखरका बोटमात्रै भेटिन्छ ।’

के थियो घटना ?

लासाका देवराज विनाडीका तीन भाइ छोरामध्ये जेठा छोरा यज्ञराज विनाडी वयस्क अवस्थाका थिए । २२ वर्षीय यज्ञराज स्थानीय विद्यालयको पढाइ सकेर उच्च माध्यमिक शिक्षाका लागि कैलालीको जोशीपुरमा रहेको रघुनाथ क्याम्पसमा भर्ना भए । उनी कक्षा ११ को परीक्षा दिएर भेटघाट गर्ने भन्दै घर आए । हक्की स्वाभावका यज्ञराज स्थानीय विकास निर्माणमा पनि चासो राख्थे । उनी गाउँ विकास समितिका योजनाबारे बुझिरहन्थे । द्वन्द्वका कारण पढाइ पनि प्रभावित भइरहने भएकाले केही समय घरमै बसे र सामाजिक कार्यमा संलग्न भए ।

गाउँमा अलि टाठोबाठो उनको यो बानी मन नपराउनेले माओवादी कार्यकर्तालाई यज्ञराज सेनाको ‘सुराकी’ भएको पोल लगाए । माओवादीले पनि उनीमाथि निगरानी बढायो । कक्षा १२ मा भर्ना हुनुपर्ने र पढाइ पनि सुरू हुने भएपछि २०६० असोज १८ गते दशैं मनाएर उनी असोज ३० गते कैलालीका लागि हिँडे । माओवादीले बीच बाटोमै नियन्त्रणमा लियो ।

‘त्यतिबेला सडक बनिसकेको थिएन, कैलाली जान दिपायलसम्म पैदल गएर त्यहाँबाट बसमा जानुपर्थ्यो’, एक स्थानीय भन्छन् ‘अल्लेबन भन्ने ठाउँबाट समातेर हलाल गर्दै मारेछन् ।’

‘लास नठाउनू, जसले लास छुन्छ, उसको पनि यस्तै हाल हुन्छ’ भनेपछि गाउँमा झन् त्रास बढ्यो । माओवादीबारे सेनालाई सुराकी लगाउन दिपायल गएको भन्ने आरोप त्यतिबेला उनीमाथि लगाइएको थियो ।
घटनाको बेला आफू सानै भएको बताउने कविराजले यज्ञराजको मृत्यु दर्दनाक भएको सुनेका छन् ।

‘पहिले खुकुरीले आधा घाँटी काटेको रहेछ, त्यसपछि घिसार्दै तल लगेछन्’, कविराज भन्छन् ‘अन्ततः मारेर देउरडी (हालको केआई सिंह गाउँपालिका-३) को पिपलमा ठड्याए बाँधेछन् । ठूलीआमाले (यज्ञराजको आमा) मार्न त मारिहाल्यौं, अन्तिम पटक छोराको मुख हेर्न त देउ भन्दा पनि मानेनन् रे ।’

घटना भएको तेस्रो दिन नेपाली सेनाको टोली आएर देउरडीकै स्थानीयलाई केही रकम दिएर शव जंगलमा गाड्न लगाएको कविराजले सुनाए ।

यज्ञराजको दाहसंस्कार समेत गर्न नपाउँदा घरपरिवारमा झन संकट भएको कविराज बताउँछन् । धेरै पटक प्रयास गरियो तर समाधान नभएपछि गत वर्ष गाउँकै जीर्ण घरमा बसेर उनको किरिया गरियो ।
‘उनलाई गाडेको ठाउँबाट माटो ल्याएर अन्तिम संस्कार गरियो’, कविराजले भने, ‘त्यसपछि विधिवत् रुपमा किरिया गरियो, अचेल अलि शान्ति भएको छ । यो घटना नभएको भए लासा गाउँ रित्तिने थिएन ।’

सरकारले सशस्त्र विद्रोहका क्रममा मारिएका डोटीका ६३ जनालाई राष्ट्रिय शहीद घोषणा गर्दा यज्ञराज भने उक्त सूचीमा अटाएनन् ।


प्रतिक्रिया

2 thoughts on “द्वन्द्वकालको एक दर्दनाक हत्या, जसले गाउँ नै रित्तियो

  1. पापी माउबादी को कहिले खायो हुने वाला छैन त्यो प्रचण्ड पापिको पनि यसरी नै मरु होस

  2. यो लेख लाई प्रकाशन गर्नु भयो तर उहाँ लाई सहिद घोषणा गर्नमा सहयोग गरिदिन हुन आग्रह गर्दछौ । यो घटनाको प्रत्यक्ष दर्शी म नभए नि मैले सुनेको ईतिहास आज गुरु कबिराज बिनाडी ज्यु ले झन प्रष्ट पारिदिनु भयो ।
    आखिर त्यो समय थियो या काल थियो????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर