बाढीको वितण्डाबारे सरकारको ध्यानाकर्षण- योगेश र दीपकले गराए ध्यानाकर्षण (भिडिओ) – Nepal Press

बाढीको वितण्डाबारे सरकारको ध्यानाकर्षण- योगेश र दीपकले गराए ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । संखुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा बाढीपहिरोबाट भएको क्षति र राहतको ध्यानाकर्षण गराउँदै सदनमा कुरा उठेको छ । नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले पूर्वी पहाडी जिल्लामा गएराति आएको बाढी र पहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरे ।

आकस्मिक समय लिएर बोल्दै उनले सो घटनाका पीडितलाई राहत र उद्धार कार्यमा ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘यो विपदसँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीजीले यसको सम्पूर्ण अवस्थाको जानकारी यो सदनमा गराउनु पर्छ । त्यसैगरी पुल, सडकहरु क्षति पुगेका छन । त्यसको तत्कालको अवस्था के छ ? भौतिक पूर्वाधार मन्त्रीजीले यस विषयमा सदनमा जानकारी दिन सभामुख महोदयमार्फत माग गर्न चाहन्छु । र, तत्कालै बेलिब्रिज, झोलुंगे पुलहरुको व्यवस्था गरेर आवागमनलाई सहज बनाइयोस् । पीडितहरुलाई आवास र खाद्यान्नको संकट छ । त्यसैले आवश्यक र खाद्यान्नको तत्काल व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सचिव भट्टराईको पीडितहरुको राहत र उद्धार कार्यक्रममा जुटन रेडक्रसलगायतका अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आग्रह गर्नु भयो ।

कांग्रेस सांसद दीपक खड्काले पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत आयोजनामा काम गर्ने १६ जना मजदुर बेपत्ता भएको र उनीहरूमध्ये ३ जना फेला परेको, एक जना मृत अवस्थामा भेटिएको उल्लेख गर्दै बेपत्ता भएका अन्यको खोजी कार्यमा तीव्रता दिन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘विभिन्न ठाउँमा मान्छे हराइरहेको सूचना आएको छ । उद्धार कार्यमा जाने सुरक्षाकर्मी, राजनीतिक दलका नेताहरू सम्बन्धित ठाउँमा पुग्न सकिरहेका छैनन् । थुप्रै हाइड्रो पावरहरु सुपर हेवा, मेन्छेमजस्ता हाइड्रोपावरहरु पूर्णरूपले क्षति हुँदा २ वटा पक्की पुल र एउटा झोलुंगे पुल बगाएको छ । अरु अहिले छानविनको क्रममा छ । कति क्षति भयो भनेर अनुमान गर्न सकिन्न । खर्बौैको क्षति भएो आँकडा आइराखेको छ । र, बगरमा रहेका सम्पूर्ण खेतीबालीहरु नष्ट भएको छ । उद्धार तथा क्षतिपूर्तिका लागि माग गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर